कोशी

‘अस्पताल सेवाग्राही मैत्री हुनुपर्छ’

इकागज |
मंसिर २६, २०७९ सोमबार २१:३० बजे

फाइल फोटो

मोरङ - प्रदेश नं १ का प्रदेश प्रमुख पर्शुराम खापुङले अस्पतालले बिरामीलाई सेवाग्राही मैत्रीरूपमा कार्य गर्नुपर्ने बताएका छन् ।  विराटनगर–१४ मा नवनिर्मित हाजी आँखा अस्पताल प्रालिको आज उद्घाटन गर्दै उनले बिरामीलाई प्रदान गरिने सेवा गुणस्तरीय एवं सर्वसुलभ हुनुपर्ने धारणा राखे । उनले भनि, 'स्वास्थ्य नै धन हो भन्ने प्रचलन छ र त्यसमा पनि आँखा सबैभन्दा महत्त्वपूर्ण अंक भएकाले यसको उचित हेरचाह गर्नुपर्छ ।' 

निजी क्षेत्रले जनताको स्वास्थ्य क्षेत्रको आवश्यकता परिपूर्ति गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास उनले व्यक्त गरे । प्रमुख खापुङले निजी क्षेत्रबाट स्थापित यस अस्पतालको सफलताबाट मुलुकको स्वास्थ्य र आर्थिकलगायत क्षेत्रमा ठूलो योगदान पुग्ने विचार राखे । 


प्रदेश नं १ का स्वास्थ्यमन्त्री जयराम यादवले उपचारका लागि आउने भारतीय बिरामीले साथमा ल्याउने भारतीय रकमले मुलुकको व्यापार घाटामा केही सघाउ पुग्ने विश्वास व्यक्त गरे ।  अस्पतालका अध्यक्ष  कादिर अन्सारी, नवनिर्वाचित प्रदेशसभा सदस्य गयानन्द मण्डल, नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य महेश रेग्मी, नेपाल पत्रकार महासंघ मोरङका अध्यक्ष सञ्जीव खनाल र सञ्चालक समिति सदस्य तेजलाल कर्णले स्वास्थ्य र शिक्षा क्षेत्रको केन्द्रका रूपमा विस्तार भइरहेको यस क्षेत्रमा सरकारलाई विशेष सहुलियत प्रदान गर्न आग्रह गरे । 

विराटनगर–१४ स्थित मलाया रोडमा नौ कठ्ठा जग्गामा रु १० करोडको लागतमा अस्पताल निर्माण गरिएको हो । अस्पतालमा दक्षिण कोरिया तथा इटालीबाट आयात गरिएको अत्याधुनिक उपकरणमार्फत आँखासम्बन्धी सम्पूर्ण उपचार गरिने व्यवस्था गरिएको छ । पचास श्ययाको उक्त अस्पतालमा दुई दक्ष चिकित्सक सहित ५० जनाले बिरामीलाई सेवा प्रदान गर्नेछन् । अस्पतालले आगामी तीन दिनसम्म वहिरङ्ग सेवा निःशुल्क गरेको जनाएको छ ।
रासस


Author

थप समाचार
x