उदयपुरको बेलकामा कुनै पनि मानवीय क्षति भएको छैन– मन्त्री कार्की
फाइल फोटो
विराटनगर - सप्तकोसी नदीको बहाव उदयपुरको बेलका नगरपालिकातर्फ मोडिने क्रम जारी रहे पनि अहिलेसम्म कुनै पनि मानवीय क्षति नभएको प्रदेश नं १ सडक पूर्वाधार तथा सहरी विकासमन्त्री हिमाल कार्कीले बताएका छन् ।
उनले घटनास्थलको स्थलगत निरीक्षणपछि रासससँग कुराकानी गर्दै भने, `कोसी नदीमा पानीको बहाव बर्षातमा निर्भर गर्छ, यदि वर्षा भएन भने कोसी नदीको पानीलाई नियन्त्रण गर्न सकिन्छ, यसका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले युद्धस्तरमा काम गरिरहेका छन् ।`
कोसी नदीको पानीले अहिले बेलका नगरपालिकाको वडा नं १, २, ३, ८ र ९ लाई असर पार्ने देखिन्छ भन्दै मन्त्री कार्कीले अहिलेसम्म एक हजार ५०० जनालाई सुरक्षित स्थानमा लगी उनीहरुको बास, खानपिन र स्वास्थ्यको प्रबन्ध मिलाइएको जानकारी दिए ।
कोसी नदीमा आएको बाढीले जमिन कटान गरेको तर कुनै पनि मानवीय क्षति नभएको जानकारी प्राप्त भएको मन्त्री कार्कीले जानकारी दिए । उनले कोसी नदीले अरु दुःख नदेओस् भनेर सुनसरी र मोरङका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख र नेपाली सेना तथा सशस्त्र प्रहरी प्रमुखले आआफ्नो क्षेत्रबाट सक्दो प्रयास भइरहेको जानकारी दिए ।
उनले बेलका क्षेत्रमा भैँसीपालन, कुखुरापालन, गाई फार्म सञ्चालन गर्ने मानिसले आफ्ना फार्म छाडेर हिँड्न नमानेको अवस्थालाई ध्यान दिएर त्यस क्षेत्रमा प्रहरी प्रशासनको निगरानी एवं परिचालन बढाइएको स्पष्ट पारे ।
बर्सातमा तीन लाख ५० हजार क्युसेक पानी बहने सप्तकोसी नदीमा अहिले पानी कति छ त्यो जानकारी नभए पनि सप्तकोसी नदीले उदयपुरको बेलका क्षेत्र र सुनसरीको बराह गाउँपालिकामा असर पार्ने अवस्था सिर्जना भएको छ ।
सप्तकोसी नदीले बेलकालाई चिरेर बाहिर निस्कने हो भने सो पानी उदयपुरको त्रिजुगा नदी, पुरन्दह र सप्तरीको कञ्चनपुर र फत्तेपुरसम्म असर गर्ने प्रारम्भिक अनुमान देखिएको सडक पूर्वाधार तथा सहरी विकासमन्त्री कार्कीले जानकारी दिए ।
विसं २०६५ भदौ २ गते सुनसरीको पश्चिम कुसहातर्फको बाँध भत्किएपछि नेपाल र भारततर्फ धेरै ठूलो जनधनको क्षति भएको थियो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया