कोशी

प्रदेश १ का नवनिर्वाचित सांसदको शपथ आउँदो सोमबार

बाबुराम भण्डारी |
पुस ५, २०७९ मंगलबार १८:१५ बजे

विराटनगर । प्रदेश १ का नवनिर्वाचित प्रदेशसभा सदस्यहरुलाई आगामी सोमबार पद तथा गोपनियताको शपथ ग्रहण गराइने भएको छ । प्रदेशसभा सचिवालयले मंगलबार सूचनामार्फत ज्येष्ठ सदस्य र अन्य बाँकी प्रदेशसभा सदस्यको सपथ ग्रहणको कार्यक्रम सार्वजनिक गरेको हो ।

प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले संविधानको धारा १८२ को उपधारा (५), प्रदेशसभा सदस्य निर्वाचन ऐन २०७४ को दफा ७५ र प्रदेशसभाका पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन २०७५ को दफा १९ बमोजिम निर्वाचित प्रदेश सभा सदस्यहरु मध्ये ज्येष्ठ सदस्यले प्रदेश सभाको अध्यक्षता गर्ने व्यवस्था अनुसार सोमबार दिनको साढे १२ बजे प्रदेश प्रमुखको कार्यालयमा सपथ ग्रहणको कार्यक्रम राखिएको जानकारी दिए ।


मंगलबार प्रदेशसभा सचिव पराजुली र प्रदेश प्रमुख पर्शुराम खापुङबीच भएको छलफल अनुसार नवनिर्वाचित प्रदेश सभा सदस्यहरुको सपथ ग्रहणको कार्यक्रम तय गरिएको हो । कार्यक्रम अनुसार प्रदेश १ को प्रदेशसभामा निर्वाचित सबैभन्दा ज्येष्ठ सदस्य गयानन्द मण्डल गनगाईलाई सुरुमा सपथ ग्रहण गराइने छ । ७९ वर्षीय गनगाई नेपाली कांग्रेसबाट मोरङको क्षेत्र नम्बर ५ को प्रदेशसभा क्षेत्र (१) मा निर्वाचित भएका हुन् । निर्वाचित प्रदेश सभा सदस्य गनगाईलाई प्रदेश सभा सचिव पराजुलीले सपथ ग्रहणका लागि उपस्थित हुन मंगलबार नै पत्राचार गरेका छन् । उनलाई राष्ट्रिय पोशाक वा आफ्नो साँस्कृतिक पहिचान झल्कने पोशाकमा उपस्थित हुन भनिएको पत्रमा उल्लेख छ ।

प्रदेश सभा सदस्य गनगाईले शपथ लिएपछि सोमबार नै बाँकी ९२ जना प्रदेशसभा सदस्यलाई सपथ ग्रहण गराउने कार्यक्रम तय भएको जनाइएको छ । प्रदेश १ को प्रदेश सभामा प्रत्यक्ष निर्वाचित ५८ र समानुपातिकतर्फबाट ३७ सांसद रहेका छन् । निर्वाचित सांसद गनगाईले आफूले सपथ ग्रहण गरेपछि सोमबार बाँकी प्रदेश सभा सदस्यहरुलाई सपथ ग्रहण गराउने छन् । उनले सपथ ग्रहण गरेर प्रदेश सभाका बाँकी सदस्यहरुलाई समेत सपथ ग्रहण गराएपछि अर्को सभामुख चयन नहुन्जेल प्रदेश सभा बैठकको अध्यक्षता गर्नेछन् । प्रदेश सभा सचिवालयले प्रदेश सभाका सबै सदस्यलाई सपथ ग्रहण कार्यक्रममा उपस्थित हुन सूचना निकालेको हो ।

संविधानको धारा १७९ अनुसार प्रदेश सभा सदस्यले प्रदेश सभा वा त्यसको कुनै समितिको पहिलो बैठकमा पहिलो पटक भाग लिनु अघि प्रदेश कानून बमोजिम सपथ लिनुपर्ने भन्ने व्यवस्था रहेको छ । सोही व्यवस्था अनुसार ज्येष्ठ सदस्यले सपथ ग्रहण गराउने कार्यक्रममा निर्वाचन आयोगबाट प्रदान गरिएको प्रदेश सभा सदस्य निर्वाचित भएको प्रमाणपत्र, नागरिकताको प्रमाणपत्र र हालसालै खिचेको पासपोर्ट साइजको फोटोसहित प्रदेश सभा सचिवालयमा उपस्थित हुन सूचनामार्फत आग्रह गरिएको जनाइएको छ ।

सचिवालयले मातृभाषामा शपथ लिन चाहेमा त्यस्तो सदस्यले शपथको व्यहोरा आफ्नो मातृभाषामा अनुवाद गरी सो अनुवादको प्रतिसहित प्रदेश सभा सदस्यको निर्वाचन ऐन २०७४ को दफा ७५ को उपदफा (२) तथा प्रदेश सभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन २०७५ को दफा १९ बमोजिम तीन दिन अगावै प्रदेश सभा सचिवालयमा उपलब्ध गराउन समेत भनिएको छ ।


Author

बाबुराम भण्डारी

भण्डारी इकागजका कोशी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x