धन कमाउन साउदी गएका सोनिल बाकसमा फर्किए
खोटाङ- साउदी अरेबियमा कारको ठक्करबाट ज्यान गुमाएका मृतकको शव दुई महिनापछि घर ल्याइएको छ ।
साउदी अरेबियमा कारको ठक्करबाट गत ६ जेठ राती ज्यान गुमाएका खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पाचिउरीडाँडाका ३१ वर्षीय सोनिल राईको शव आइतबार बिहान ५ बजे घर ल्याइएको हो । शवलाई स्वदेश ल्याउन आलटाल भइरहेको परिवारको गुनासो थियो । पैसा कमाउन विदेश जाँदा बाकसमा फर्किएका राईको आइतबार राई संस्कार अनुसार दाहसंस्कार गरिएको छ ।
रेष्टुरेन्ट वर्करको रुपमा गत माघ २६ गते अहम्द नाजी फलेह अल डोसारी रेष्टुरेन्ट फर सर्भिङ मिल्समा पुगेका राईको सडक पार गर्नेक्रममा कारको ठक्करबाट मृत्यु भएको थियो । उनी मासिक एक हजार रियल पाउनेगरी काठमाडौँमा काठमाडौँ एचआर सोलुसन प्रालिमार्फत साउदी अरेबिय पुगेका थिए । ड्युटीमा जानेक्रममा कारले ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको जानकारी आएको आफन्त हिराधन चाम्लिङले बताए । तर मेनपावरको ढिलासुस्तीका कारण शव ल्याउन दुई महिना समय लागेको हो ।
तस्बिर र भिडियोमा राईको गाडीको ठक्करबाट टाउको फुटेर रगत बगेको देखिन्छ । तर हाफर अल बटिन किंग खालेद जनरल अस्पताल अफर अल अबटिनमा स्वास्थ्य मामिला निर्देशनालयको मृत्यु रिपोर्टमा ‘टाउको, घाँटी र छातीमा कुनै देखिने चोट नभएको, माथिल्लो अंगहरुमा कुनै देखिने चोटहरु नभएको र तल्लो अंगहरुमा कुनै देखिने चोटहरु नभएको,’ उल्लेख छ । यस्तै मृतकको शरीरमा कुनै पनि कपडा नभएकाले आफन्त थप दुःखी बनेका छन् ।
राईका श्रीमती जुनकला, पाँच वर्षकी छोरी र अढाइ वर्षका छोरा छन् । श्रीमानको शव आउन ढिलाइ भएपछि जुनकला बच्चा काखी च्यापेर आफन्तसँग पटक-पटक मेनपावरको कार्यालय र वैदेशिक रोजगार बोर्डको सचिवालय पुगेकी थिइन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया