कोशी

मोरङ ३  मा चुनावी चर्चा

के शर्मा र ढकालको विकल्प बन्दैछिन् रेखा ?

मतदातालाई भनिन्– ‘तपाईंको पार्टी र नेता शुद्धिकरण गर्ने हो भने मलाई भोट हाल्नुपर्छ’

बाबुराम भण्डारी |
कात्तिक १९, २०७९ शनिबार १७:५४ बजे

विराटनगर । बेलबारी–९ डाँगीहाट बजारमा भर्खरै स्थापना गरिएको सत्ता गठबन्धनको सम्पर्क कार्यालय अगाडि राखिएका एक दर्जन प्लाष्टिकका कुर्सी खाली थिए । सम्पर्क कार्यालय खोलेर हिंडेका मेडिकल कलेज व्यवसायी तथा क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार सुनिल शर्मा नौ सदस्यीय सचिवालयसहित चुनावी प्रचारमा पथरी शनिश्चरे नगरपालिकाका वडाहरुतिर घुम्दै थिए ।

त्यो सम्पर्क कार्यालय छेउमै रहेका २६ वर्षीय युवा जो चिया नास्ता बेच्दै बसेका थिए, उनले भने उम्मेदवार नै थाहा नभएको बताए । ‘खै को–को छन् हौ यसपालि त, राम्रोसँग थाहै भएको छैन’ उनको अनविज्ञतालाई ‘क्रसचेक’ गर्ने क्रममा फेरि सोधिएको अर्को प्रश्नमा उनले भने, ‘अस्ति रेखा थापा आउँदा चैं ठूलो भिड लागेको थियो।’


कांग्रेसका उम्मेदवार शर्माकै घर भएको बाटो बेलबारी–४ शान्तिचोकको पिचबाटो पारीपारी एमालेका प्रतिनिधिसभा सदस्य उम्मेदवार भानुभक्त ढकाल र त्यस क्षेत्रका प्रदेशसभा सदस्यका उम्मेदवार ज्ञानेन्द्र सुवेदी सँगै उपस्थित भएर भोट माग्दै थिए । बामपन्थी मतका लागि विगतको भन्दा सुधारिएको क्षेत्रका रुपमा एमालेले लिंदै आएको क्षेत्र नं. ३ मा ढकाल र सुवेदीका पछाडि हिंड्ने नेता कार्यकर्ताहरुको संख्या खासै उल्लेख्य थिएन । त्यसको कारण भने निर्वाचन आचारसंहिता भएको एमालेका कार्यकर्ताहरुले प्रष्टिकरण दिए । 

ढकालले भोट मागिसकेका घरका मतदातालाई सोध्दा भने विगतमा जितेर गएपछि ढकाल गाउँ नै नफर्किएको भन्दै रुष्ट देखिन्थे । अघिल्लोपटक एमालेलाई नै भोट हालेको बताउने शान्तिचोककी ६८ वर्षीया महिलाले यसपटक चै एकपटकका लागि रेखा थापालाई भोट हाल्ने बताइन् ।

६८ वर्ष टेकेका बेलबारी–८ बलुवाहीका सुविदार राजवंशीले पनि रेखा थापालाई नै भोट हाल्ने बताए । विगतदेखि कांग्रेसलाई भोट हालेपनि दलहरुको बानी बेहोरा ठिक नभएको र आफूले पनि इच्छ्याएको व्यक्तिलाई भोट हालेर आफ्नो इच्छाको ‘गठबन्धन’ गर्ने सुनाए ।

‘कांग्रेसले गाउँका क्रियाशील कार्यकर्ताहरुलाई गोठालो बनाएको छ, को–को सँग मिलेको छ, गठबन्धन गरेको छ’ सुविदार राजवंशीले भने, ‘अब हामी पनि गठबन्धन जस्तै गरेर भोट हाल्ने हो, हामीलाई पार्टीको भर छैन, अब पार्टीलाई पनि हाम्रो भर हुँदैन ।’

६ पुस्तादेखि एउटै ठाउँमा बस्दै आएका उनीसहित त्यहाँका ‘बंगा राजवंशी’ समुदायका धेरैले आफ्नो घर अगाडिको बाटो राम्रो नभएको, किसानले बेलामा मलजल नभेटेको, जग्गावाला सुकुम्बासीले पूर्जा नपाएको समस्या समाधान हुनुपर्ने बताएका थिए । आफ्ना समस्याहरु सुन्नका लागि अहिलेसम्म रेखा थापा मात्रै आएको र नयाँ भएकोले यसपटक उनैलाई भोट दिने मनस्थिति बनाएको उनले सुनाए । 

