कोशी

७ लाख ४३ हजार ८८ मतदाता

मोरङमा ८ मतदान स्थल सारिँदै, ८ थपिँदै

बाबुराम भण्डारी |
भदौ ८, २०७९ बुधबार १२:२ बजे

विराटनगर - आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा मोरङमा ७ लाख ४३ हजार मतदाता कायम रहने प्रदेश निर्वाचन कार्यालय विराटनगरले जनाएको छ । निर्वाचन आयोगले आगामी निर्वाचनका लागि योग्य मतदाताको पहिलो चरणको नामावली भदौ १२ गतेभित्र प्रकाशन गर्दैछ ।

स्थानीय तहको निर्वाचनपछि साउन १९ गतेसम्म मोरङमा १८ बर्ष उमेर पुगेका २७ हजार २२५ मतदाता थपिएका थिए । उनीहरू मंसिर ३ गतेसम्म १८ बर्ष पुग्ने भएकोले मोरङको कुल मतदाता संख्या ७ लाख ४३ हजार ८८ कायम हुने प्रदेश निर्वाचन आयोगले जनाएको छ । यद्यपि अन्तिम मतदाता नामावली प्रकाशन हुँदा सामान्य घटबढ हुनसक्ने जनाइएको छ ।


आयोगले मतदाताको नामावली प्रकाशन गरेपछि निर्वाचन कार्यालयले नामावलीमा हुने दोहोरोपना, त्रुटि सच्चाउने र नामावलीलाई वैधानिकता दिने प्रक्रिया सुरु गर्ने प्रदेश निर्वाचन कार्यालय विराटनगरका निर्वाचन अधिकारी लेवनकश्यप अधिकारीले बताए । 

मोरङमा गत बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा ७ लाख १५ हजार २२३ मतदाता कायम थिए । मतदाता संख्याका आधारमा ७७ जिल्लामै सवैभन्दा बढि मतदाता भएको जिल्लाका रुपमा मोरङ चिनिदैं आएको छ ।

मतदाता नामावली अद्यावधिक (दाबी विरोध समेत) बारे कार्यालयले राजनीतिक दलहरूलाई जानकारी गराइसकेको अधिकारीले बताए । उनले भदौ ३० र ३१ गते अन्तिम मतदाता नामावली प्रकासित गर्ने आयोगको तयारी भएकोले नामावली अद्यावधिकको काम अघि बढाएको जानकारी दिए ।

‘मतदाता नामावली ऐन २०७३ बमोजिम भदौ १२ गते मतदाता नामावली प्रशासन भएपश्चात दाबी विरोधको कार्यक्रम सुरु हुनेछ’ उनले भने, ‘नाममा भएका त्रुटि सच्चाउन नाम दर्ता अधिकारीमार्फत् निवेदन दिनुपर्ने, कसैले झुटा विवरण उल्लेख भए नाम दर्तामा विरोधमा उजुरी दिने, एकभन्दा बढि स्थानमा नाम भएमा एउटामात्रै स्थानमा नाम कायम गर्न निवेदन लगायतका काम सकिनेछ ।’

यसैबीच मतदातालाई अत्यन्तै अपायक र मतदान प्रक्रियामा आइपरेको अप्ठेरोको आधारमा स्थानीय जनप्रतिनिधी, राजनीतिक दल र स्थानीय प्रशासन समेतको आग्रहमा मोरङका ८ वटा मतदान स्थल अर्को ठाउँमा सार्नका लागि निर्वाचन आयोगलाई आग्रह गरिएको छ । त्यसैगरी मतदाता संख्याको चाप र स्थान अभावका कारण थप ८ वटा नयाँ स्थल तोक्नका लागि समेत आयोगलाई पत्राचार गरिएको छ ।

