कोशी

एमाले संसदीय दलका नेता कार्कीको दाबी- प्रदेश १ मा एमाले नेतृत्वकै सरकार बन्ने सहमति भइसक्यो

बाबुराम भण्डारी |
पुस १६, २०७९ शनिबार ११:५० बजे

फाइल तस्बिर

विराटनगर- नेकपा एमाले प्रदेश १ संसदीय दलका नेता हिक्मतकुमार कार्कीले प्रदेश १ मा एमाले नेतृत्वकै सरकार बन्ने गरी सहमति टुंगिएको दाबी गरेका छन् । उनले प्रदेश १ को कार्यकारी नेतृत्वको एमालेले नै जिम्मा पाएको बताउँदै त्यसको औपचारिकतामात्रै पुरा हुन बाँकी रहेको जानकारी दिए ।

संघीय सरकार गठनमा एमालेले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई समर्थन गरेपछि फेरिएको राष्ट्रिय राजनीतिक दृष्यले सातै प्रदेशमा नयाँ गठबन्धनको सरकार बन्ने निश्चित भएको छ । दलका नेता कार्कीले दुईवटा प्रदेशबाहेक सवैमा कसको नेतृत्वको सरकार बन्ने भन्नेबारे सहमति भइसकेको दाबी गरेका हुन् । कार्की शुक्रबार बेलुकामात्रै काठमाडौंमा पार्टी अध्यक्ष केपी शर्मा ओली लगायत गठबन्धनका शिर्षस्थ नेताहरुलाई भेटेर विराटनगर फर्किएका छन् ।


उनले प्रदेश १ मा एमाले  नेतृत्वकै सरकार बन्ने सुनिश्चित भएकै कारण आफु विराटनगर फर्किएको संकेत गर्दै भने, ‘एकाध ठाउँको कारणले औपचारिक रुपमा कुरा बाहिर नआएको हो, यस प्रदेशको हकमा नेकपा एमालेकै नेतृत्वमा सरकार बन्ने कुरा टुंगिएको छ ।’

एमाले स्थायी कमिटी सदस्य समेत रहेका कार्कीले केन्द्रमा अरु स्वतन्त्र सांसद र थप राजनीतिक दलहरु गठबन्धनमा समावेश हुने वातावरण बन्दै गएको बताए । उनले गठबन्धन अझै दह्रो बन्ने प्रक्रियामा रहेको बताए ।
प्रदेश १ को प्रदेशसभामा छ वटा राजनीतिक दलबाट ९३ सांसद चुनिएका छन् । तर कसैको पनि बहुमत नपुगेका कारण नयाँ गठबन्धनभित्र एमाले र माओवादीले सरकारको नेतृत्व गर्न दाबी गरेका थिए । एमालेले प्रत्यक्ष २५ र समानुपातिक १५ गरी ४० सांसद सिट जित्दै सवैभन्दा ठुलो पार्टी बनेका कारण एमाले नेताहरुले प्रदेश १ सरकार एमालेकै नेतृत्वमा बन्नेमा विश्वस्त हुन आग्रह गर्दै आएका छन् । 

एमाले अध्यक्ष केपी शर्मा ओली समेत प्रदेश १ कै झापाका भएका कारण एमालेकै नेतृत्वमा सरकार बन्ने निश्चितप्राय रहेको जनाइएको छ । कार्कीका अनुसार केहि प्रदेशको नेतृत्व बाँटफाँट टुंगिने वितिक्कै प्रदेश प्रमुखले सरकारको गठनको प्रक्रियाको प्रारम्भ गर्ने बताए ।

‘कसैले पनि बहुमत प्राप्त नगरेपछि सत्ता सहकार्य हुँदा साना दलहरुले पनि सत्ताको नेतृत्व गर्ने अवसरहरु प्राप्त गर्छन्, यहि प्रदेशमा पनि विगतमा त्यस्तो देखिन्थ्यो, तर सवै ठाउँमा त्यहि एकरुपताका साथ हुँदैन’ एमाले संसदीय दलका नेता कार्कीले भने, ‘किनभने दलको स्ट्रेन्थ, दललाई जनताको समर्थन र सिट संख्याका आधारमा पनि कसले नेतृत्व गर्ने भन्ने कुराहरु हुन्छ, त्यस आधारमा प्रदेश १ मा नेकपा एमालेनै बलियो हो, चाहे जनमतको हिसावले वा सिट संख्याको हिसाबले ।’

प्रदेश प्रदेशले आह्वान गर्ने वितिक्कै सरकारमा सहकार्य गर्ने दलहरुले संयुक्त रुपमा सरकार गठनका लागि प्रस्ताव बुझाउने तयारी भइरहेको कार्कीले बताए । केन्द्रमा शिर्ष नेताहरुबीच सहमतिको दस्तावेजमा हस्ताक्षर हुन बाँकी रहेका कारण अहिले प्रदेश १ को प्रदेशसभा बैठकमा कुन दल कतातिर बस्ने भन्ने अलिकति प्राविधिक बिषय बनेको बताए ।


Author

बाबुराम भण्डारी

भण्डारी इकागजका कोशी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x