ढकाल र शर्माबीचको प्रतिस्पर्धालाई तोड्ने भन्दै मोरङस्थित जन्मथलोमा भोट माग्न होमिएकी चलचित्रकर्मी रेखा थापाले क्षेत्र नम्बर–३ का मतदाता फकाउने क्रममा मत परिवर्तन गर्नुपर्ने बताउँदै थिइन् । कानेपोखरी–४ माझीटोलमा कोणसभामा बोल्दै गरेकी थापाले आफू हरेक उम्मेदवारहरुभन्दा राम्रो विकल्पको रुपमा अगाडि बताइन् । आफ्ना कुरा सुन्न उपस्थित भएका स्थानीय मतदाताहरुलाई उनले भनिन्, ‘तपाईंहरु मध्ये कोही एमाले, कांग्रेस र माओवादीप्रति आस्था राख्नुहुन्छ होला, तपाईंको पार्टी कहिं हराउँदैन, तपार्इंको पार्टी खराब छैन, नेतृत्व गर्ने खराब छन्, तपाईंका पार्टी र नेतालाई शुुद्धिकरण गर्ने हो भने यो पटक मलाई भोट हाल्नुपर्छ।’

उनले त्यसो भनेकोमा ४१ वर्षीय अम्बर बहादुर धिमालले समर्थन जनाए । धान काट्ने चटारो भएको बेलामा टोलमा रेखा थापा आउने सुनेर धान काट्नै छाडेर घर फर्किएको उनले सुनाए । 

‘१० कठ्ठाको बाली हो, अरु चैं खेतमै धान काट्दैछन्, रेखा थापा नै आउने भनेपछि धान काट्न छाडेर कुरा सुन्न आएको हो’ उनले भने, ‘सेल्फी पनि खिंचे, भरेतिर टिकटक हाल्छु, भोट पनि रेखालाई नै हाल्छु ।’

मोरङ–३ मा रेखाको प्रवेशलाई सुरुमा सामान्य रुपमा हेरिएपनि उनको चुनावी माहौल कमजोर देखिएको छैन । बरु ठूला दलका ‘ब्राण्डेड’ उम्मेदवारहरुलाई उनले दिने ‘फिल्मी टक्कर’ निकै महंगो पर्ने देखाएको छ । सत्ता गठबन्धनका उम्मेदवार शर्माले थापालाई सेल्फी खिचाएर भोट नआउने र बढीमा ३ हजार मत ल्याउने भन्दै जवाफ दिइरहेका छन् । एमालेका उम्मेदवार ढकालसँगै आफ्नो पहिलो प्रतिष्पर्धा भएको बताए । शर्माले आफू पनि स्थानीय भएको दाबी गरिरहेका छन् । उनले आफूलाई भोट दिन्न भन्ने मान्छे नै नभेटेको बताए । 

‘हामीलाई हलो (रेखा थापा) को चुनौति देखिंदैन, रेखा जी फिल्मी सेक्टरबाट आउनु भएको छ, फोटोसोटो खिचाउन साथीहरु जान्छन्’ शर्माले भने, ‘यो पटक वहाँले बलियो संगठन बनाउनु हुन्छ, एक नम्बरमा चैं हामी नै छौं ।’

अघिल्लो निर्वाचनमा ४२ हजार ४१३ मत पाएर कांग्रेसका शर्मालाई नै हराएका एमाले स्थायी कमिटी सदस्य ढकालले पनि आफू चुनाव नहार्ने बताए । उनले एमाले यो क्षेत्रमा कमजोर नभएको भन्दै कांग्रेसका शर्मा र राप्रपाकी थापालाई गैरराजनीतिक पृष्ठभूमिका उम्मेदवार भएको बताए । 

‘यो बिषयलाई मतदातालाई निक्कै मजाले छुट्याएर हेर्नेछन्, समाजमा कायम भएको छवि, पार्टीभित्रको बिक्ने बोलीलाई पनि चुनावका बेलामा जनताले मुल्यांकन गर्छन्’ शर्माप्रति लक्षित गर्दै ढकालले भने, ‘सँधैभरी चुनावमा धन बिक्दैन, रमझम गर्नेहरुका लागि मात्रै सहयोग पुर्‍याउँछ ।’ 

ढकालले क्षेत्र नम्बर ३ कै एउटा पालिका सुन्दरहरैंचामा अघिल्लो स्थानीय तहको निर्वाचनमा कांग्रेस, माओवादी र एमाले एक्लाएक्लै लडेको बेलामा मेयर हारेको तर गत स्थानीय निर्वाचनमा गठबन्धन सिँगै लाग्दा पनि एमालेले जितेको कुरालाई नबिर्सिन आग्रह गरे । 
 


Author

बाबुराम भण्डारी

भण्डारी इकागजका कोशी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x