कोशी

जसपालाई दिएको मोरङको दुईवटा प्रदेशसभाको सिटमा एमालेकै उम्मेदवारी

इकागज |
असोज २३, २०७९ आइतबार १९:४५ बजे

विराटनगर । जनता समाजवादी पार्टीसँग तालमेल भएको मोरङको दुईवटा प्रदेशसभा निर्वाचन क्षेत्रमा एमालेकै उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन् । मोरङमा प्रतिनिधिसभातर्फ क्षेत्र नम्बर ५ र प्रदेशसभातर्फ ४ (ख), ५ (ख) र ६ (ख) जसपालाई दिने गरी सहमति भएकोमा एमालेले प्रदेशसभातर्फ ४ (ख) र ६ (ख) मा उम्मेदवारी दिएको हो ।

टिकट पाउने अन्तिम समयमा गठबन्धनका नाममा टिकट खोसिएका जीवन घिमिरेले ४ (ख) मा उम्मेदवारी दर्ता गरेका छन् । त्यस्तै ६ (ख) मा उम्मेदवारी दिने तयारी गरिरहेका पर्शुराम बस्नेतको समेत टिकट खोसिएर उक्त क्षेत्र जसपाको भागमा परेको थियो । दुवै क्षेत्रमा बलियो उम्मेदवारका रुपमा अघि सारिएका घिमिरे र बस्नेतले टिकट नपाएको भन्दै एमालेभित्र चर्को असन्तुष्टि देखिएको थियो ।


जसपालाई दिएको सिट एमालेले लिनका लागि मोरङको क्षेत्र नम्बर ४ (क) समेत जसपालाई नै दिने गरी नयाँ सहमति भएको एमाले स्रोतले जनाएको छ । यद्यपि जसपाले भने पूर्ववत् सहमति अनुसार नै कुनैपनि क्षेत्रमा आफ्नो पार्टीको भागमा परेका उम्मेदवारले उम्मेदवारी दर्ता गर्ने जनाएको छ । एमालेले जसपाबाट टिकट पाएका दुवै क्षेत्रका उम्मेदवार कमजोर भएको भन्दै दुवै सिट आफुले लिने र क्षेत्र नम्बर ५ को पुरै सिट जसपालाई दिन तयार भएकोले ती क्षेत्रमा मनोनयन दर्ता गरेको जनाएको छ ।


Author

थप समाचार
x