कोशी

भुक्तानी मौज्दातमा समस्या छैन : मुख्यमन्त्री राई

इकागज |
साउन ९, २०७९ सोमबार २१:२५ बजे

विराटनगर- प्रदेश नं. १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले चालू आर्थिक वर्ष २०७९-८० को सुरुवातमै सरकारसँग पर्याप्त रकम मौज्दात रहेकोले भुक्तानीमा समस्या नरहेको बताएका छन् । उनले सरकारको ढुकुटीमा भुक्तानी मौज्दात पर्याप्त भएकाले चालू आर्थिक वर्षको बजेट खर्च गर्न समस्या नहुने बताएका हुन् ।

सोमबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आयोजित वार्षिक समीक्षा कार्यक्रममा बोल्दै मुख्यमन्त्री राईले खर्चका लागि बजेट अभाव नभएकाले आर्थिक वर्षको सुरुबाटै योजना कार्यान्वयन र समयमै सम्पन्न हुने गरी काम गर्न कर्मचारीहरूलाई निर्देशन दिए ।


सरकारसँग आवश्यक मौज्दात अनुमानभन्दा बढी रकमको व्यवस्थापन भएकाले बजेट कार्यान्वयनमा समस्या नहुने दाबी गरे । प्रदेश स्तरका मन्त्रालय तथा कार्यालयमा कर्मचारी व्यवस्थापन गर्नु पर्दा मापदण्ड बनाएर पारदर्शी ढंगले गरिने उल्लेख गरे ।

कर्मचारीको पूर्ण विश्वासका साथ सरकार सञ्चालन गर्ने सरकारको नीति भएको उल्लेख गर्दै मुख्यमन्त्री राईले कर्मचारी र सरकारबीचको मित्रवत भावनाबाट प्रदेशको मन्त्रालयगत समग्र कार्यसम्पादन प्रभावकारी हुने विश्वास व्यक्त गरे ।

प्रदेश १ का प्रमुख सचिव विनोदप्रकाश सिंहले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सरकारको समग्र नेतृत्व गर्ने भएकोले लागि कर्मचारीहरुले उदाहरणीय रुपमा काम गर्न आग्रह गरे । समीक्षा कार्यक्रममा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिवहरूसहित विभागीय कर्मचारीहरूको सहभागिता रहेकाे थियाे ।


Author

थप समाचार
x