कोशी

बैंकको चर्को व्याजदरविरुद्ध बिहीबारदेखि सशक्त आन्दोलनको घोषणा

इकागज |
पुस ६, २०७९ बुधबार १७:५५ बजे

विराटनगर । मोरङ सुनसरी औद्याेगिक क्षेत्रका प्रमुख चारवटा व्यवसायिक संघसंगठनसहित चार दर्जन संघसंस्थाहरुले बैंकको चर्को व्याजदरविरुद्ध बिहीबारदेखि सशक्त आन्दोलनको घोषणा गरेका छन् । उनीहरुले सरकारलाई जतिसुकै घचघच्याउँदा पनि समस्याबारे सुनुवाई नगरेको भन्दै नेपाल राष्ट्रबैंकको १ नम्बर प्रदेश कार्यालय विराटनगरको मुलगेटमा धर्ना दिंदै कारोबार हुन नदिने गरी आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन् ।

बिहीबार संयुक्त रुपमा आयोजित पत्रकार सम्मेलनमा मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजालले आन्दोलनमा उत्रिन बाध्य भएको बताए । उनले बैंकिङ क्षेत्रबाट उद्योग क्षेत्र सँधै पीडित बन्नु परेकोले निर्णायक आन्दोलन सुरु गरिएको जानकारी दिए । ‘बैंकरहरुबाट हामीमाथिको शोषण रोकिएन, आन्दोलनका लागि बाध्य बनेका छौं’ रिजालले भने, ‘भोलिदेखि राष्ट्रबैंकको कार्यालय अगाडि दिनभरी धर्नामा बस्ने घोषणा गरेका छौं, जस्तोसुकै परिस्थितिसँग अव भिड्ने निर्णयमा पुगेका हौं ।’ उद्योगी व्यवसायीहरुले चालु पूँजी कर्जा निर्देशिकाको खारेजी, एकल अंकको बैंक व्याजदर, स्प्रेड दर अधिकतम् २ प्रतिशत, संस्थागत व्याजदर २ प्रतिशत र बैंकर र व्यवसायी अलग हुनुपर्ने माग राखेका छन् ।


विद्यमान चर्को बैंक व्याजदर तथा प्रतिकूल बैंकिङ नीतिहरूका कारण आफुहरु पीडित बनेको भन्दै सबै क्षेत्रका सरोकारवालाहरुसँग छलफल गरी निर्णायक आन्दोलनको कदम चाल्नु परेको उद्योगी व्यवसायीहरुले बताए । आन्दोलनको नेतृत्व नेपाल उद्योग बाणिज्य महासंघसम्वद्ध मोरङ व्यापार संघ र उद्योग संगठन मोरङ तथा नेपाल उद्योग परिसंघ प्रदेश १ र विराट व्यापार संघले गरेका छन् ।

घोषित आन्दोलनलाई निजी क्षेत्रका विभिन्न संघ–संस्था, वस्तुगत संघ संगठनहरुले ऐक्यवद्धता जनाएका छन् । गत मंसिर २७ गते बसेको बृहत बैठकबाट आन्दोलनका कार्यक्रम तय गरिएको नेपाल उद्योग परिसंघ प्रदेश १ का अध्यक्ष भीम घिमिरेले बताए । उनले आन्दोलन निर्णायक हुने र माग सम्बोधन नभएसम्म जारी रहने दाबी गरे ।

बिहिबारदेखि माग पुरा नहुन्जेलसम्म दैनिक विहान ९ बजेदेखि ५ बजेसम्म विराटनगरस्थित नेपाल राष्ट्रबैंकको प्रादेशिक कार्यालयको प्रवेशद्वारमा धर्ना दिने उनले बताए । उद्योग संगठन मोरङका उपाध्यक्ष नन्दकिशोर राठीले बैंकको चर्को व्याजदरका कारण उद्योगधन्दा धरासायी बनेको बताए । आन्दोलनलाई सांकेतिक रुपमा अघि बढाउने र माग सुनुवाई नभए विराटनगर बजार बन्द गर्ने लगायतका कार्यक्रम तय भएको जनाइएको छ ।

विराट व्यापार संघका महासचिव प्रविण अग्रवालले उद्योग व्यवसायमा परेको असरका कारण मजदुरहरुले समेत रोजगारी गुमाउनु परेको बताए । साथै बजारको व्यापार बन्द गरी सटरको चाबी बुझाउनु पर्ने अवस्था आइसकेको उनले बताए ।


Author

थप समाचार
x