कोशी

प्रचण्डका ज्वाईं जीवन भन्छन्-‘रुखमा भोट नहाल्ने माओवादी त माओवादी नै होइनन्’

बाबुराम भण्डारी |
कात्तिक १२, २०७९ शनिबार १६:१३ बजे

विराटनगर । मोरङको क्षेत्र नम्बर ६ को प्रदेशसभा (क) मा सत्ता गठबन्धनबाट उम्मेदवार बनेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) का कान्छा ज्वाँई जीवन आचार्यले रुखमा भोट नहाल्ने व्यक्ति माओवादी हुनै नसक्ने बताएका छन् । चुनावी अभियानका क्रममा बोल्दै आचार्यले कांग्रेसलाई फकाउने क्रममा विगतमा भएका गल्ती कमजोरीलाई बिर्सिएर अघि बढ्न पनि आग्रह गरेका छन् ।

उनले ससुरा प्रचण्डकै भाषामा अप्ठेरो परेको बेलामा माओवादी र कांग्रेसको गठबन्धन भएको बताएका हुन् । त्यसैको परिणामस्वरुप अहिले कांग्रेसले पनि माओवादीलाई खुसी भएर मत हाल्नुपर्ने अपेक्षा आचार्यले व्यक्त गरेका हुन् । ‘अप्ठेरो परेको बेलामा माओवादी र कांग्रेसकै गठबन्धन भएको छ नि त, त्यसैले तपाईंहरुले खुसी भएर मत हाल्नुपर्यो’ उनले भने, ‘म त के भन्छु भने रुखमा मत नहाल्ने माओवादी त माओवादी नै होइन, यो समाजमा माओवादी भन्ने अनि म त रुखमा भोट हाल्दिन भनेर कल्ले भन्दैछ भनेर तपाईंहरुले ‘वाच’ गरिदिनुपर्यो, निगरानी गर्नुहोला, त्यो सूचना हामीलाई दिनुहोला ।’ उनले आफू चुनावको च्यातिएको जुत्ता र फाटेको लुगा लगाएर भोट नमाग्ने बताए ।


गठबन्धनले उटपट्याङ कुरा गर्ने र लामा भाषण गरेर भोट नमाग्ने उनले बताए । ‘हामी च्यात्तिएका जुत्ता लगाएर फाटेको लुगा लगाएर नाटक गर्न आएका होइनौं, हामी भित्र जे छौं बाहिर त्यै छौं, हामीलाई नाटक गर्नु नै छैन’ उनले भनेका छन् ‘डाक्टर शेखर कोइराला र मेरो एउटा मात्रै मिसन हो यो ठाउँ किन बनेन ? सोचेजस्तो किन बनेन ? विकास निर्माणमा किन अघि बढ्न सकेन ? हामी गम्भीर छौं, चिन्तित छौं ।’

आचार्य सोही निर्वाचन क्षेत्रमा अघिल्लो पटक बाम गठबन्धनबाट पनि उम्मेदवार बनेका थिए । उनी त्यतिबेला कांग्रेसका उम्मेदवार चुमनारायण तबदारसँग पराजित भएका थिए । चुनावमा पराजित भएपनि काठमाडौं केन्द्रीत भएर बसेका आचार्यले फेरि यसपटक उक्त क्षेत्रमा दोहोरिएर उम्मेदवार बनेका हुन् । मोरङ ६ (क) मा नेकपा एमालेकी प्रदेश कमिटी सदस्य रीता न्याैपाने आचार्यविरुद्धको मोर्चामा छिन् । न्यौपाने २०७४ जेठमा सम्पन्न स्थानीय तह निर्वाचनमा बुढीगंगा गाउँपालिकाको उपाध्यक्षमा दोस्रो मत ल्याएर पराजित भएकी थिइन् । आचार्यले यसपटक आफूलाई बिग्रिने छुट नभएको बताएका छन् ।

प्रतिष्पर्धी न्यौपानेप्रति लक्षित गर्दै आचार्यले महिला हुँ भन्दै भोट माग्न आउनेप्रति सजग बन्नुपर्ने भनेका छन् । महिलाको समस्या पुरुषले पनि बुझ्ने उनले दाबी गरे । ‘यहाँ भोट माग्न अनेक किसिमका मान्छेहरु आउँछन्, कोही म महिला हुँ भन्दै आउलान्, वहाँहरुलाई सोधिदिनु जीवन आचार्यले महिलाको निम्ति कति दुःख गरेको छ’ उनले थपे, ‘महिलाको समस्या महिलाले मात्रै बुझ्छन् भन्ने जति अवज्ञानी कुरा कतै हुन सक्छ ? त्यस्ता मान्छेहरु आउन सक्छन् ।’


Author

बाबुराम भण्डारी

भण्डारी इकागजका कोशी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x