कोशी

प्रदेश १ मा कांग्रेस संसदीय दलको नेता चयनमा बनेन सहमति

इकागज |
पुस १४, २०७९ बिहीबार ११:४८ बजे

विराटनगर । नेपाली कांग्रेस प्रदेश १ को संसदीय दलको नेता चयनको प्रक्रियालाई सर्वसम्मत रुपमा टुंग्याउन भन्दै गरिएका प्रयासहरु असफल बनेका छन् । आज बिहान १० बजे कांग्रेसका नेता डा.शेखर कोइरालाले प्रदेश १ मा संसदीय दलको नेता सर्वसम्मत गर्ने प्रयास पनि विफल भएको हो ।

दलको नेताका लागि दौडमा रहेका केही आकांक्षीहरु पछि सर्ने संकेत पाएपछि कोइराला निवासमा थप छलफल गरिएको थियो । सत्तारोहण गर्न आतुर रहेको कांग्रेसभित्र दलको नेता चयनमा आकांक्षीहरुको धेरै थिए । तर एकाएक प्रतिपक्षमा पुगेपछि पनि आकांक्षीहरुले मैदान छाडेका छैनन् ।


विशेष गरी संस्थापन र इतर पक्षको नेतृत्व गर्दै उम्मेदवार बन्न लागेका उनीहरुबीच सर्वसम्मत रुपमा दलको नेता चयन गर्ने प्रयास असफल भएको जनाइएको छ । छलफलमा आकांक्षीहरुले आफ्नो अडान कायम राखेको छलफलमा सहभागी प्रदेश सभाका एक सदस्यले बताए ।

दलको नेताका लागि संस्थापन पक्षबाट पार्टी केन्द्रीय सदस्य अमृत कुमार अर्याल, सिटौला समूहबाट पार्टी प्रदेश समितिका सभापति उद्धव थापा र केन्द्रीय सदस्य भीम पराजुली तथा कोइराला समूहबाट केदार कार्की मुख्य आकांक्षी रहेका छन् । स्रोतका अनुसार सिटौला समूहका पराजुली दलको नेताको उम्मेदवारबाट पछि हट्ने तयारीमा छन् ।

प्रदेश १ मा कांग्रेसबाट प्रत्यक्षतर्फ १७ र समानुपातिकबाट १३ गरी २९ जना प्रदेश सभा निर्वाचित भएका छन् । संस्थापन, सिटौला र कोइराला समूहमा बाँडिएका सांसदहरुको संख्या बराबर जस्तो भएका कारण आकांक्षीहरु पछि हट्ने संकेत गरेका छैनन् । दलको नेता चयन गर्न गठित निर्वाचन समितिले आजै १२ बजदेखि १ बजेसम्म मनोनयन दर्ताको समय तोकेको छ । अर्याल, थापा र कार्कीले मनोनयन गर्ने तयारी गरेका छन् । निर्वाचन भोलि शुक्रबार हुँदैछ ।


Author

थप समाचार
x