कोशी

उदयपुरमा मतगणना सुरु

बाबुराम भण्डारी |
मंसिर ५, २०७९ सोमबार १५:० बजे

विराटनगर- उदयपुर जिल्लाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र १ को मतगणना सुरु भएको छ । सदरमुकाम गाईघाटस्थित त्रियुगा माविमा मतगणना सुरु भएको हाे ।

बेलका नगरपालिका–९ को बरपिपल मावि मतदान केन्द्रको मतपेटिका खोलिएको जनाइएको छ । उक्त मतदान केन्द्रमा प्रतिनिधिसभातर्फको १२ वटा मतपत्र प्रदेशसभातर्फको मतपेटिकामा परेको भन्दै निर्वाचन अधिकृतले दलका प्रतिनिधिहरूको रोहबरमा १२ जनाको पहिचान गरी पुन: मतदान गराएका थिए ।


एउटा मतपत्र अर्कोमा परेको भन्दै पहिले खसेको मतपत्र बदर गर्ने सहमति भएपश्चात बरपिपल मावि मतदान केन्द्रको मतगणना सुरु भएको जनाइएको छ ।
निर्वाचन क्षेत्र नं. २ को मतगणना भने सुरु भएको छैन । कटारी नगरपालिकाको त्रिवेणी माविमा मतगणना हुने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रदेश १ मा उदयपुरसहित झापा र मोरङमा मतगणना जारी छ । मोरङको क्षेत्र नम्बर ४ र ५ को पनि गणना सुरु भएको छ । क्षेत्र नं. ४ अन्तर्गत कटहरी गाउँपालिका–४ स्थित खयरबना माविको मतदान केन्द्र (क), (ख) र (ग) को मतपेटिका खोलिएको छ ।

त्यसैगरी मोरङ ५ मा धनपालथान गाउँपालिका–४ स्थित हंसबाहिनी मावि मतदान केन्द्रको (क) र (ख) र सारदा मावि मतदान केन्द्रको (क), (ख) र (ग) मतपेटिका मिसाएर गणना सुरु गरिएको निर्वाचन अधिकृत गणेश नायकले बताए ।


Author

बाबुराम भण्डारी

भण्डारी इकागजका कोशी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x