कोशी

डा. शेखरलाई मतदाताको शर्त, जिताएर पठाउँछौं त्यसपछि हाम्रो नागरिकता बनाइदिनुहुन्छ नि ?

इकागज |
कात्तिक २०, २०७९ आइतबार १४:११ बजे

विराटनगर। मोरङ ६ का मतदाताले कांग्रेस नेता नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालालाई भोट दिएर जिताएबापत आफ्ना छ‍ाेराछोरीहरुलाई नागरिकता बनाईदिनुपर्ने शर्त राखेका छन्।

कोइरालाले नेकपा एमालेका कारण हजारौं युवा नागरिकता विहीन हुनु परेको आरोप लगाएका छन् । नेता कोइरालाले संसदबाट पारित गरेर पठाएको नागरिकता विधेयक एमालेको निर्देशनमा राष्ट्रपति विद्यादेवी भण्डारीले स्वीकृत नगरेको दाबी गरे । “नागरिकता विधेयक पास नहुँदा हजारौं युवा नागरिकताविहीन भएका छन्,” कोइरालाले भने, “जसका कारण उनीहरुले बैंकमा खाता खोल्न पाएका छैनन्, पासपोर्ट बनाउन पाएका छैनन् । लोकसेवा भिडेर जागिर खान पाएका छैनन् ।”


कोइरालाले सदनबाट दुईपटक पास गरेर पठाएको नागरिकता विधेयक पास नगरेर राष्ट्रपतिले संविधानको उल्लंघन गरेको आरोप लगाए । नेता कोइरालाले भने, “संसदले पास गरेको विधेयक राष्ट्रपतिको प्रमाणीकरण गर्ने काम मात्रै हो, फिर्ता पठाउन र अस्वीकृत गर्ने अधिकार राष्ट्रपतिलाई छैन ।” कोइरालाले राष्ट्रपति साझा हुन नसकेको समेत आरोप लगाए। उनले राष्ट्रपतिकै कारण पटक–पटक संविधानमाथि प्रहार भएको जिकिर गरे ।

संसद भंग गर्नेदेखि नागरिकता विधेयक फिर्ता गर्नेसम्म आइपुग्दा राष्ट्रपतिले संविधान च्यात्ने काम गरेको उनको भनाइ थियो । नेता कोइरालाले आगामी मंसिर ४ पछि कांग्रेसको नेतृत्वमा गठबन्धनको सरकार बन्ने दाबी गरे। उनले गठबन्धनको सरकारले नागरिकता विधेयक पास गर्ने प्रस्ट पारे । “मंसिर ४ को निर्वाचनपछि कांग्रेसको नेतृत्वमा गठबन्धनको सरकार बन्छ,” उनले थपे, “त्यसपछि नागरिकता विधेयक पास हुन्छ र त्यसपछि नागरिकता समस्या समाधान हुन्छ ।”


Author

थप समाचार
x