कोशी

बेलका र चौदण्डीगढीमा नमुना मतदान सम्पन्न

इकागज |
कात्तिक १६, २०७९ बुधबार १८:३८ बजे

उदयपुर- जिल्ला निर्वाचन कार्यालय उदयपुरको आयोजनामा जिल्लाको बेलका नगरपालिका र चौदण्डीगढी नगरपालिकामा नमुना मतदान सम्पन्न भएको छ ।

निर्वाचन आयोग नेपालको कार्यक्रम अनुसार जिल्ला निर्वाचन कार्यालय उदयपुरले आगामी ४ मंसिरमा हुने संघ तथा प्रदेश सभा निर्वाचनमा बदर मत कम गर्ने उद्देश्यले बुधबार नमुना मतदान गरेको हो ।


जिल्लाको बेलका र चौदण्डीगढी नगरपालिकाको प्रशासकीय भवन परिसरमा नमुना मतदान गरिएको जिल्ला निर्वाचन कार्यालय उदयपुरका प्रमुख खेमराज कोइरालाले जानकारी दिए ।

बेलका र चौदण्डीगढी नगरपालिकाका मेयर, उपमेयर, कर्मचारी, सेवाग्राहीसहित निर्वाचन आयोगले यसपटक प्रदान गरेको सुविधाअनुसार निर्वाचनमा खटिने सुरक्षाकर्मी र कर्मचारीले प्रतिनिधि सभा तर्फको समानुपातिक तर्फ मत खसालेर नमुना मतदान कार्यक्रम सम्पन्न गरिएको थियो ।

नमुना मतदान कार्यक्रम अन्तर्गत बेलका नगरपालिकामा ५८ मत खसेकोमा ८ मत बदर भएको थियो भने चौदण्डीगढी नगरपालिका पनि ५७ मत खसेकोमा ६ मत बदर भएको थियो ।

नमुना मतदान कार्यक्रममा सहभागी भएका मतदाताले पटक-पटक मतदान गर्नुपर्ने भन्दै केही झन्झटिलो रहेको बताए भने केही सहभागीले नमुना मतदानबाट धेरै कुरा सिकेको र उक्त कुरा गाउँ-गाउँमा अन्य मतदातालाई सिकाउन सकिने भएको प्रतिक्रिया दिएका छन् ।​

बुधबारबाट सुरु गरिएको नमुना मतदान जिल्लाका सबै पालिकामा गरिने बताइएको छ। बुधबार भएको नमुना मतदानमा १०% भन्दा बढी मत बदर हुनु खुसीको कुरा नरहेको भन्दै यसलाई कम गर्न पनि जिल्लाका सबै पालिकामा नमुना मतदान गर्नुपर्ने जिल्ला निर्वाचन कार्यालय उदयपुरका प्रमुख खेमराज कोइराला जानकारी दिए ।

नमुना मतदानका सबै विधि र प्रक्रियाहरू अवलम्बन गर्ने गरिन्छ । यो निर्वाचनमा जिल्लाका सबै ८ वटै पालिकामा नमुना मतदान हुँदै छ । जिल्लामा कूल दुई लाख २८ हजार ९ सय ४६ मतदाता छन् । चार नगरपालिका र चार गाउँपालिका रहेको जिल्लामा कूल एक सय १ मतदान स्थल छन् भने दुई सय ६४ मतदान केन्द्र रहेको जिल्ला निर्वाचन कार्यालय उदयपुर जनाएको छ । 


Author

थप समाचार
x