कोशी

प्रदेश १ का २९ सांसद दोहोरिएर उम्मेदवार, दुई मुख्यमन्त्री र दुई मन्त्री गए संघमा

बाबुराम भण्डारी |
असोज २४, २०७९ सोमबार १६:१८ बजे

विराटनगर - प्रदेश १ का निवर्तमान २९ जना सांसदहरू पुनः प्रदेशसभामै उम्मेदवार बनेका छन् । प्रदेशका दुई मुख्यमन्त्री र दुई मन्त्री गरी ४ जना भने प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका हुन् । 

९३ सदस्यीय प्रदेशसभामा अघिल्लो निर्वाचनमा ४१ सांसद जितेको नेकपा एमालेबाट यसपटक सबैभन्दा बढी १३ जना सांसदले दोहोरिएर उम्मेदवारी दिएका छन् । २१ सांसद रहेको नेपाली कांग्रेसबाट ४ जना, १६ सांसद रहेको माओवादीका ७ जना, १० सांसद रहेको नेकपा (एस) का ४ जना र ३ सांसद रहेको जनता समाजवादी पार्टी (जसपा) बाट एकजना दोहोरिएर उम्मेदबार बनेका हुन् । 


एमालेबाट प्रदेशसभामै दोहोरिनेहरूमा मोरङ–२ प्रदेशसभा (२) मा लिलाबल्लभ अधिकारी, मोरङ–४ प्रदेशसभा (ख) मा जीवन घिमिरे, ओखलढुंगा (१) मा अम्बिरबहादुर गुरुङ, तेह्रथुम (२) बाट तेजमान कन्दङ्वा र इलाम–२ को प्रदेशसभा (२) मा राम रानाले उम्मेदवारी दर्ता गराएका छन् । अधिकारी, घिमिरे, गुरुङ र राना प्रदेश १ को मन्त्री भइसकेका एमालेका नेताहरू हुन् ।

त्यसैगरी सोलुखुम्बु र धनकुटाको दुवै प्रदेशसभा क्षेत्रबाट निर्वाचित भएका एमालेका निर्वतमान सांसदहरू यसपटक पनि दोहोरिएर उम्मेदवार बनेका छन् । सोलुबाट अघिल्लो पटक निर्वाचित भएका उत्तम बस्नेत र बुद्धिकुमार राजभण्डारीले दोस्रो कार्यकालका लागि उम्मेदवारी दर्ता गराएका हुन् । बस्नेत प्रदेश १ को उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री भएका थिए । राजभण्डारीले भने एमाले संसदीय दलको प्रमुख सचेतक भएर ५ बर्ष काम गरेको अनुभव बटुलेका छन् । एमालेबाटै धनकुटा (१) बाट निरन राई र (२) बाट इन्द्रमणि पराजुली दोहोरिए । पराजुली प्रदेशसभाको न्याय प्रशासन तथा विधायन समितिको सभापति भइसकेका छन् ।

झापा–२ (१) मा एकराज कार्की, झापा–३ (१) मा बसन्त बानियाँ, झापा–५ (१) मा हिक्मतकुमार कार्कीले मनोनयन दर्ता गरेका हुन् । उनीहरू मध्ये कार्की पहिलो प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुनमन्त्री समेत रहेका छन् । प्रदेशमै दोहोरिन टिकट समेत पाइसकेका एमालेका निवर्तमान सचेतक विमल कार्की भने अन्तिम समयमा टिकट फेरिएपछि उम्मेदबार बन्नबाट बञ्चित भए ।

यता एमालेकी एक सांसदले भने पार्टी बदलेर प्रत्यक्षतर्फ उम्मेदवारी दिएकी छन् । सामानुपातिक सांसद बसन्तीदेवी यादवले आफ्नो नाम प्रत्यक्षतर्फ एक नम्बरमा सिफारिस भएर गएको भए पनि अन्तिममा नाम काटिएको भन्दै हाम्रो नेपाल पार्टीबाट मोरङ–५ को प्रदेशसभा क्षेत्र (२) मा उम्मेदवारी दिएकी हुन् ।

नेपाली कांग्रेसका संसदीय दलका नेता राजीव कोइराला पनि अन्तिममा प्रदेशमै दोहोरिए । सुनसरी क्षेत्र नं. २ (२) बाट यसअघि निर्वाचित भएका कोइराला प्रतिनिधिसभा सदस्य लड्ने तयारी गरे पनि टिकट नपाएपछि पुनः प्रदेशमै थन्किएका हुन् । ६ जना सांसद रहेको सुनसरीबाट कोइराला मात्रै दोहोरिएका छन् ।

