कोशी

प्रदेश १ : कांग्रेस संसदीय दलको नेतामा उम्मेदवारी शुल्क २५ हजार

इकागज |
पुस १३, २०७९ बुधबार १०:१९ बजे

विराटनगर- नेपाली कांग्रेस प्रदेश १ संसदीय दलको नेताको निर्वाचनका लागि बनेको पाँच सदस्यीय निर्वाचन समितिले उम्मेदवारी शुल्क २५ हजार रुपैयाँ तोकेको छ । उक्त शुल्कसहितको निर्वाचन तालिका निर्वाचन समितिले सार्वजनिक गरेको हो । 

तालिका अनुसार कांग्रेस प्रदेश समितिको कार्यालयमा दलको नेताको निर्वाचन पुस १५ गते शुक्रबार हुने जनाइएको छ । संसदीय दलको नेता चयनका लागि गठित निर्वाचन समितिका संयोजक रमेशजंग रायमाझीले हस्ताक्षर गरेको कार्यतालिकामा पुस १४ गते बिहीबार विहान ९ बजे मतादाता नामावली प्रकासित गरिने तालिकामा उल्लेख छ । 


सोमबार बसेको प्रदेश कार्यसम्पादन समितिको बैठकले कांग्रेस संसदीय दलको नेता चयनका लागि प्रदेश समितिका उपाध्यक्ष रायमाझीको संयोजकत्वमा निर्वाचन समिति गठन गरेको थियो ।

निर्वाचनसम्बन्धि कार्यतालिका अनुसार पुस १४ गतेका दिन दिउँसो १२:३० देखि १ बजेसम्म उम्मेदवारी दर्ता, २ बजे उम्मेदवारको प्रथम नामावली प्रकाशन, दाबी विरोध २ देखि २:३० बजेसम्म, उम्मेदवारी फिर्ता सोही दिन अपरान्ह ३ बजेदेखि ४ बजेसम्म गर्न सकिने जनाइएको छ । 

संसदीय दलको नेता बन्ने लाइनमा कांग्रेस केन्द्रीय सदस्य समेत रहेका अमृत अर्याल, भीम पराजुली र प्रदीप सुनुवार तथा प्रदेश समितिका सभापति उद्धव थापा, दलका पूर्व उपनेता तथा प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री हिमाल कार्की र आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले दाबी प्रस्तुत गर्दै आएका छन् ।

सर्वसम्मत रुपमा दलको नेता चयनका लागि आकांक्षीहरू लविङमा सक्रिय भएपछि सहमतिको सम्भावना न्यून बन्दै गएको कांग्रेससम्वद्ध एक प्रदेशसभा सदस्यले बताएका छन् । संसदीय दलको नेता चयनका नेपाली कांग्रेस प्रदेश समितिको कार्यालय विराटनगरमा निर्वाचन हुने जनाइएको छ ।


Author

थप समाचार
x