कोशी

मनाेनयन दर्ताकै दिन नेकपा (एस)ले दियाे धाेका, मोरङका दुई क्षेत्रमा गठबन्धनविरुद्ध उम्मेदवारी

इकागज |
असोज २३, २०७९ आइतबार १७:८ बजे

विराटनगर । सिट बाँडफाँटका क्रममा भएको सहमति विपरीत नेकपा (एकीकृत समाजवादी) ले मोरङको दुईवटा निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गराएको छ । गठबन्धनबीच भएको सहमति अनुसार नेकपा (एस) को भागमा मोरङको क्षेत्र नम्बर १ को प्रदेशसभा (ख) र क्षेत्र नम्बर ३ को प्रदेशसभा (ख) परेको थियो । दुवै क्षेत्रमा एसले उम्मेदवारी दर्ता गराएको जनाइएको छ ।

आफ्नो भागमा नपरेको मोरङको क्षेत्र नम्बर ४ को प्रदेशसभा (ख) मा पार्टी पोलिटव्यूरो सदस्य महेश रेग्मीले उम्मेदवारी दर्ता गराइसकेका छन् । क्षेत्र नम्बर ६ को प्रदेशसभा (ख) मा विद्यार्थी नेता वसिम आलमले उम्मेदवारी दर्ता गराउन मनोनयन फाराम भरिसकेको नेकपा (एस) मोरङकी उपसचिव निलम ढुंगेलले जानकारी दिइन् । दुई क्षेत्रमा दिइएको उम्मेदवारी पनि पार्टीको तर्फबाट आधिकारिक रुपमै दर्ता हुने उनले बताइन् ।


‘पार्टीले टिकट दिएर उम्मेदवार बन्न पठाएका कारणले उम्मेदवारी दिएको हो, यहाँ पनि हामी नै आधिकारिक हो’ उनले भनिन् । सिट बाँडफाँटका क्रममा पार्टीको भागमा परेको मोरङ–१ (ख) उपेन्द्र प्रसाद घिमिरे र ३ को (ख) मा लक्ष्मी कुमार श्रेष्ठले उम्मेदवारी दर्ता गरेको उनले बताइन् ।


Author

थप समाचार
x