प्रदेश-१ का अधिकांश जिल्लामा सत्ता गठबन्धनबाट बागी उम्मेदवार (नामसहित)
विराटनगर- सत्ता गठबन्धनसम्बद्ध दलहरूले आकांक्षीहरूको व्यवस्थापन गर्न नसक्दा प्रदेश १ मा गठबन्धन दलबाटै उम्मेदवारी दिने बागीहरूको लर्को देखिएको छ । मोरङ, सुनसरी, झापा, खोटाङ, उदयपुर, पाँचथुर, ताप्लेजुङ र तेह्रथुमलगायतका जिल्लामा बागी उम्मेदवारी परेको जनाइएको छ ।
यी जिल्लामा ३० जनाभन्दा बढीले टिकट वितरणमा असन्तुष्टि जनाउँदै प्रतिनिधि र प्रदेशसभातर्फ गठबन्धनका उम्मेदवारविरुद्ध स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन् । ठूलो संख्यामा बागी उम्मेदवारी परेपछि गठबन्धनमा असन्तुष्टहरूको व्यवस्थापन गर्नु चुनौतिपूर्ण भएको हो ।
सुनसरीको चार वटा संघीय निर्वाचन क्षेत्रमध्ये सुनसरी–३ मा विजयकुमार गच्छदारविरुद्ध लामो समयदेखि उनै निकट रहेका प्रदिप चौधरीले स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन् । गत स्थानीय चुनावमा दुवरी नगरपालिकाको मेयरका आकांक्षी रहेका चौधरीलाई गच्छदारले प्रदेशसभामा टिकट दिने शर्तमा ‘ब्याक’ गराएका थिए । तर अहिले पनि टिकट नपाएको भन्दै गच्छदारविरुद्ध नै स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।
सुनसरीको क्षेत्र नं. २ (१) मा एमालेबाट भर्खरै माओवादीमा प्रवेश गरेका इटहरीका पूर्वमेयर द्वारिकलाल चौधरीविरुद्ध कांग्रेसका दिपेन्द्र घिमिरे र बद्री नारायण चौधरीले उम्मेदवारी दिएका छन् ।
गत स्थानीय तह निर्वाचनमा माओवादीले एउटा पनि सिट नजितेको इटहरीबाट गठबन्धनका नाममा माओवादीलाई सिट दिइएको भन्दै उनीहरूले उम्मेदवारी दिएका हुन् । संविधानसभा सदस्यमा समेत उठेका कांग्रेसका बद्री नारायण हाल महाधिवेशन प्रतिनिधि हुन् । घिमिरे भने इटहरी–२ को कांग्रेसका वडा सभापति रहेका छन् ।
६ वटा प्रतिनिधिसभा र १२ प्रदेशसभा क्षेत्र रहेको मोरङमा क्षेत्र नं. २, ३, ४ र ६ मा गठबन्धनभित्रै बागी उम्मेदवार छन् । मोरङमा क्षेत्र नम्बर ६ (२) मा कांग्रेस प्रदेश समिति गोपालप्रसाद रेग्मी कांग्रेसकै केदार कार्कीविरुद्ध बागी उठेका छन् । कांग्रेसकै प्रदेश समिति सदस्य रहेका जनार्दन राम निरौलाले सोही क्षेत्रमा नेपाली कांग्रेस बिपीबाट उम्मेदवारी दर्ता गरेका छन् । क्षेत्र नं. ६ (२) मै गठबन्धनका कार्कीविरुद्ध नेकपा (एस) का विद्यार्थी नेता वसिम आलमले पार्टी अध्यक्ष माधव नेपालकै हस्ताक्षर रहेको टिकट समावेश गरेर उम्मेदवारी दिएका छन् ।
क्षेत्र नम्बर ४ मा कांग्रेसका नविन खवासले गठबन्धनबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका माओवादी केन्द्रका अमनलाल मोदीविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका छन् । कांग्रेसको क्षेत्रीय कमिटीका उपसचिव रहेका खवासले कांग्रेसको बलियो जनाधार भएको क्षेत्रलाई गठबन्धनका नाममा माओवादीलाई दिइएको भन्दै पदबाट राजीनामा गरेर उम्मेदवारी दिएका हुन् ।
मोरङ–२ (१) का गठबन्धनका प्रदेशसभा सदस्यका उम्मेदवार गणेश उप्रेतिविरुद्ध कांग्रेसका फडिन्द्र थापाले स्वतन्त्र उम्मेदवारी दिएका छन् । कांग्रेसकै शमशेर कार्की पनि क्षेत्र नं. २ (१) मै स्वतन्त्र उम्मेदवार बनेका छन् ।
मोरङ–३ मा नेपाली कांग्रेसका गणेशप्रसाद पोखरेल र महाधिवेशन प्रतिनिधि जयराज संयोगको स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन् । उनीहरूले कांग्रेसबाटै प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका नोवेल मेडिकल कलेजका सञ्चालक सुनिल शर्माविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।
मोरङ–३ (२) मा माओवादी केन्द्रका प्रदेश सदस्य तिलकप्रसाद राईले स्वतन्त्र उम्मेदवारी दिएका छन् । उनले गठबन्धनबाट उम्मेदवार बनेका नेकपा (एस)का लक्ष्मीकुमार श्रेष्ठविरुद्ध उम्मेदवारी दिएका हुन् ।
कांग्रेसका नन्दु सरदारले क्षेत्र नं. ४ (१) का कांग्रेस उम्मेदवार गुरुराज घिमिरेविरुद्धमा बागी उम्मेदवारी दिएका छन् । पूर्व महासमिति सदस्य सरदारले गठबन्धनबाट उम्मेदवार बनेका घिमिरेविरुद्ध उम्मेदवारी दिएका हुन् ।
मोरङ–४ (२) मा महेश रेग्मीले गठबन्धनबाट कांग्रेसका उम्मेदवार भीम पराजुलीविरुद्ध उम्मेदवारी दर्ता गरेका छन् । नेकपा (एस) का पोलिटव्यूरो सदस्य रहेका रेग्मीले आफु आधिकारिक उम्मेदवार भएको दाबी गर्दै उम्मेदवारी दर्ता गरेका हुन् ।
मोरङ–५ मा कांग्रेसका क्रियाशिल युवा सलिम अन्सारी (मो.रेजा हुसैन) ले प्रतिनिधिसभामा स्वतन्त्र उम्मेदवारी दिएका छन् । गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार शिवकुमार मण्डलविरुद्ध उनले उम्मेदवारी दिएका हुन् ।
पाँच क्षेत्र रहेको झापाको क्षेत्र नम्बर २ मा मनोनयन दर्ताको अघिल्लो रात एमालेबाट माओवादी केन्द्र प्रवेश गरेर प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका हरि राना मगरविरुद्ध कांग्रेसका कुमार भट्टराईले उम्मेदवारी दिएका छन् । उनी विर्तामोड उद्योग वाणिज्य संघको पूर्व अधयक्षसमेत हुन् । गठबन्धनबाट माओवादीको भागमा परेको झापा–२ बाट केन्द्रीय नेतृ एवं संविधानसभा सदस्य धर्मशिला चापागाँई उम्मेदवार बन्ने तयारीमा थिइन् । तर चापागाँईको टिकट खोसेर एमालेबाट प्रवेश गरेका रानालाई माओवादीले उम्मेदवार बनाएको छ ।
झापा–५ मा माओवादीकी सुलोचना राजवंशीले प्रतिनिधिसभामा स्वतन्त्र उम्मेदवारी दिएकी छन् । माओवादीकी गौरदहको नगर कमिटीकी पूर्व उपाध्यक्ष राजवंशीले गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेसका डा.खगेन्द्र अधिकारीविरुद्ध उम्मेदवारी दिएकी हुन् ।
झापा–२ को प्रदेशसभा (२) मा माओवादीबाट उम्मेदवार बनेका गगन पुरीविरुद्ध कांग्रेसका राजन चापागाँईले उम्मेदवारी दिएका छन् ।
झापा–१ को प्रदेश क्षेत्र (२) मा माओवादीका उम्मेदवार श्यामवीर लिम्बुविरुद्ध माओवादीकै राजन चिमरियाले बागी उम्मेदवारी दर्ता गरेका छन् । माओवादीको मेची नगर अध्यक्ष चिमरियाले स्वतन्त्र उम्मेदवारी दिएका हुन् । चिमरिया माओवादीका इमान्दार र शालिन व्यक्तित्वका रुपमा चिनिन्छन् ।
खोटाङमा सत्ता गठबन्धनविरुद्ध कांग्रेस नेता सर्वधन राई, सुवाशकुमार पोखरेल र धर्मराज पोखरेलले बागी उम्मेदवारी दर्ता गरेका छन् । जिल्लाका नेताहरूको अपमान हुने गरी केन्द्रले टिकट वितरण गरेको भन्दै माओवादी केन्द्रबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार रहेका रामकुमार राईविरुद्ध उम्मेदवारी दिएका हुन् । कांग्रेसबाट पर्यटन राज्यमन्त्री भइसकेका राईले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
गठबन्धनबाटै प्रदेशसभाको क्षेत्र (१) मा उम्मेदवारी दिएका नेकपा (एस) का वीरबलकाजी राईविरुद्ध पोखरेलले उम्मेदवारी दिएका छन् । कांग्रेस महाधिवेशन प्रतिनिधि पोखरेलले पनि स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।
महाधिवेशन प्रतिनिधि धर्मराज पोखरेलले पनि प्रदेशसभाको सोही क्षेत्रमा स्वतन्त्र उम्मेदवारी दिएका छन् । उनले कांग्रेसको जनमत भएको जिल्लामा नेकपा (एस) लाई टिकट दिएको भन्दै जिल्ला समितिको निर्णय बमोजिम उम्मेदवारी दिएको प्रतिक्रिया दिएका छन् ।
उदयपुरको क्षेत्र नं. २ मा गठबन्धनबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका नेकपा (एस)का केन्द्रीय उपमहासचिव जगन्नाथ खतिवडाविरुद्ध कांग्रेसका रामकुमार राईले उम्मेदवारी दर्ता गरेका छन् । गठबन्धनले खतिवडालाई उम्मेदवार बनाएकोमा विरोधमा उत्रिएका राईले स्वतन्त्र उम्मेदवारी दिएका हुन् । माओवादी केन्द्रको सिट सुनिश्चित भइसकेको उक्त क्षेत्रमा खतिवडाले पार्टी अध्यक्ष माधव नेपालको अडानमा टिकट पाएका हुन् ।
उदयपुरको प्रदेशसभा २ (२) मा नेपाली कांग्रेसका उम्मेदवार रामकुमार खत्रीविरुद्ध माओवादी केन्द्रका युवा नेता हेमराज दाहालले उम्मेदवारी दर्ता गरेका छन् ।
यस्तै क्षेत्र नम्बर १ को प्रदेशसभा (१) मा गठबन्धनतर्फ माओवादी केन्द्रबाट उम्मेदवार बनेका राजन किराँतीविरुद्ध कांग्रेसका जयप्रसाद सुवेदीले उम्मेदवारी दिएका छन् । कांग्रेसका पुराना कार्यकर्ता सुवेदीले स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।
पाँचथरमा कांग्रेस र माओवादीसहितको सत्ता गठबन्धनविरुद्ध जिल्लास्तरका नेताहरूले नै विद्रोह गर्दै उम्मेदवारी दिएका छन् । माओवादी केन्द्रका बालकृष्ण काफ्लेले कांग्रेसबाट प्रतिनिधिसभाका उम्मेदवार रहेका कांग्रेस केन्द्रीय सहमहामन्त्री भीष्मराज आङदेम्बेविरुद्ध उम्मेदवारी दिएका छन् ।
सिट बाँडफाँटमा असन्तुष्टि जनाउँदै आएका फालेलुङ गाउँपालिका निर्वतमान अध्यक्ष सञ्चकुमार केरुङले पाँचथरको प्रदेशसभा (१) मा स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
गठबन्धन गर्दा नेकपा (एस) को भागमा परेको पाँचथर (१) मा समाजवादीका अध्यक्ष कमलप्रसाद जवेगु उम्मेदवार बनेका छन् । जगेवुले उम्मेदवारी दिएलगत्तै कांग्रेसका नेता केरुङले पनि स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।
पाँचथरकै प्रदेशसभा (२) मा कांग्रेसका पुराना नेता खड्गसुन्दर लावतीले उम्मेदवारी दिएका छन् । लावति कांग्रेसको प्रदेश सभा (२) का क्षेत्रीय सभापति तथा प्रदेशसभाकी समानुपातिक उम्मेदवार मैयाँ श्रेष्ठका ससुरा हुन् । उक्त क्षेत्रमा माओवादी केन्द्रका नेता तथा प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बो गठबन्धनबाट उम्मेदवार बनेका छन् । स्वतन्त्र उम्मेदवार बनेका लावतीले गठबन्धनका नाममा पार्टीमा त्याग गरेका नेता कार्यकर्तामाथि अपमान भएको आरोप लगाएका छन् ।
एक निर्वाचन क्षेत्र रहेको ताप्लेजुङमा प्रतिनिधिसभातर्फ दुई स्वतन्त्रसहित ११ जनाले उम्मेदवारी दर्ता गरेका छन् । लिम्बूवान आन्दोलनका नेता सञ्जुहाङ पालुङ्वा र हरिप्रसाद बरालले स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।
प्रतिनिधिसभामा एमालेबाट केन्द्रीय कमिटी सचिव तथा निवर्तमान सांसद योगेशकुमार भट्टराई र गठबन्धनबाट माओवादी केन्द्रका केन्द्रीय सदस्य खेलप्रसाद बुढाक्षेत्रीबीच मुख्य प्रतिष्पर्धा हुने जनाइएको छ ।
सत्ता गठबन्धनबाट ताप्लेजुङको प्रदेशसभाका दुई क्षेत्र कांग्रेस र नेकपा (एस) को भागमा छ । तर दुवै क्षेत्रमा गठबन्धनबाटै बागी उम्मेदवारी दर्ता भएका छन् । क्षेत्र नम्बर (१) मा कांग्रेस र नेकपा (एस) ले छुट्टाछुट्टै उम्मेदवारी दिएका छन् । गठबन्धनका आधिकारिक उम्मेदवार रहेका नेकपा (एस) का ताप्लेजुङ इञ्चार्ज खेमबहादुर वनेमविरुद्ध कांग्रेसका जिल्ला सभापति गजेन्द्रप्रसाद तुम्याहाङले उम्मेदवारी दिएका हुन् । सोही प्रदेशसभा क्षेत्रमा कांग्रेसकै महाधिवेशन प्रतिनिधि टीकाराम गुरुङ र प्रदेश समिति सदस्य मीनाकुमारी गुरुङले समेत नेकपा (एस) का उम्मेदवारविरुद्ध स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।
तेह्रथुममा पनि प्रदेशसभातर्फ दुवै क्षेत्रमा गठबन्धन दलकै नेताहरूले बागी उम्मेदवारी दिएका छन् । प्रदेशसभा (१) मा कांग्रेसका सन्तोष निंलेखुका विरुद्ध नेकपा (एस) का कृष्ण चोम्वाङले बागी हालेका छन् ।
त्यस्तै प्रदेशसभा क्षेत्र (२) मा पनि नेकपा (एस) का शिवनाथ खापुङले माओवादीका दुर्गाप्रसाद चापागाँईविरुद्ध स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन् । निर्वाचन कार्यतालिका अनुसार बुधबार अपरान्ह १ बजेसम्म नाम फिर्ता लिन चाहने उम्मेदवारले फिर्ता लिनुपर्ने छ । तोकिएको समयमा नाम फिर्ता नलिनेको नामसहित निर्वाचन आयोगले बुधबार नै अन्तिम नामावलीमा प्रकाशन गरेर चुनाव चिन्ह समेत दिने कार्यक्रम छ । उम्मेदवारले चुनाव चिन्ह पाएपछि आयोगले मतपत्र छापेर जिल्ला जिल्ला पठाउने छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया