कोशी

प्रदेश १ का सभा सदस्यको शपथ आज, पाँच जनाले लिम्बु भाषामा लिने

इकागज |
पुस ११, २०७९ सोमबार ८:२९ बजे

विराटनगर- आज प्रदेश १ को प्रदेशसभाका ९३ सांसदले पद तथा गोपनियताको शपथ लिँदैछन् । जसमध्ये पाँच जनाले लिम्बुभाषामा शपथ लिने भएका हुन् ।
प्रदेश सभा सचिवालयका अनुसार ज्येष्ठ सदस्य गयानन्द मण्डल गनगाईले प्रदेश प्रमुखबाट शपथ लिने र त्यसपछि मण्डलले बाँकी ९२ सांसदलाई शपथ गराउने कार्यक्रमको तयारी पुरा भएको प्रदेशसभाका सचिव गोपाल प्रसाद पराजुलीले जानकारी दिए । 

प्रदेशसभा सदस्यमा निर्वाचित प्रदेश सभा सदस्यहरूमध्ये ज्येष्ठ सदस्य गनगाईले प्रदेश सभाको अध्यक्षता गर्ने व्यवस्था अनुसार सोमबार दिनको साढे १२ बजे प्रदेश प्रमुखको कार्यालयमा संविधानको धारा १८२ को उपधारा (५), प्रदेश सभा सदस्य निर्वाचन ऐन २०७४ को दफा ७५ र प्रदेश सभाका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन २०७५ को दफा १९ बमोजिम शपथ लिने छन् । उनले शपथ लिएपछि प्रदेश सचिवालयमा पुगेर सभामुखको कुर्सीमा बस्ने र प्रदेश सभा हलमा बाँकी सांसदहरूलाई शपथ ग्रहण गराउने छन् । गनगाईले प्रदेश सभामा अर्को सभामुख चयन नहुञ्जेलसम्म प्रदेश सभा बैठकको अध्यक्षता पनि गर्नेछन् ।


प्रदेशसभाका सवै सभा सदस्यहरू राष्ट्रिय पोशाक वा आफ्नो साँस्कृतिक पहिचान झल्कने पोशाकमा उपस्थित हुने छन् । माओवादी केन्द्रका इन्द्र बहादुर आङ्बो, नेकपा (एकीकृत समाजवादी) का खिनु लङ्वा लिम्बु र कमल प्रसाद जवेगु, नेपाली कांग्रेसका खगेन सिं हाङगाम र जनता समाजवादीकी निर्मला लिम्बुले यक्थुम लिम्बु भाषामा शपथ ग्रहण गर्ने प्रदेशसभाका सचिव पराजुलीले बताए । 

प्रदेश सभा सचिवालयले मातृभाषामा शपथ लिन चाहने प्रदेश सभा सदस्यहरूका शपथको व्यहोरा आफ्नो मातृभाषामा अनुवाद गरी सोही बमोजिम शपथ ग्रहण गर्ने व्यवस्था गरे अनुसार उनीहरूले लिम्बु भाषामा शपथ ग्रहण गर्ने जनाइएको छ ।
प्रदेश १ को प्रदेश सभामा प्रत्यक्ष निर्वाचित ५८ र समानुपातिकतर्फबाट ३७ सांसद छन् ।


Author

थप समाचार
x