मतदान स्थल पुनरावलोकन समितिले गरेको सिफारिस अनुसार कटहरी–३ को कटहरी गाउँपालिका मतदान स्थललाई जनप्रिय मावि कटहरी बजार, कटहरी–७ को लक्ष्मी आधारभूत विद्यालयबाट वडा नं. ७ को वडा कार्यालय, धनपालथान–२ को लकेश्वर आधारभूत विद्यालय अमाहिवरियातीबाट स्वास्थ्य चौकी अमाहिबरियाती, रतुवामाई–५ को उपस्वास्थ्य चौकी भवनबाट वडा नं. ५ को वडा कार्यालय, बुढीगंगा–२ को नयाँ हेल्थपोष्ट वस्ताहाबाट लिलाभक्त आधारभूत विद्यालयमा पूर्ण रुपमा मतदान स्थल सार्न आयोगमा सिफारिस गरिएको छ । 

त्यसैगरी बेलबारी–८ को ज्ञानोदय आधारभूत विद्यालयबाट रणपाल आधारभूत विद्यालय, केराबारी–४ को गाउँपालिका कार्यालयबाट केयु एकेडेमी र विराटनगर महानगरपालिका–८ को सप्तकोसी बोर्डिङ स्कुलबाट श्री सुशिला निकुन्ज आधारभूत विद्यालय हाटखोलामा पूर्ण रुपमा मतदान स्थल सार्न सिफारिस भएको जनाइएको छ ।

यसैबीच मतदाता संख्याको तुलनामा साँधुरो र मतदान गर्न जानका लागि नै अपायक रहेको विराटनगर–३ को पुसेट क्याम्पसलाई टुक्र्याएर औषधी व्यवस्था विभागमा नयाँ मतदान स्थल कायम गर्न सिफारिस भएको छ । पुसेट क्याम्पस मोरङकै सवैभन्दा धेरै ११ हजार ३२ बढि मतदाता रहेको मतदान स्थल हो ।

जनप्रतिनिधि र राजनीतिक दल सम्मिलित सर्वपक्षीय बैठकले रंगेली–४ को गणेश मावि चोप्राहाबाट  टुक्र्याएर जनता मावि आमतोला, कानेपोखरी–६ को पञ्चज्योती आधारभूत विद्यालयबाट टुक्र्याएर जनसेवा मावि, बेलबारी–१ जनएकता आधारभूत विद्यालयबाट टुक्‌र्याएर बेलबारी नगरपालिकाको कार्यालयमा मतदान स्थल थप्न सिफारिस गरेको हो ।

त्यसैगरी बेलबारी–११ को लक्ष्मी मावि लक्ष्मीमार्गबाट फुटाएर लक्ष्मी सामुदायिक वन उपभोक्ता समितिको भवन, मिक्लाजुङ–१ को टाडी मावि सिरानेटारबाट फुटाएर मनोहरा आधारभूत विद्यालय कोलबोटे, केराबारी–४ स्थित जनकल्याण माविबाट टुक्‌र्याएर जगदम्बा आधारभूत विद्यालय र केराबारी–९ को रामबिर आधारभूत विद्यालयबाट बुद्ध माविमा नयाँ मतदान स्थल थप्न आयोग समक्ष सिफारिस गरिएको जनाइएको छ ।

मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले निर्वाचनको चरणसुरु भइसकेकोले दलहरूसँग आवश्यक समन्वयलाई तिब्रता दिइएको बताए । उनले आयोगका निर्देशनहरूलाई तल्लो तहमा पुर्‍याउनसमेत दलहरू समक्ष आग्रह गरे । निर्वाचनको तयारी स्वरुप आफ्नो नेतृत्वमा सवै सुरक्षा निकायको संलग्नतामा निर्वाचन कमाण्ड पोष्ट स्थापना भइसकेको जानकारी दिंदै प्रजिअ दाहालले निर्वाचनलाई शान्तिपूर्ण र भयरहित रुपमा सम्पन्न गर्न दलहरूको अझ बढी भूमिका रहेको बताए ।


Author

बाबुराम भण्डारी

भण्डारी इकागजका कोशी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x