कोशी

सम्पन्न नहुँदै सुनकोसीको पुल सञ्चालनमा

पुल बन्यो, सडकको बेहाल

इकागज |
पुस ७, २०७९ बिहीबार २०:४५ बजे

खोटाङ- खोटाङ र उदयपुरको सिमानामा पर्ने सुनकोसीस्थित फोक्सिङटार पुल निर्माणको काम सम्पन्न नहुँदै सञ्चालनमा ल्याइएको छ । खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिका–५ आँपटार जोड्ने ‘आर्क’ ब्रिज निर्माणको काम सम्पन्न नहुँदै बिहीबारदेखि सञ्चालनमा ल्याइएको हो । पूर्ण रूपमा पुलको काम नसकिए पनि गाडी वारपार गर्न मिल्ने अवस्था बनेपछि खोटेहाङ गाउँपालिका अध्यक्ष उदिम राई, उपाध्यक्ष रूपेश राई लगायतको उपस्थितिमा सञ्चालनमा ल्याइएको हो । 

गाईघाट–दिक्तेल सगरमाथा राजमार्ग (१०१ किलोमिटर) अन्तरगत फोक्सिङटारमा बनेको १२० मिटर लम्बाई भएको पुलको वेरिङकस, रंगरोगन लगायतका काम बाँकी नै छ । खोटाङको ‘वेटिङ प्रोजेक्ट’का रूपमा रहेको पुल निर्माण सामग्री तथा उपभोग्य सामग्री ढुवानीका लागि बनिनसक्दै सञ्चालनमा ल्याइएको निर्माण कम्पनी गौरी पार्वती वाईपी जेभीका साईड इन्चार्ज मदन मगरले बताए ।


२०७५ सालमै बनिसक्नु पर्ने पुल ठेकेदार कम्पनीको ढिलासुस्तीका कारण चार वर्ष ढिला गरी अन्तिम चरणमा पुगेको हो । फोक्सिङटारमा पुल सञ्चालनमा ल्याइएसँगै खोटाङलाई पूर्वी शहर जोड्ने छोटो दूरीको स्थायी नाका खुलेको छ । पुलका कारण जिल्लामा दैनिक उपभोग्य वस्तुको मूल्यमा कमी आउने अपेक्षा गरिएको छ । पुल निर्माणको काम अन्तिम चरणमा पुगेपछि जिल्लाका नेता बीचमा ‘जसलिने’ होड नै चलिरहेको छ । गत ४ मंसिरको चुनावमा कतिपयले फोक्सिङटार पुललाई चुनावी एजेण्डा नै बनाएका थिए । 

फोक्सिङटारमा २२ चैत २०७३ भित्र ‘सस्पेन्सन’ ब्रिज बनाउने गरी २३ चैत २०६९ मा सम्झौता गरिएको थियो । तर, २०७३ साल कात्तिकमा डिजाइन परिवर्तन गरेर मुग्लिनको जस्तो ‘आर्क’ ब्रिज निर्माणको काम अघि बढाइएको थियो । कामै नगरी २२ चैत २०७३ सम्मको म्याद सकिएपछि पुनः २०७५ साल चैत ३० गतेसम्मका लागि सम्झौता अवधि लम्ब्याइएको थियो । तर, सो अवधिमा पनि पुलको काम नभएपछि नवौं संशोधन अनुसार पुलको प्रथम म्याद १३ पुस २०७७ सम्म थप भएको थियो । पुनः कोभिड–१९ को महामारीलाई कारण देखाएर दोश्रो पल्ट थप भएको म्याद १२ असार २०७८ मा सकिएपछि पुनः २०७८ चैतसम्मका लागि तेश्रो म्याद थप भएको थियो । 

फोक्सिङटार पुल २२ करोड ६७ लाख ११ हजार (भ्याट र पिएससहित)मा पूरा गर्नेगरी गौरी पार्वती वाईपी जेभीले ठेक्का लिएको थियो । पुल निर्माणमा चरम ढिलासुस्ती भएको भन्दै तत्कालीन प्रतिनिधिसभा सदस्य बिशाल भट्टराईले गृहमन्त्री समक्ष २०७५ कात्तिक ५ गते ठेकेदार कम्पनीलाई कालोसूचीमा राखेर कारबाही गर्न माग गरेका थिए ।

