यो कार्यकालमा प्रदेशको नामाकरण जटिल : सभामुख भण्डारी
विराटनगर- प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारीले प्रदेशसभाको यो कार्यकालमा प्रदेशको नामाकरणको विषय जटिल बनेको बताएका छन् । उनले दलहरू आफ्नो हठबाट पछि नहटेपछि प्रदेशसभाबाट नाम राख्ने सम्भावना न्यून हुँदै गएको दाबी गरेका हुन् ।
शनिबार नेपाल पत्रकार महासंघ मोरङले वितरण गरेको कोशराज रेग्मी स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार तथा खिलेश्वरी स्मृति पत्रकारिता पुरस्कार वितरण समारोहमा बोल्दै सभामुख भण्डारीले नामाकरणको विषय अघि नबढ्ने र निर्वाचन समेत नजिकिँदै गएकोले प्रदेशसभाको जारी १० औं अधिवेशन पनि यसै हप्ता अन्त्य हुनसक्ने बताए । उनले प्रदेशको राजधानीको विषयमा दलहरुले सहमतिमै टुंगो लगाएको तर नामकरणमा सहमति जुट्न नसकेको बताए ।
‘सहमतिमै राजधानी टुंगो लगायौँ, नाम बिस्तारै जटिल बन्यो,’ सभामुख भण्डारीले भने, ‘नाम राख्न सक्ने अवस्था न्यून हुँदै गएको छ, सदन यही हप्ता बोलाएर अन्त्य गर्ने अवस्था छ ।’ उनले नामकरणको विषयलाई दलहरुले नै लिखित सहमति गरेर पछाडि सार्दै गएका कारण अहिले आएर जटिल अवस्थामा पुगेको बताए ।
सभामुख भण्डारीले आफू दलबाटै निर्वाचित भएर सभामुख बनेको र सभामुख भएपछि दलहरूसँगको आबद्धता त्यागेर काम गरेको दाबी गरे । उनले आगामी निर्वाचनमा राम्रो व्यक्ति छान्नुपर्ने बताए । निर्वाचनमा दलहरुले पत्रकारहरुलाई समेत गलत तरिकाले उपयोग गर्न सक्ने भन्दै दलीय आग्रहमा नपर्न सचेत गराए ।
कार्यक्रममा २५ हजार रुपैयाँ राशिको कोशराज रेग्मी स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय अध्यक्ष बिष्णु निष्ठुरीलाई तथा ११ हजार रुपैयाँ राशिको खिलेश्वरी स्मृति पत्रकारिता पुरस्कार मोरङको उर्लाबारीका अग्रज पत्रकार दुर्गाप्रसाद खतिवडालाई प्रदान गरिएको थियो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया