कोशी

रायमाझीको संयोजकत्वमा बन्यो निर्वाचन समिति

प्रदेश १ : को बन्ला कांग्रेस संसदीय दलको नेता ?

बाबुराम भण्डारी |
पुस १२, २०७९ मंगलबार ९:५९ बजे

विराटनगर - कम्युनिस्ट विग्रहको फाइदा उठाउँदै प्रदेश १ मा पनि आकस्मिक ‘सत्ता स्वाद’ चाखेको कांग्रेसलाई पछिल्लो राजनीतिक समीकरणले प्रतिपक्षमा हुत्याइदियो । अघिल्लो समीकरण कायम हुँदासम्म सत्तारोहण गर्ने सम्भावना नजिक देखेका कांग्रेसका प्रभावशाली सभा सदस्यहरूले संसदीय दलको नेता बन्न गरेको तँछाडमछाड राष्ट्रिय राजनीतिक परिस्थिति फेरिंदा पनि उस्तै छ । 

कम्युनिस्टहरूकै कारण कांग्रेसभित्र उत्पन्न भइरहने राजनीतिक उतार चढावको असर प्रदेश १ को संसदीय दलको नेता चयनसम्मै पर्ने भएको छ । कसलाई मुख्यमन्त्रीमा अघि सार्ने र को–को मन्त्री बन्ने छिनोफानो नहुँदै प्रतिपक्षमा पुगेको कांग्रेसभित्र संसदीय दलको नेता लागि रेफ्री बिनाको दौड जारी छ । 


‘पार्टीको लाइनमा बलियो छु’ भन्दै दाबी गर्ने प्रभावशाली नेताहरूदेखि पहिलो पाँच बर्षे कार्यकालमा एक पटक मन्त्री बनेर दोस्रो पटक निर्वाचन जितेको भन्दै उनीहरू संसदीय दलको नेता बन्न लालायित बनेका छन् ।

४० सिट ओगटेको प्रदेशसभाको सबैभन्दा ठुलो दल नेकपा एमालेले सर्वसम्मत रुपमा स्थायी कमिटी सदस्य हिक्मतकुमार कार्कीलाई संसदीय दलको नेता चयन गरेका कारण कांग्रेसभित्र पनि पार्टीको माथिल्लो जिम्मेवारीमा रहेका सभा सदस्यहरूले दलको नेताका लागि सक्रियता बढाएका हुन् । साथै, पार्टीभित्रको चरम ध्रुवीकरणको परिणाम कांग्रेसभित्रका संसदीय दलको नेताका कतिपय आकांक्षीहरू त जबरजस्ती पनि दौडमा उपस्थित गराइएका छन् ।

कांग्रेसमा अहिलेसम्म केन्द्रीय सदस्यद्वय अमृत अर्याल, भीम पराजुली र प्रदिप सुनुवार संस्थापन पक्षको लाइनबाट मुख्यमन्त्रीका लागि लविङमा छन् । दुई कार्यकाल पार्टी केन्द्रीय सदस्यदेखि संविधानसभा सदस्य भएर संविधान जारी गर्दाको अनुभव बोकेका अर्याल खेलका नियममा आफ्नो छुट्टै नियम थप्न सक्ने चतुर राजनीतिक खेलाडी मानिन्छन् । उनी मुख्यमन्त्रीको अघोषित आश्वासनमा प्रदेशसभामा चुनाव लडेकोले जस्तोसुकै परिस्थितिमा पनि दलको नेता बन्ने निकटहरूले बताइरहेका छन् ।

अर्कोतिर जसरी पनि अब्बल रहेको श्रेय लिनसक्ने क्षमता बनाएका भीम पराजुली जितका लागि कुटिल खेल खेल्ने खेलाडीका रुपमा स्थापित भइसकेका छन् । उनी पार्टीभित्रको चलनचल्तीको ‘लाइन’ भित्र पनि आफू अनुकुलको ‘नयाँ दर्जा’ कायम गर्नसक्ने क्षमता राख्दछन् । त्यही भएर कांग्रेसभित्र उनी संसदीय दलको नेताका रुपमा हेरिंदै आएका छन् । कृष्ण सिटौला लाइनका पराजुली विराटनगर महानगरको पूर्व मेयर हुन् । प्रदेश १ मा सिटौला लाइन सक्रिय भए उनी अझ बलियो दाबेदार हुनसक्छन् ।

कांग्रेसभित्रै मुख्यमन्त्रीको नाम लेखाउन चाहनेहरूमा प्रदेश १ सभापति उद्धव थापा अर्का व्यक्तित्व हुन् । थापा पनि सिटौला समूहका प्रखर नेता हुन् । थापा प्रदेशसभाको समानुपातिक सूचीका एक नम्बरमा रहेर प्रदेशसभा सदस्यमा चयन भइसकेका छन् । समानुपातिकतर्फ एक नम्बरमा पर्न सफल भएका कारण उनले सिटौला समुह हुँदै संस्थापनकै बलियो पात्रका रुपमा प्रमाणित गरेका छन् । संसदीय दलको नेता भएमा आश्यर्च नमान्न उनी आफू निकटलाई बताउँदै आएका छन् ।

