कोशी

प्रदेश १ मा नयाँ सरकार गठनको प्रक्रिया सुरु

इकागज |
पुस १७, २०७९ आइतबार १३:१० बजे

विराटनगर । प्रदेश १ मा नयाँ सरकार गठनको प्रक्रिया सुरु भएको छ । प्रदेश प्रमुख परशुराम खापुङले आइतबार सूचना जारी गर्दै पुस २४ गते आइतबार बेलुका ५ बजेभित्र मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान गरेसँगै सरकार गठनकाे प्रक्रिया सुरु भएकाे हाे ।

नयाँ सरकार नबन्दा पछिल्लो राजनीतिक समीकरण अनुसार सत्ता पक्षमा पुगेको नेकपा एमालेसहितका दलहरु प्रदेशसभाको बैठकमा प्रतिपक्षमा बस्नुपर्ने अवस्था सिर्जना भएको थियो ।  'प्रदेश नं. १ मा मुख्यमन्त्री नियुक्त गर्नका लागि नेपालको संविधानको धारा १६८ को उपधारा (१) बमोजिम प्रदेश नं. १ को प्रदेश सभामा कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त गरेको नदेखिएकाले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश नं. १ को प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश नं. १ को प्रदेश सभाको सदस्यलाई प्रदेश नं. १ को मुख्यमन्त्री नियुक्त गर्नका लागि मिति २०७९/९/२४ गते आइतबार बेलुकी ५.०० बजेभित्र दाबी पेस गर्न माननीय प्रदेश प्रमुखज्यूबाट आह्वान भएको छ' सूचनामा भनिएको छ ।


आज प्रदेश १ को दोस्राे कार्यकालको पहिलो अधिवेशनको पहिलो बैठक आज बस्दैछ । नयाँ सत्ता समीकरणअनुसार प्रदेश १ मा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपा र जसपा नेतृत्वमा सरकार बन्दैछ । सरकारको नेतृत्व एमालेले गर्ने सहमति भइसकेको एमाले संसदीय दलका नेता हिक्मत कुमार कार्कीले दाबी गरेका छन् । प्रदेश प्रमुखबाट सरकार गठनको प्रक्रियाका लागि आह्वान भएसँगै दलहरुले अब प्रदेश प्रमुख समक्ष बहुमतसहित दाबी पेश गर्नुपर्ने छ ।


Author

थप समाचार
x