कोशी

सामूहिक तस्बिर खिच्दै खाजा खाएर बिदा भए प्रदेश १ का सांसदहरू (फोटो फिचर)

प्रदेश १ को दशौं अधिवेशन अन्त्य

बाबुराम भण्डारी |
भदौ १७, २०७९ शुक्रबार १८:१२ बजे

विराटनगर- प्रदेश १ को प्रदेश सभाका सांसदहरूको पहिलो पाँच वर्षे कार्यकाल पूरा भएको छ । उनीहरूको प्रदेश सभा सदस्य पद कायमै रहेको भएपनि प्रदेश सभाको जारी दशौं अधिवेशनको औपचारिक अन्त्य शुक्रबारदेखि भएको छ । अधिवेशन सकिएपछि उनीहरूको पहिलो कार्यकाल भने औपचारिक रूपमै पूरा भएको हो ।


अर्को निर्वाचनमा उम्मेदवार नबनुन्जेल वा प्रदेश सभामा नयाँ सांसद निर्वाचित नहुन्जेल उनीहरूको सांसद पद कायमै रहने भएपनि शुक्रबारको दिनलाई नै उनीहरूले प्रदेश सभाको अन्तिम दिनका रूपमा बिताएका हुन् । ९३ सदस्यीय प्रदेश सभामा हाल ९० जना सांसदहरू रहेका छन् ।

प्रदेश सरकारले शुक्रबार राती १२ बजेपछि प्रदेश सभाको दशौं अधिवेशन अन्त्य गरेका कारण प्रदेश सांसदहरूले शुक्रबारलाई नै प्रदेश सभाको आफ्नो अन्तिम दिन भएको बुझाइ बनाएका थिए । प्रदेश सभाको नवनिर्मित नयाँ सभा हलबाट सभामुख प्रदीपकुमार भण्डारीले प्रदेश सभाको २५औं बैठक सकिएको घोषणा गरेपछि उनीहरूले प्रदेश सभा हलभित्रै सामूहिक तस्बिर खिचेर पहिलो कार्यकालको अनुभूति साटासाट गरे ।

बैठक सकिएपछि प्रदेश सभाका सचिव गोपालप्रसाद पराजुलीले उपस्थित प्रदेश सरकारका मन्त्रीहरू, समितिका सभापति लगायत सबै सांसदहरूलाई एउटै मर्यादामा राखेर बस्‍ने सिटको व्यवस्था मिलाएको जानकारी गराए । प्रदेश सभा सचिवालयमा सभामुख भण्डारीको आग्रहमा उनीहरूले सामूहिक रूपमा प्याकेटको खाजा खाए । खाजाको प्याकेटमा एउटा समोसा, एक दाना स्याउ, एउटा लालमोहन र  निम्की राखिएको थियो ।

सभामुख भण्डारीले सबैलाई आगामी कार्यकालको उत्तरोत्तर प्रगतिको शुभकामना दिए । त्यसपछि प्रदेश सभाका सांसदहरू एकअर्कासँग हात मिलाउँदै आफ्नो गृहजिल्ला र क्षेत्रतर्फ हिँडेका थिए ।

प्रदेश १ को प्रदेश सभाको पहिलो अधिवेशन २०७४ माघ २२ गते बसेको थियो । प्रदेश सभाले पाँच वर्षमा ६२ वटा कानुन प्रदेश सभाबाट पारित गरेको जनाइएको छ । यद्यपि प्रदेशको नामाकरणको काम भने अधुरै रहेको छ ।


Author

बाबुराम भण्डारी

भण्डारी इकागजका कोशी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x