मुख्यमन्त्रीको लाइन चलाइरहेका कांग्रेसका अर्का पात्र केदार कार्की हुन् । कार्कीले पहिलो संसदीय कालमै प्रतिपक्षी गठबन्धनलाई चकित पार्दै प्रदेशसभाभित्र सत्तापक्षसँग ‘बिज्नेस सेटिङ’ हान्ने क्षमता बनाइसकेका छन् । आफ्नो काविलता देखाउन जतासुकैको मैदानमा देखिनसक्ने कार्की त्यस्तै कठिन प्रत्यत्नबाट प्रदेश १ को आन्तरिक मामिला तथा कानुनमन्त्री बनेका हुन् । १४औं महाधिवेशनमा संस्थापन इतर समूहबाट उठेर पार्टी केन्द्रीय सदस्यमा पराजित भएका कार्कीको पछिल्लो भूमिकाबारे कोइराला निवासभित्रै चर्चा भइरहने गरेको जनाइएको छ । उनी अहिले अरु नेताहरू विराटनगर बसेर संसदमा प्रभावकारी भूमिका खेल्न नसक्ने भन्दै दलको नेता बन्ने दौडमा सक्रिय बनेका छन् ।

अर्कोतिर कसैका नाममा सहमति नभए आफू अघि सर्ने दाउमा पहिलो संसदीय कार्यकालका उपनेता हिमाल कार्की पनि पर्खिएर बसेका व्यक्ति हुन् । उदयपुर कांग्रेसको दुई कार्यकाल सभापति भइसकेका कार्कीले प्रदेश १ मा पार्टीको तर्फबाट बाम–लोकतान्त्रिक सरकारको नेतृत्व गर्दै भौतिक पूर्वाधार विकास मन्त्रालय सम्हालिरहेका छन् । उनले निर्वाचनताका प्रदेश १ को मुख्यमन्त्री बन्ने कुरा प्रायजसो चुनावी अभियानका क्रममा बोलेका कारण अहिले फेरिएको राजनीतिक परिस्थितिमा कम्तिमा संसदीय दलको नेताको दौडमा उत्रिनुपर्ने बाध्यता निकटहरूलाई सुनाउँदै आएका छन् ।

राष्ट्रियसभामा कांग्रेस संसदीय दलको नेता एवं कांग्रेस १ नम्बर प्रदेश समितिका उपाध्यक्ष रमेशजंग रायमाझीको संयोजकत्वमा निर्वाचन समिति गठन भएसँगै नेपाली कांग्रेस प्रदेश १ मा संसदीय दलको नेता चयनको प्रक्रिया अघि बढेको छ ।

सोमबार कांग्रेस प्रदेश समितिको कार्यालयमा बसेको कार्यसम्पादन समितिको बैठकले रायमाझीको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको हो । समितिको सदस्यमा प्रदेश समितिका महामन्त्री उमेश थापासहित सदस्यहरूमा रेगिना भट्टराई, लक्ष्मी चौधरी र नन्दकुमार नेम्वाङ रहेको प्रदेश समितिका कोषाध्यक्ष राजेश गुप्ताले जानकारी दिए ।

निर्वाचन समितिका संयोजक रायमाझीले पुस १५ गते शुक्रबार नेपाली कांग्रेस प्रदेश १ को संसदीय दलको नेता चयन गर्नका लागि निर्वाचन हुने बताए । उनले निर्वाचनको अघिल्लो दिन पुस १४ गते निर्वाचनको कार्यतालिका सार्वजनिक हुने जानकारी दिए ।

प्रदेश १ को सभामा नेपाली कांग्रेसले प्रत्यक्षतर्फ १७ र समानुपातिकबाट १३ जना गरी २९ सांसद रहेका छन् । फेरिएको राजनीतिक घटनाक्रमले कांग्रेस अब संघसहित सातै प्रदेशमा प्रतिपक्षमा पुगेकाले त्यसको समेत समीक्षा गर्दै प्रदेश १ मा दलको नेता चयन गर्नुपर्ने चुनौतिी कांग्रेसमा थपिएको हो । त्यसको संकेत दलको नेताका दाबेदारहरूले नै गरिसकेका छन् ।

प्रदेशसभामा सोमबार सपथ ग्रहण गरेलगत्तै आयोजित बधाइ ज्ञापन कार्यक्रममा दलको नेताका दाबेर एवं देउवा निकट पार्टी केन्द्रीय सदस्य अमृत अर्यालले कांग्रेसलाई एकतावद्ध बनाएर मात्रै संसदभित्र सफल हुन सक्ने बताएका छन् । त्यस्तै भीम पराजुलीले कांग्रेसभित्र कठिन परिस्थिति निर्माण भएको भन्दै उनले पनि कांग्रेस एकजुट हुनुपर्नेमा जोड दिएका छन् । 

प्रदेशसभा सदस्य शम्सेर राईले पार्टीभित्र आफ्नै कारणले अहिलेको जटिल परिस्थिति निर्माण भएको भन्दै संस्थापनतिर सांकेतिक कटाक्ष गरेका हुन् । यद्यपि अब परिस्थितिको सामना गर्नुको विकल्प नभएको उनले बताए ।
 


Author

बाबुराम भण्डारी

भण्डारी इकागजका कोशी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x