कोशी

प्रदेश १ मा ८७ हजार डोज कोभिड विरुद्धको खोप ‘डेट एक्सपायर’

बाबुराम भण्डारी |
साउन ११, २०७९ बुधबार २१:४९ बजे

फाइल फोटो

विराटनगर -प्रदेश १ मा कोभिशिल्ड र एष्ट्राजेनिका गरी ८७ हजार ५५० डोज खोपको एक्सपायर भएको छ । पछिल्लो म्याद सकिन लागेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रदेशमा पठाएको ११ हजार डोज (११ सय भाइल) कोभिशिल्ड खोपको ‘एक्सपायर’ भएर खेर गएको हो ।

प्रदेश १ को प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका अनुसार गत बैशाखमा अष्ट्राजेनिकाको ७६ हजार ५५० डोज एक्सपायर भएको थियो । कोभिड १९ को संक्रमण दर अत्यन्तै न्यून भएको अवस्थामा बुष्टर डोज लगाउन समेत उत्साह नदेखिंदा आपूर्ति व्यवस्थापन केन्द्रकै रेफ्रिजेनेरेटरमा खोप एक्सपायर भएको थियो ।


सरकारले पछिल्लो पटक म्याद गुज्रिन १५ दिन बाँकी रहेको कोभिशिल्ड खोप प्रदेशमा पठाएको थियो । उक्त कोभिशिल्ड असार ७ गते एक्सपायर भएको जनाइएको छ । छोटो अवधिको म्याद रहेको खोप प्राप्त भएका कारण त्यसलाई सदुपयोग गर्न जिल्लाहरुबाट माग संकलन गर्न समेत नभ्याइएको आपूर्ति व्यवस्थापन केन्द्रले जनाएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले म्याद गुज्रिने भएपछि प्रदेश १ मा १२ हजार डोज कोभिशिल्ड पठाएकोमा एक हजार डोज मोरङमा प्रयोगमा ल्याइएको थियो । बाँकी रहेको ११ हजार डोज कोभिशिल्ड ‘एक्सपायर’ भएको जनाइएको छ ।

कोभिडको संक्रमण धेरै भएको बेलामा खोपको माग धेरै भएको तर संक्रमण घटेपछि खोप लगाउनेको संख्या घटेका कारण खोपको खपत हुन नसकेको आपूर्ति व्यवस्थापन केन्द्र विराटनगरका कोल्ड चेन निरीक्षक चन्द्रकान्त ठाकुरले बताए । ‘अहिले पनि प्रदेश १ मा कोभिड विरुद्धको खोप लगाउन बाँकी मान्छेको संख्या ठुलै छ, तर माग आएको छैन, भण्डार गरेको कोभिशिल्डको ११ सय भाइल एक्पायर भएको छ’ उनले भने, ‘बुष्टर डोज सुरु भइसक्दा पनि मान्छेमा खोप लगाउनु पर्छ भनेर चेतना देखिएन ।’

प्रदेश १ मा आपूर्ति व्यवस्थापन केन्द्रमा फाइजर खोप मात्रै अहिले भण्डारणमा रहेको छ । उक्त खोप झापा, मोरङ, सुनसरी र इलाम जिल्ला मध्ये हाल झापा र सुनसरीमा पठाइसकिएको कोल्ड चेन निरीक्षक ठाकुरले बताए । फाइजर खोप ५ बर्षदेखि ११ बर्ष उमेरका बालबालिकालाई लगाइदैंछ । बन्द रहेका विद्यालयहरु खुल्न थालेका कारण मोरङ र इलाममा पनि दोस्रो डोजका लागि फाइजर खोप पठाउने तयारी भइरहेको उनले जानकारी दिए ।

प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा हाल फाइजरको १७ हजार ४८० भाइल (१ लाख ७४ हजार ८०० डोज) खोप भण्डारण रहेको जनाइएको छ । बाँकी १० जिल्लामा साउन मसान्ततिर थप फाइजर खोप आउने र भदौदेखि खोप अभियान सुरु हुने उनले बताए ।

खोप खेर जाने विभिन्न कारणहरु मध्ये समयमा प्रयोगमा ल्याउन नसक्नु पनि एउटा प्रमुख कारण हो । तर जुनसुकै खोप पनि केही प्रतिशतसम्म खेर जानु स्वभाविक भएको स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाको बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख सागर दाहालले बताए । उनले कोभिड १९ विरुद्धको खोपको हकमा १० प्रतिशतसम्म खोप खेर जानसक्ने दाबी गरे ।

‘अहिले तेस्रो डोज खोप नलगाउने मान्छेहरु प्रशस्तै छन्, मान्छे नआएपछि भ्याक्सिनको खपत कम हुन्छ, अनि खोपको उपयोगमा जोखिम बढ्छ’ दाहालले भने, ‘त्यसका लागि नियमित रुपमा खोप अभियान चलाइरहनु पर्दछ, त्यति गर्दा पनि धेरै खेर गयो भने संवेदनशिल हुनुपर्छ, तर हरेक कुरामा वेस्टेज भएजस्तो खोपमा पनि हुन्छ, अहिले भएको हिसाबमा त्यस्तो अस्वीकार्य संख्या चैं होइन ।’

स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा रहेको बाहेक प्रदेश १ का १४ वटै जिल्लामा भण्डारणमा रहेका खोप समेत नसकिएका कारण थप खोपको माग हुन सकेको छैन । हाल १४ वटै जिल्लामा दैनिक करिब २ हजार ८ सय डोज खोप खपत भइरहेको जनाइएको छ । 
प्रदेश १ मा कोभिशिल्ड, भेरोसेल, जोन्सन एण्ड जोन्सन, अष्ट्राजेनिका, फाईजर र मोर्डना खोप गरी साढे तीन लाख बढीले दोस्रो डोज खोप लगाइसकेका छन् । त्यस्तै बुस्टर डोज ३ लाख ४४ हजार जनाले लगाएको प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाले जनाएको छ ।

निदेशनालयका अनुसार प्रदेश १ मा १२ देखि १७ बर्षको लक्षित जनसंख्या मध्ये ६९ प्रतिशतले पहिलो मात्रा खोप लगाएका छन् । ६५ प्रतिशतले पूर्ण मात्रा र २९ प्रतिशतले अरिरिक्त मात्रा (बुष्टर डोज) लगाएका छन् । त्यस्तै १८ बर्ष माथि ८८ प्रतिशतले पहिलो मात्रा, ८५ प्रतिशतले पूर्ण मात्रा र ४४ प्रतिशतले अतिरिक्त मात्रा लगाएको जनाइएको छ ।


Author

बाबुराम भण्डारी

भण्डारी इकागजका कोशी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x