कोशी

एसईईका उत्कृष्ट छात्रछात्रालाई एक-एक लाख पुरस्कार

इकागज |
साउन १४, २०७९ शनिबार १७:३८ बजे

खोटाङ- केपिलासगढी गाउँपालिकाले माध्यमिक शिक्षा परीक्षा एसईईमा सबैभन्दा बढी अङ्क ल्याउने गाउँपालिका भित्रका दुई विद्यार्थीलाई रु एक-एक लाख नगद पुरस्कार प्रदान गर्ने भएको छ । गाउँपालिकाभरिकाे सामुदायिक विद्यालयबाट एसईई दिएका मध्येमा सबैभन्दा बढी अङ्क ल्याउने एक छात्र र एक छात्रालाई गाउँपालिकाले नगद पुरस्कार प्रदान गर्ने भएको हो ।

विद्यार्थीलाई सामुदायिक विद्यालयमा पढ्न अझ अभिप्रेरित गर्ने उद्देश्यले एसईईमा सबैभन्दा बढी अङ्क ल्याउने विद्यार्थीलाई पुरस्कारको व्यवस्था गरिएको गाउँपालिका प्रमुख समिर राईले बताए । विद्यार्थीलाई पुरस्कृत गर्ने कार्यक्रम गाउँपालिकाको आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।


यस्तै एसईई दिएका गाउँपालिकाभरिका गरिब तथा जेहेन्दार दुई छात्र-छात्रालाई गाउँपालिकाले पढाउने भएको छ । उनीहरूका लागि गाउँपालिकाले १८ महिने प्राविधिक शिक्षा अध्ययनको व्यवस्था मिलाउने तयारी गरिएको गाउँपालिकाले जनाएको छ ।

एसईईमा सबैभन्दा बढी अङ्क ल्याउने दुई विद्यार्थी र गरिब तथा जेहेन्दार दुई विद्यार्थी पहिचान गर्ने कामको थालनीसमेत गरिएको गाउँपालिकाले जनाएको छ । उनीहरूलाई आगामी भदौ २३ गते अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा सार्वजनिक गरेर पुरस्कार प्रदान गरिने जनाइएको छ ।

विसं २०७८ को एसईईमा गाउँपालिकाको सातवटा सामुदायिक विद्यालयबाट दुई सय ५२ विद्यार्थीले परीक्षा दिएका थिए । पछिल्लो समय सामुदायिक विद्यालयप्रति विद्यार्थीको आकर्षण घट्दै गएपछि त्यसलाई रोक्न गाउँपालिकाले विद्यार्थी प्रोत्साहन कार्यक्रम गाउँ सभाबाटै पारित गरेर ल्याएको हो । 

गत वैशाख ९ गतेबाट २० गतेसम्म देशभर सञ्चालन भएको एसईई परीक्षाको नतिजा गत साउन ११ गते सार्वजनिक भइसकेको छ । जिल्लाबाट तीन हजार आठ सय नौ विद्यार्थी एसईई परीक्षामा सहभागी भएका थिए ।


Author

थप समाचार
x