कोशी

मोरङका २२६ उम्मेदवारमध्ये ११ जनाले गरे उम्मेदवारी फिर्ता

बाबुराम भण्डारी |
असोज २६, २०७९ बुधबार १७:३९ बजे

विराटनगर । ६ वटा प्रतिनिधिसभा र १२ प्रदेशसभा क्षेत्रमा २२६ जनाले मनोनयन दर्ता गरेको मोरङमा ११ जनाले मात्रै उम्मेदवारी फिर्ता लिएका छन् । प्रतिनिधिसभातर्फ दुई स्वतन्त्रसहित ३ जना र प्रदेशसभाका ६ स्वतन्त्रसहित ८ जनाले उम्मेदवारी फिर्ता लिएको प्रदेश निर्वाचन कार्यालय विराटनगरले जनाएको छ ।

प्रतिनिधिसभातर्फ क्षेत्र नं. १ मा स्वतन्त्र उम्मेदवार सुजता थापा, क्षेत्र नं. ४ मा गोकुलप्रसाद पोखरेल र क्षेत्र नं. ६ मा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का राजु मण्डल राजवंशीले उम्मेदवारी फिर्ता लिएका छन् । राजवंशीको उम्मेदवारी फिर्ता गराउन लोसपा मोरङका अध्यक्ष मोहम्मद कादिर आफैं सक्रिय बनेका थिए । जिल्लाका १२ वटा प्रदेशसभा क्षेत्रहरु मध्ये क्षेत्र नं. (१) तर्फ कुनैपनि उम्मेदवारले उम्मेदवारी फिर्ता लिएनन् । प्रदेशसभामा उम्मेदवारी फिर्ता लिने सवै उम्मेदवार प्रदेशसभातर्फ क्षेत्र नं. (२) मा मात्रै छन् ।


प्रदेशसभामा मोरङ १ (२) मा एमालेका बागी उम्मेदवार डिल्ली शर्मा अधिकारीले उम्मेदवारी फिर्ता लिएका छन् । क्षेत्र नं. ३ (२) माओवादी केन्द्रबाट स्वतन्त्र उम्मेदवारी दिएका तिलकप्रसाद राई र अर्का स्वतन्त्र उम्मेदवार कञ्चनकुमार बुढाथोकीले उम्मेदवारी फिर्ता लिएका हुन् । त्यसैगरी क्षेत्र नं. ४ (२) मा कांग्रेसका उम्मेदवारविरुद्ध गठबन्धनकै दल नेकपा (एस) बाट उम्मेदवारी दिएका महेश रेग्मी उम्मेदवारी फिर्ता लिएका छन् । क्षेत्र नं. ५ (२) मा जसपाबाट भर्खरैमात्र एमाले प्रवेश गरेका भूराज राईले स्वतन्त्र उम्मेदवारी दिएकोमा उनले पनि निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी फिर्ता लिएका हुन् ।

क्षेत्र नं. ६ (२) मा गठबन्धनबाट कांग्रेसका उम्मेदवारविरुद्ध उम्मेदवारी दर्ता गरेका नेकपा (एस) का विद्यार्थी नेता वासिम आलमसहित स्वतन्त्र उम्मेदवारहरु जीवन कुमार गुप्ता र सुरेश कुमार श्रेष्ठले उम्मेदवारी फिर्ता लिएका छन् । श्रेष्ठ कांग्रेसकै सक्रिय नेता हुन् । उक्त क्षेत्रमा कांग्रेसबाट बागी उम्मेदवारी दर्ता गरेका प्रदेश समिति सदस्यहरु गोपाल प्रसाद रेग्मी र जनार्दनराम निरौलाले भने उम्मेदवारी फिर्ता लिएका छैनन् । रेग्मीले स्वतन्त्र उम्मेदवारी दिएका छन् भने निरौलाले नेकपा कांग्रेस (बिपी) बाट मनोनयन दर्ता गरेका थिए । मोरङमा प्रतिनिधिसभातर्फ १०८ र प्रदेशसभामा ११८ जनाको उम्मेदवारी परेको थियो ।

सबैभन्दा धेरै क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा र प्रदेशसभामा गरी जम्मा ५३ जनाले उम्मेदवारी दिएका थिए । जहाँ प्रतिनिधिसभातर्फ कसैले पनि उम्मेदवारी फिर्ता लिएनन् । क्षेत्र नं. ३ मा प्रतिनिधिसभातर्फ स्वतन्त्र उम्मेदवार मात्रै १९ जना छन् । त्यहाँ सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका महासमिति सदस्य रहेका नोवेल मेडिकल कलेज संचालक सुनिल शर्मा र एमालेका स्थायी कमिटी सदस्य एवं पूर्व स्वास्थ्यमन्त्री भानुभक्त ढकाल चुनाव लड्दैछन् ।


Author

बाबुराम भण्डारी

भण्डारी इकागजका कोशी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x