कोशी

२ वर्षपछि विराटनगरमा ५४ औं राधाकृष्ण रथयात्रा निकालिँदै

इकागज |
भदौ ४, २०७९ शनिबार १३:२५ बजे

विराटनगर । ५४ औं संस्करणको राधाकृष्ण रथयात्रा विराटनगरमा आज शनिबार निकालिँदैछ । कोभिड महामारीले दुई वर्षदेखि रोकिएको रथ यात्रालाई यसपटक स्वास्थ्य मापदण्ड अपनाएर निकाल्न लागिएको हो ।

विराटनगर–१ स्थित राधाकृष्ण मन्दिरबाट अपरान्ह ३ बजे रथ निकालिने तयारी रहेको राधाकृष्ण रथ यात्रा मुल समितिका उपाध्यक्ष नन्दकिशोर राठीले बताए । वि.सं. १९८८ मा खट यात्राबाट सुरु भएर २०२४ सालदेखि विराटनगरमा श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट प्रत्येक वर्ष राधाकृष्ण रथयात्रा निकालिँदै आएको छ । अघिल्लो वर्ष कोभिड महामारीका कारण झाँकीरहित खट यात्रा निकालेर रथ यात्रालाई निरन्तरता दिइएको थियो । यसपटक पनि कोभिडकै कारण झाँकीहरु नरहने मूल आयोजक समितिले जनाएको छ ।


रथलाई तान्नका लागि नेपाल प्रहरीको तालिममा रहेका एक सयजना जवानहरु परिचालन हुने जनाइएको छ । राधाकृष्ण मन्दिरबाट सुरु हुने रथयात्रा जलजला मोड हुँदै रोडषेश चाेक पुग्नेछ । त्यहाँबाट महेन्द्र चोक फर्किने र बरगाछी चोकबाट पुनः राधाकृष्ण मन्दिरमै रथ फर्काइने तयारी रहेको समितिका उपाध्यक्ष राठीले जानकारी दिए ।

उक्त रुटमा रथलाई विभिन्न २२ स्थानमा रोकेर श्रद्धालुहरुलाई रथ यात्राको दर्शन गराउने व्यवस्था मिलाइएको उनले बताए । कोभिड–१९ को संक्रमण कायमै रहेका कारण स्थानीय प्रशासनले रथ यात्राका लागि अनिच्छा देखाउँदै आएको थियो । अन्य सवै जातजातिको धार्मिक तथा सांस्कृतिक पर्वहरु निर्वाध रुपमा भइरहेको तर राधाकृष्ण रथयात्रा मात्रै रोक्न खोजिएको भन्दै चर्को बहस र दबाब अभियानहरु सञ्चालन हुन थालेपछि अन्तिम समयमा आएर मूल समारोह समिति र सुरक्षा निकायबीच मापदण्ड अपनाएर मात्रै रथयात्रा गर्ने सहमति भएको थियो ।

यसपटक रथसँगै ऐतिहासिक खट यात्रा पनि निकालिने जनाइएको छ । रथलाई डोरीले तानिने र खटलाई गाडीमा राखेर सर्वसाधारणका लागि प्रदर्शन गरिनेछ । रथ १८ फिट अग्लो भएका कारण नेपाल विद्युत प्राधिकरणसँगको समन्वयमा रथ यात्राको रुटमा पर्ने विद्युतका तारहरुको व्यवस्थापन गरिएको छ । विराटनगरको राधाकृष्ण रथ यात्रालाई भारतको जगन्नाथ पुरीको रथ यात्रापछिको एशियाकै ठुलो रथयात्रा मानिँदै आएको छ ।

रथ यात्राको अवलोकन गर्न विगतमा भारतबाट समेत हजारौं भक्तजनहरु नेपाल आउने गरेका थिए । विगत वर्षमा भएका रथयात्रामा करिब पाँच लाख मानिसको सहभागिता रहने गरेको आयोजक समितिको दाबी रहँदै आएको छ । यस वर्ष भने स्वास्थ्य मापदण्ड अपनाएर मात्रै रथयात्रामा सहभागी हुन पाउने व्यवस्था गरिएका कारण भक्तजनहरुको संख्या कम हुने जनाइएको छ ।

रथयात्रामा अगाडि पछाडि दमकल, एम्बुलेन्स लगायतका अत्यावश्कीय सेवाका साधनहरु रहनेछन् ।

३२ क्विन्टल उखुको जुस र दुई सय किलो दुधको खिर

यसैबीच दुई वर्षपछि हुन लागेको राधाकृष्ण रथयात्रामा सहभागी हुने भक्तजन र रथ यात्राका सहभागीहरुलाई खुवाउन भन्दै विराटनगरमा ३२ क्विन्टल उखुको जुस र २०० लिटर दुधको खिर व्यवस्था गरिएको छ । विराटनगरका उद्योगी व्यवसायीहरु सम्बद्ध हेल्पिङ हेण्डस् राधे राधे नामक समुहले एक हजार रुपैयाँ उठाएर संकलन गरेको रकमबाट रथ यात्राका लागि सहभागी र भक्तजनहरुका लागि जुस र खिरको व्यवस्था गरिएको हो । 

जुस निकाल्ने उखु भारतबाट ल्याइएको हो । त्यसलाई पेलेर करिब १५ हजार ग्लास जुस तयार गरिने उक्त समूहका पिन्टु अग्रवालले जानकारी दिए । जुसमा चाहिने बरफ, कागती र पुदिना लगायतका खाद्यवस्तु भने विराटनगरमै तयार गरिएको उनले बताए ।


Author

थप समाचार
x