कोशी

एमालेबाट माओवादी प्रवेश गरेका सरदारसहित ४५ जनाको नाम बन्द सूचीबाट हट्‌यो

बाबुराम भण्डारी |
कात्तिक १६, २०७९ बुधबार ७:४५ बजे

विराटनगर- नेकपा एमाले त्यागेर नेकपा माओवादी केन्द्रमा प्रवेश गरी प्रदेशसभातर्फको समानुपातिक बन्दसूचीमा परेका बलभद्र सरदार थारुसहित माओवादी केन्द्रका चा रजना उम्मेदवारको नाम बन्दसूचीबाट हटेको छ । निर्वाचनको मुखमा माओवादी प्रवेश गरेका सरदार मोरङको बुढीगंगा गाउँपालिकाको अध्यक्ष पदमा एमालेबाट उम्मेदवार बनेर पराजित भएका थिए । 

निर्वाचन आयोगले तोकेको समयसीमाभित्र निर्वाचन खर्च विवरण नबुझाएपछि प्रदेश १ को प्रदेशसभा सदस्यको समानुपातिकतर्फको बन्दसूचीमा नाम समावेश भएका सरदारसहित ३६ जना र दोहोरो उम्मेदवारी परेका तथा प्रदेश १ मा मतदाता नामावली नभएका गरी जम्मा ४५ जनाको नाम निर्वाचन आयोगले बन्द सूचीबाट हटाएको हो । 


माओवादीले प्रदेश १ बाट बन्दसूचीमा नाम समावेश गरेका ३७ जनामध्ये सरदारसहित रोजिना खातुन, दिलकुमारी लिम्बू आखेवा र सनकसिंह राईको नाम सूचीबाट हटेको हो । स्थानीय तह निर्वाचनमा अध्यक्षमा पराजित भएका सरदार समानुपातिक उम्मेदवार बन्ने सर्तमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमै पुगेर माओवादीमा प्रवेश गरेका थिए । उनलाई माओवादी प्रवेश गराउन मोरङ क्षेत्र नम्बर ६ प्रदेशसभा (१) का सत्ता गठबन्धन उम्मेदवार जीवन आचार्यले पहल गरेका थिए । सरदार गत भदौ १८ गते माओवादीमा प्रवेश गरेका हुन् ।

सर्तअनुसार माओवादीको समानुपातिक सूची परेपनि उनको नाम समानुपातिक बन्द सूचीको ३५ औँ नम्बरमा थारु ‘क्लष्टर’ बाट राखिएको थियो । आयोगले निर्वाचन खर्च विवरण नबुझाउने गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षलाई आयोगले ३ लाख ५० हजार रुपैयाँ जरिवाना तोकेको थियो । जरिवानावापतको रकम नतिरेपछि उनको नाम सूचीबाट हटेको हो ।

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार बन्दसूचीबाट नाम हटेकाहरूमध्ये गत स्थानीय तह निर्वाचन २०७९ मा उम्मेदवार भई खर्च विवरण नबुझाउनेहरू सबैभन्दा धेरै छन् । प्रदेशसभा सदस्य समानुपातिक निर्वाचन प्रणालीतर्फ दलहरूले पेश गरेको बन्दसूचीमा समावेश भएको व्यक्तिले आफूलाई लागेको जरिवानावापतको रकम कात्तिक ५ गतेभित्र बुझाउन समय दिएकोमा उनीहरूबाट जरिवाना असुल उपर नभएका कारण बन्दसूचीबाट नाम हटाएको हो ।

त्यसैगरी खातुन र आखेवा पनि गत स्थानीय तहका उम्मेदवार हुन् । उनीहरूले अन्तिम परिणाम घोषणा भएको ३० दिनभित्र निर्वाचन आयोगमा खर्च विवरण नबुझाएपछि समानुपातिक बन्दसूचीबाट हटेका हुन् । राई भने प्रदेश १ को मतदाता नै नभएको आयोगले जनाएको छ ।

आयोगका अनुसार प्रदेश १ को प्रदेशसभातर्फ समानुपातिक बन्दसूचीमा रहेकाहरूमध्ये जनता समाजवादी पार्टीका ६, लोकतान्त्रिक समाजवादी पार्टीका ६, नेपाल लोकतान्त्रिक पार्टीका ३, राप्रपाका २, जनमत पार्टीका २ सहित विभिन्न दलको बन्दसूचीमा रहेका ४५ जना उम्मेदवारको नाम हटेको छ ।

त्यसैगरी प्रदेशसभाको बन्दसूचीतर्फ मधेस प्रदेशका ८४, बाग्मती प्रदेशका ७१, गण्डकी प्रदेशका २२, लुम्बिनीबाट ७८, कर्णालीका २२ र सूदुरपश्चिम प्रदेशका २५ जना उम्मेदवारको नाम हटेको छ । कसैले खर्च विवरण नबुझाएका, कसैले दोहोरो उम्मेदवारी दिएका, कोही सम्बन्धित प्रदेशको मतदाता नै नभएका र कोही उमेर नपुगेका व्यक्तिहरू बन्दसूचीमा परेकाले आयोगले उनीहरूको नाम हटाएको जनाइएको छ ।


Author

बाबुराम भण्डारी

भण्डारी इकागजका कोशी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x