कोशी

प्रदेश १ : कांग्रेस संसदीय दलको नेतामा उद्वव थापा निर्वाचित

बाबुराम भण्डारी |
पुस १५, २०७९ शुक्रबार १०:२० बजे

विराटनगर - नेपाली कांग्रेस प्रदेश १ को संसदीय दलको नेतामा उद्वव थापा निर्वाचित भएका छन् । सिटौला समुहका थापाले १८ मत प्राप्त गर्दै पहिलो चरणमै निर्वाचित भएका हुन् ।

उनी नेपाली काङ्ग्रेस प्रदेश समितिको सभापति समेत हुन् । दलको नेता चयनका लागि गठित निर्वाचन समितिका संयोजक रमेशजङ्ग रायमाझीका अनुसार प्रतिस्पर्धामा उत्रिएका कोइराला समुहका केदार कार्कीले ९ र पार्टी संस्थापन पक्षका अमृत अर्यालले २ मत प्राप्त गरेका छन् ।


अर्यालले आफ्नै प्रस्तावक समर्थक मध्येकै मत प्राप्त गरेनन् । अर्यालको प्रस्तावकमा डोल्मा तामाङ र समर्थकमा सुनिता कुमारी गुरुङ रहेका थिए ।

प्रदेश १ मा कांग्रेसबाट प्रत्यक्षतर्फ १७ र समानुपातिकबाट १३ गरी २९ जना प्रदेश सभा सदस्यले मतदान गरेका थिए । संसदीय दलको विधान अनुसार पहिलो चरणमा ५० प्रतिशत प्राप्त नभए पहिलो र दोश्रो मत पाउने बिच दोस्रो चरणको प्रतिस्पर्धा हुने व्यवस्था रहेको छ ।

तर त्रिपक्षीय प्रतिस्पर्धाको पहिलो चरणबाटै थापा दलको नेता निर्वाचित भएका हुन् । दलको नेता चयन सर्वसम्मत गर्न भन्दै गरिएका प्रयास असफल बनेपछि अर्याल, थापा र कार्कीबिच प्रतिस्पर्धा भएको हो ।


Author

बाबुराम भण्डारी

भण्डारी इकागजका कोशी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x