कोशी

राजस्‍व अध्ययन कार्यदल बनाउने प्रदेश सरकारको निर्णय

इकागज |
साउन १०, २०७९ मंगलबार १६:११ बजे

विराटनगर- प्रदेश १ सरकारको मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले राजस्‍व वृद्धिका लागि कार्यदल गठन गर्ने निर्णय गरेको छ ।

आर्थिक मामिला तथा योजना मन्त्रालयको प्रस्तावमा विज्ञसहितको राजस्‍व अध्ययन कार्यदल गठन गर्ने प्रस्ताव स्वीकृत गरेको प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले जानकारी दिए ।


मन्त्रिपरिषद् बैठकले प्रदेश सरकारअन्तर्गतका अस्पताल तथा आयुर्वेद औषधालयहरूको पुरानो नामहरुलाई संशोधन गरी प्रदेश संरचना अनुसार कायम गर्ने निर्णय गरेको जनाइएको छ ।

मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रस्ताव गरेको ‘हामी स्वयंसेवी अभियान कार्यविधि, २०७९’ पनि स्वीकृत गरेको मन्त्री कार्कीले जानकारी दिए ।

बैठकले महालेखा परीक्षकको चौधौं वार्षिक प्रतिवेदन २०७९ प्रदेश सभामा पेश गर्न स्वीकृति प्रदान गरेको छ । त्यस्तै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तरगतको जनतासँग मुख्यमन्त्री कार्यक्रम सञ्चालन कार्यविधि, २०७९ स्वीकृत गरेको छ ।

सार्वजनिक खर्चको मापदण्ड र मितव्ययिता सम्बन्धी निर्देशिका, २०७९ को मस्यौदा स्वीकृत गरेको मन्त्री कार्कीले बताए ।


Author

थप समाचार
x