मोरङ–३ (१) बाट शेखरचन्द्र थापा, मोरङ–६ (२) बाट केदार कार्की र उदयपुर–१ (२) बाट हिमाल कार्की कांग्रेसबाट दोहोरिएर उम्मेदवार बनेका छन् । समानुपातिक सांसद रहेका थापा यसपटक प्रत्यक्षतर्फ चुनाव लड्दैछन् । थापासहित तिनैजना वर्तमान काम चलाउ सरकारका मन्त्री पदमा बहाल छन् । 
माओवादी केन्द्रबाट संसदीय दलका नेता तथा वर्तमान सरकारका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बो पनि पुनः पाँचथर (ख) बाट चुनाव लड्दैछन् । प्रदेश १ सरकार गठन भएयता उनले सवैभन्दा बढि अवधि मन्त्री बन्ने अवसर पाएका छन् ।

माओवादीबाट झापा–३ (२) मा पूर्णसिंह राजवंशी, झापा–४ (१) मा झलक बहादुर मगर दोहोरिएका छन् । दर्लामी अहिले कृषि मन्त्रीमा बहाल छन् । मोरङ–१ को प्रदेशसभा (१) बाट कुलप्रसाद साम्बा, सुनसरी–३ (१) बाट सरस्वती पोखरेल, धनकुटा (२) बाट कुसुमकुमारी श्रेष्ठ र उदयपुर–१ (१) बाट उम्मेदवार बनेका नारायण बुर्जा मगर पनि पहिलो प्रदेशसभाकै सांसद हुन् । सुनसरीकी पोखरेल भने पाँच बर्ष प्रदेशसभाको उपसभामुख भइसकेकी छन् । उनी यसअघि समानुपातिक सांसद थिइन् ।

नेकपा (एकीकृत समाजवादी) बाट मुख्यमन्त्री बनेका राजेन्द्रकुमार राई प्रतिनिधिसभामा जाने इच्छा हुँदाहुँदै पनि प्रदेशमै दोहोरिएका छन् । २०७४ को प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा एमालेबाट निर्वाचित भएका राई भोजपुर–१ (१) बाटै उम्मेदवार बनेका हुन् । 

त्यस्तै इलाम–१ को (२) बाट खिनु लङ्वा लिम्बु, मोरङ–१ को (२) बाट उपेन्द्र प्रसाद घिमिरे र संखुवासभा (२) बाट सरिता थापा उम्मेदवार बनेका छन् । इलामकी लिम्बु र मोरङका घिमिरे वर्तमान सरकारका मन्त्री पदमै बहाल छन् । समानुपातिक सांसद रहेकी थापा प्रदेशसभाको सामाजिक विकास समितिको सभापति भएर पाँच बर्ष गुजारेकी छन् । उनले यसपटक प्रत्यक्षतर्फ चुनाव लड्न लागेकी हुन् ।

दुई मुख्यमन्त्री प्रदेशबाट संघमा
प्रदेश १ का दुई मुख्यमन्त्री र दुई मन्त्री प्रतिनिधिसभा सदस्यको चुनावी मैदानमा उत्रिएका छन् । संघीयता कार्यान्वयनपछिको पहिलो मुख्यमन्त्री बनेका एमाले स्थायी कमिटी सदस्य शेरधन राई र दोस्रो मुख्यमन्त्री भीम आचार्य संघमा गएका हुन् ।

राई भोजपुरबाट चुनाव लड्दैछन् । उनी अघिल्लो पटक बाम गठबन्धनबाट निर्वाचित भएका माओवादी केन्द्रका सुदन किराँतीसँग भिड्दैछन् । आचार्य भने सुनसरी–२ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका हुन् । सुनसरी–१ को प्रदेशसभा (२) बाट निर्वाचित भएका आचार्यले कांग्रेसका सिताराम मेहतासँगको भिड्न तय गरेका हुन् ।

दुई मुख्यमन्त्री बाहेक सुनसरीकै जगदीश प्रसाद कुसियैत र खोटाङका रामकुमार राई पनि प्रतिनिधिसभाको भिडन्तमा उत्रिएका छन् । यसअघि सुनसरी–४ (१) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका कुसियैत क्षेत्र नं. ४ बाटै भिड्दैछन् । प्रदेश १ को उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री भइसकेका कुसियैत र संघीय सरकारका सूचना प्रविधि तथा संचारमन्त्री समेत रहेका कांग्रेस नेता ज्ञानेन्द्र बहादुर कार्कीबीच टक्कर हुने भएको छ ।

खोटाङ (२) बाट प्रदेशसभा सदस्य निर्वाचित भएका माओवादीका रामकुमार राई अहिले प्रदेश सरकारकै खानेपानी तथा सिंचाई मन्त्री छन् । उनले नेकपा एमालेका नेता एवं सोही क्षेत्रबाट निर्वाचित भएका निवर्तमान प्रतिनिधिसभा सदस्य विशाल भट्टराईसँग भिड्ने निश्चित गरेका हुन् ।
 


Author

बाबुराम भण्डारी

भण्डारी इकागजका कोशी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x