प्रदेश १ मा १३७२ जनामा डेंगु संक्रमण : सबैभन्दा बढी सुनसरीमा
विराटनगरमा डेरावाला बढी संक्रमित
विराटनगर- २०७६ मा एकैपटक ठूलो संख्यामा डेंगु संक्रमण भएयता सुनसरीमा अहिलेसम्म पनि डेंगु नियन्त्रणको प्रयास प्रभावकारी रुपमा नभएको पाइएको छ ।
सुनसरीको धरान उपमहानगरपालिकामा महामारीकै रूपमा डेंगु फैलिँदा करिब पाँच सय बढीमा संक्रमण पुष्टि भएको थियो । त्यसयता प्रदेश १ का १४ जिल्लामध्ये सुनसरीमा डेंगु संक्रमणको संख्या अहिलेसम्म पनि सबैभन्दा उच्च नै रहेको पाइएको छ ।
तीन वर्षअघि लामो प्रयासपछि मात्रै धरानमा नियन्त्रणमा आएको डेंगुको संक्रमण जिल्लाबाटै नियन्त्रण हुन भने अझै नसकेको तथ्यांकले देखाएको छ । प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाका अनुसार पछिल्लो तीन महिनामा प्रदेश १ मा एक हजार ३७२ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । जसमध्ये सुनसरीमा सबैभन्दा धेरै २८० जनामा संक्रमण पुष्टि भएको निर्देशनालयका निर्देशक ज्ञानबहादुर बस्नेतले बताए ।
सुनसरीपछि तेह्रथुममा १८०, खोटाङमा १५७, संखुवासभामा १४४, मोरङमा १३६ जनामा संक्रमण देखिएको तथ्यांक निर्देशनालय मातहतका ४२ वटा स्वास्थ्य संस्थाबाट प्राप्त भएको निर्देशक बस्नेतले बताए । असोज २८ गते शुक्रबारसम्मको तथ्यांकअनुसार धनकुटामा १६६, झापामा ९३, उदयपुरमा ५७, ओखलढुंगामा ५५, पाँचथरमा ४०, ताप्लेजुङमा २०, भोजपुरमा १२, सोलुखुम्बुमा १८ र इलाममा २ जनामा डेंगु पुष्टि भएको जनाइएको छ ।
‘टाइगर मस्क्विटो’ का रूपमा चिनिने एसिड एजिप्टाई/एलबोक्पिट जातको लामखुट्टेले मात्रै सार्न सक्ने भएकाले डेंगुलाई किटजन्य सरुवा रोग भनिएको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको मेडिसिन विभागका एसिस्टेन्ट प्रोफेसर डा.सुरेन्द्रकुमार उरावले बताए ।
उनले जमेको सफा पानीमा यो लामखुट्टेले अण्डा पार्ने भएकाले यसको विकास हुने बासस्थान नष्ट गर्नका लागि सरोकारवाला निकायले बढी चासो दिनुपर्ने जानकारी दिए । संक्रमित व्यक्तिलाई टोकेको लामखुट्टेले अर्को व्यक्तिलाई टोकेपछि मात्रै डेंगु सर्ने भएकाले लामखुट्टे नियन्त्रण अभियानलाई प्रभावकारी बनाउनुपर्नेमा उनले जोड दिए ।
विराटनगरमा डेरावालमा बढी संक्रमण
विराटनगरमा डेरामा बस्ने व्यक्तिहरूलाई डेंगुको बढी संक्रमण भएको तथ्यांक महानगरपालिकाले सार्वजनिक गरेको छ । बढ्दो डेंगु संक्रमणको नियन्त्रणका लागि विराटनगर महानगरपालिकाले आइतबार आयोजना गरेको बहु सरोकारवाला निकायसँगको छलफलमा महानगरका जनस्वास्थ्य महाशाखा प्रमुख हैदर अलीले हालसम्म ९० जनामा संक्रमण देखिएको तथ्यांक प्राप्त गरेको बताए । जसको आधा बढी संक्रमण डेरामा बस्ने व्यक्तिहरूलाई देखिएको उनले जानकारी दिए ।
‘गत भदौ र यो असोज महिनामा ९० वटा केस देखिएको छ । जुन बढ्दो दरमा देखिइरहेको छ,’ अलीले भने, ‘५० प्रतिशत बढी केसमा डेरामा बस्नेहरू सिकार भएका छन् ।’ उनले रातको समयमा झुल लगाएर सुत्न नपाउने पेशामा रहेका श्रमिक, ड्राइभर र बढी आवत–जावत गर्ने पेशामा रहेका संक्रमित व्यक्तिबाट परिवारमा डेंगु सजिलै सर्न सक्ने जानकारी दिए ।
महानगरका डेंगु संक्रमित मध्ये सबैभन्दा बढी १६ देखि ३५ वर्ष उमेरका व्यक्तिहरू रहेको जनाइएको छ । त्यस्तै वडा नं. ३, ४, ५, १०, ११, १४ र १७ नम्बरमा डेंगु बढी देखिएको महानगरपालिकाले जनाएको छ । जनस्वास्थ्य प्रमुख अलीले १९ वटै वडामा वयस्क लामखुट्टे मार्नका लागि ‘फगिङ’ गरिसकेको जानकारी दिए ।
उपभोक्ता जागरण अभियान–नेपालका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद भण्डारी ‘मार्सेली’ ले महानगरपालिकाभित्रका पुराना घोगाहा पैनी र नहर मासेर सडक बनाइएका कारण हिउँद महिनामा पनि पानीको जम्ने समस्या रहेको बताए । उनले अत्याधिक पानी जम्ने वडाहरूमा डेंगुको संक्रमण देखिएको भन्दै पानीको निकास हुने गरी नाला व्यवस्थापन गर्न महानगरपालिकालाई आग्रह गरेका थिए ।
प्रदेश जनस्वास्थ्य प्रयोगशाला विराटनगरका निर्देशक डा.जयवेन्द्र यादवले सरकारी प्रयोगशालाबाहेक निजीस्तरमा संचालित अस्पताल र ल्याबबाट पनि डेंगुको परीक्षण भइरहेकाले महानगरपालिकाले उनीहरूलाई समन्वय गरेर तथ्यांक निकाल्नु पर्ने सुझाव दिएका थिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया