कोशी

प्रदेशसभाको अर्को बैठक नयाँ सरकार बनेपछि

इकागज |
पुस १७, २०७९ आइतबार १६:३९ बजे

विराटनगर । आइतबार बसेको प्रदेश १ को प्रदेश सभाको पहिलो अधिवेशनको पहिलो बैठकले दोस्रो बैठक नयाँ सरकार गठन भएपछि बस्ने गरी तोकेको छ । आइतबार नै प्रदेश १ का प्रदेश प्रमुख परशुराम खापुङले नयाँ सरकारको गठन पुस २४ गते बेलुका ५ बजेभित्र हुने गरी तोकेपछि प्रदेशसभाको बैठक पनि भोलिपल्ट अर्थात पुस २५ गते बोलाइएको हो ।

प्रदेश सभाको दोस्रो कार्यकालको पहिलो अधिवेशनको अध्यक्षता गरेका ज्येष्ठ सदस्य गयानन्द मण्डलले सभाको आगामी बैठक पुस २५ गते दिनको १ बजे बस्ने जानकारी दिए । पहिलो अधिवेशनको बैठकमा प्रदेश प्रमुख खापुङले प्रदेशसभाको बैठक आह्वान सम्बन्धी पठाएको पत्र पढेर सुनाइएको थियो । बैठकबाट प्रदेशसभा नियमावली (पहिलो संशाेधन) २०७४ लाई दोस्रो कार्यकालका लागि स्वीकार गर्ने सम्बन्धी प्रस्ताव सर्वसम्मत रुपमा पारित भएको छ ।


नेपाली कांग्रेसका प्रदेशसभा सदस्य भीम पराजुलीको प्रस्ताव र एमालेका सांसद लिलाबल्लभ अधिकारीको समर्थनमा बैठकमा उपस्थित सभा सदस्यहरुले नियमावली स्वीकार गर्ने प्रस्ताव पारित गरेका हुन् । नियमावली स्वीकृत गर्ने प्रस्ताव पारित भएसँगै प्रदेशसभा र सचिवालयको नियमित काम कारवाही अघि बढाउन बाटो खुलेको हो ।

आइतबारको प्रदेशसभा बैठकमा वर्तमान सरकारको सिफारिसमा प्रदेश प्रमुखबाट जारी भएको प्रदेश सरकारको प्रदेश निजामति सेवाको गठन, सञ्चालन र सेवाका शर्तहरु सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश र केही प्रदेश ऐनलाई संशाेधन गर्ने अध्यादेश २०७९ सभामा टेबल भएको छ । आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले दुवै अध्यादेश सभामा टेबल गरेका हुन् ।

त्यसैगरी अघिल्लो प्रदेशसभाका सदस्य तथा सरकारका वन, वातावरण तथा भू–संरक्षणमन्त्री शेखरचन्द्र थापाको निधनको शोक प्रस्ताव समेत प्रदेशसभाबाट पारित गरिएको छ । बैठकको सुरुमै विभिन्न प्रकारका आन्दोलनहरुमा सहादत गर्ने सहिदको स्मरणमा एक मिनेट मौनधारण समेत गरिएको थियो ।


Author

थप समाचार
x