कोशी

प्रदेश १ कांग्रेस संसदीय दलको नेतामा अर्याल, थापा र कार्कीको उम्मेदवारी

इकागज |
पुस १४, २०७९ बिहीबार १३:१८ बजे

विराटनगर। नेपाली कांग्रेस प्रदेश १ को संसदीय दलको नेतामा अमृत अर्याल, उद्वव थापा र केदार कार्कीले उम्मेदवारी दर्ता गरेका छन् । प्रदेश १ मा कांग्रेसबाट प्रत्यक्षतर्फ १७ र समानुपातिकबाट १३ गरी २९ जना प्रदेश सभा सदस्यमा निर्वाचित भएका छन् ।

संसदीय दलको नेतामा उम्मेदवारी दिएका अर्यालको प्रस्तावकमा डोल्मा तामाङ र समर्थकमा सुनिता कुमारी गुरुङ, थापाको प्रस्तावकमा भीम पराजुली र समर्थकमा भुपेन्द्र राई र कार्कीको प्रस्तावकमा रामकुमार खत्री तथा समर्थकमा शम्सेर राई रहेका छन् । दलको नेता चयन सर्वसम्मत गर्न भन्दै गरिएका प्रयास असफल बनेपछि उनीहरुले उम्मेदवारी दर्ता गरेका हुन् ।


निर्वाचन समितिले आज दिउँसो १२ देखि १ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकेको हो । दलको नेताका लागि संस्थापन पक्षबाट पार्टी केन्द्रीय सदस्य अर्याल, सिटौला समूहबाट पार्टी प्रदेश समितिका सभापति थापा र कोइराला समूहबाट कार्कीको उम्मेदवारीले दलको नेतामा त्रिपक्षीय प्रतिस्पर्धा हुने निश्चित भएको हो । सिटौला समूहबाटै आकांक्षी देखिएका केन्द्रीय सदस्य भीम पराजुलीले भने थापालाई समर्थन गरेका छन् ।


Author

थप समाचार
x