ठेक्का लागेको लामो समय बित्दा समेत फोक्सिङटार पुल लगायतका भौतिक संरचनाको काम सन्तोषजनक नभएको भन्दै जिल्लावासीले पटक–पटक विरोध गर्दै आएका छन् ।

ढिलासुस्तीका विरुद्ध २०७२ माघ २४ गते सडक विभागमा धर्ना दिएका जिल्लावासीले पुनः २०७२ चैत २३ गते घेराउ गरेका थिए । सडक विभाग घेराउका क्रममा सांसद, नेता र जिल्लावासीमाथि प्रहरी हस्तक्षेप भएको थियो । २०७२ चैत २४ गते पुल र सडक चाँडो निर्माणको माग गर्दै कांग्रेस दिक्तेल नगर समितिले जिल्ला प्रशासन कार्यालयमा धर्ना दिए र सदरमुकाम दिक्तेलमा विरोध र्‍याली निकालेको थियो । 

हट्यो बेलिब्रिजको सकस  

गाईघाट–दिक्तेल सडक खण्डमा पर्ने पुल निर्माणमा ढिलासुस्ती हुँदा विगत ६ वर्षदेखि फोक्सिङटारमा बेलिब्रिज राख्ने गरिएको थियो । बेलिब्रिजमार्फत यात्रु तथा मालबाहक सवारी साधन ओहोरदोहोर गर्थे । बेलिब्रिज राख्ने र झिक्नेक्रममा राज्यको करोडौं खर्च भइसकेको छ ।

फोक्सिङटारमा हिउँदभरी सञ्चालन गर्ने र वर्षामा झिक्नेगरी अस्थायी बेलिब्रिज राख्ने गरिएको थियो । फोक्सिङटारको बेलिब्रिज हटाइएपछि कटारी–घुर्मी–जयराम हुँदै यात्रा तथा उपभोग्य सामान ढुवानी गर्नुपर्ने बाध्यता थियो । तर पुलका कारण फोक्सिङटारमा बेलिब्रिज राख्नुपर्ने वाध्यता हटेको छ । 

खुल्यो पूर्व जोड्ने नाका 

फोक्सिङटारमा ‘आर्क’ ब्रिज सञ्चालनमा आएपछि दिक्तेल–गाईघाट सिधा यातायात सेवा सुरु भएको छ । पुल सञ्चालनमा ल्याइएसँगै दिक्तेलबाट सिधै गाईघाट हुँदै धरान, विराटनगर, काँकडभिट्टा जाने दोश्रो र छोटो बाटो खुलेको छ ।

पुलका कारण दिक्तेलबाट सिधा गाईघाट पुगेपछि पुर्वी तराईका जिल्ला पुग्न र आउन सकिने वातावरण बनेको खोटाङ यातायात प्रालीका महासचिव रामकुमार हिङमाङले बताए । पुलका कारण बार्‍हैमास दिक्तेलबाट पूर्वी सहर आउ–जाउ गर्ने छोटो मार्ग खुलेको हो । 

पुल बन्यो, सडकको बेहाल 

गाईघाट–दिक्तेल सगरमाथा राजमार्ग अन्तरगत सुनकोसीमा बनिनसक्दै पक्की पुल सञ्चालनमा ल्याइएको छ । तर सो पुलसँग जोडिएको महुरे–फोक्सिङटार (४९ किलोमिटर) सडक कालोपत्रेको काम भने अत्यन्तै सुस्त छ । महुरे–सिमपानी (राजापानी) सडक कालोपत्रेको काम भारत कन्ट्रक्सन/सिद्धी शाही जेभी तथा सिमपानी भञ्ज्याङदेखि फोक्सिङटार (२७ किलोमिटर) खण्डको ठेक्का देवनारायण पवन/मैनाचुली/खाम्पाचे जेभीको जिम्मामा छ ।

पुल उद्घाटनमा हतारो भइरहँदा सोही पुलसँग जोडिएका सडक कालोपत्रेको काममा भइरहेको ढिलासुस्तीका विषयमा भने एक/दुईको मात्र ध्यान गएको देखिन्छ । कालोपत्रेको काम नहुने हो भने वर्षामा सडक हिलाम्मे हुने र पुल उपयोग नहुने चिन्ता उत्तिकै छ । दमन राई/न्युज कारखाना


Author

थप समाचार
x