कोशी

मोरङमा ७८ स्वतन्त्रसहित २२६ जनाको उम्मेदवारी

बाबुराम भण्डारी |
असोज २४, २०७९ सोमबार ९:२० बजे

फाइल तस्बिर

विराटनगर- आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनमा मोरङको ६ वटा प्रतिनिधि र १२ वटा प्रदेशसभा निर्वाचन क्षेत्रमा ७८ जना स्वतन्त्रसहित कुल २२६ जनाको उम्मेदवारी परेको छ । प्रदेश निर्वाचन कार्यालय विराटनगरका अनुसार प्रतिनिधिसभा तर्फ १०८ र प्रदेशसभामा ११८ जनाको उम्मेदवारी परेको जनाइएको छ ।

सबैभन्दा धेरै उम्मेदवारी मोरङको क्षेत्र नम्बर ३ मा ५३ जनाले उम्मेदवारी दिएका छन् । प्रतिनिधिसभा तर्फ सवैभन्दा धेरै ३१ जना उम्मेदवार छन् । जसमध्ये स्वतन्त्र उम्मेदवार मात्रै १९ जना रहेका छन् । क्षेत्र नम्बर ३ मा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका महासमिति सदस्य रहेका नोवेल मेडिकल कलेज संचालक सुनिल शर्मा र एमालेका स्थायी कमिटी सदस्य एवं पूर्व स्वास्थ्यमन्त्री भानुभक्त ढकालबीच मुख्य प्रतिष्पर्धा रहेको छ ।


सोही क्षेत्रमा राप्रपाबाट अभिनेत्री रेखा थापा पनि चुनावी मैदानमा उत्रिएकी छन् । उक्त क्षेत्र अन्तरगतको प्रदेशसभा (१) मा एक स्वतन्त्रसहित ७ जना र (२) मा ६ स्वतन्त्रसहित १५ जनाको उम्मेदवारी परेको छ ।

चिरपरिचितबीच तेस्रो पटकको आमने–सामने हुन लागेको मोरङ क्षेत्र नम्बर १ मा १० स्वतन्त्रसहित ३० जनाको उम्मेदवारी परेको छ । प्रतिनिधिसभामा ६ स्वतन्त्रसहित १५ जना र प्रदेशसभातर्फ क्षेत्र नं १ र २ मा क्रमशः २/२ जना स्वतन्त्रसहित ७ र ८ जनाको उम्मेदवारी परेको जनाइएको छ ।

क्षेत्र नम्बर १ मा एमालेका निवर्तमान् सांसद घनश्याम खतिवडा र कांग्रेस मोरङका सभापति डिक बहादुर लिम्बुबीच प्रतिष्पर्धा हुँदैछ । उनीहरुले अहिलेसम्म एकएक पटक एक अर्कोलाई हराएका छन् । 

सत्ता गठबन्धनमा नेपाली कांग्रेसबाट सुजाता कोइराला र नेकपा एमालेका ऋषिकेश पोखरेलबिचको मुख्य भिडन्त रहने क्षेत्र नम्बर २ मा ९ स्वतन्त्रसहित ३४ जनाले उम्मेदवारी दिएका छन् । प्रतिनिधिसभातर्फ ३ जना स्वतन्त्रसहित १३ जनाको उम्मेदवारी परेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । प्रदेशसभातर्फ क्षेत्र नं. (१) मा ४ स्वतन्त्रसहित १२ जना र (२) मा २ स्वतन्त्रसहित ९ जना उम्मेदवार छन् ।

क्षेत्र नं. ४ मा प्रतिनिधिसभा र प्रदेशसभामा गरी कुल ३४ जनाको उम्मेदवारी परेको छ । ७ स्वतन्त्रसहित प्रतिनिधिसभामा १७ जनाले मनोनयन दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । प्रदेशसभातर्फ ४ को (१) मा एक स्वतन्त्रसहित ७ जना र (२) मा दुई स्वतन्त्रसहित १० जनाले उम्मेदवारी दर्ता गराएका छन् । क्षेत्र नम्बर ४ मा नेकपा एमालेका केन्द्रीय सदस्य विनोद ढकाल र माओवादी केन्द्रबाट निवर्तमान सांसद अमनलाल मोदीबीच प्रतिष्पर्धा हुँदैछ ।

क्षेत्र नं. ५ मा कुल १३ स्वतन्त्रसहित ३२ जनाको उम्मेदवारी परेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । प्रतिनिधिसभातर्फ ८ स्वतन्त्रसहित १८ जनाले उम्मेदवारी दिएका छन् । उक्त क्षेत्रमा एमाले–जसपा गठबन्धनबाट जसपाका केन्द्रीय सदस्य राजकुमार यादव र सत्ता गठबन्धनबाट माओवादी केन्द्रका शिवकुमार मण्डलबीच मुख्य प्रतिष्पर्धा हुँदैछ । 

यादव र मण्डल यसअघि संविधानसभा निर्वाचनमा भिडिसकेका परिचित प्रतिष्पर्धी हुन् । क्षेत्र नं. ५ को प्रदेशसभा (१) मा २ स्वतन्त्रसहित ६ जना र (२) मा ३ स्वतन्त्रसहित १० जनाले उम्मेदवारी दिएका छन् । मुलुककै ध्यान खिच्ने मोरङको क्षेत्र नम्बर ६ मा नेपाली कांग्रेसका नेता डा.शेखर कोइराला र नेकपा एमालेका स्थायी कमिटी सदस्य लालबाबु पण्डित ‘ह्याभी वेट’ उम्मेदवारका रुपमा प्रतिनिधिसभा सदस्यको चुनावी मैदानमा उत्रिएका छन् । 
क्षेत्र नं. ६ मा दुई स्वतन्त्र उम्मेदवारसहित १६ जनाको उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उक्त क्षेत्रमा कुल ४३ जनाको उम्मेदवारी परेकोमा प्रतिनिधिसभा तर्फ १६ जना छन् । प्रदेशसभा ६ (१) मा ५ स्वतन्त्रसहित १३ जना र (२) मा ३ स्वतन्त्रसहित १४ जनाको उम्मेदवारी परेको जनाइएको छ ।


Author

बाबुराम भण्डारी

भण्डारी इकागजका कोशी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x