कोशी

प्रदेश १ मा सभामुख र उपसभामुख चयनको प्रक्रिया अघि बढ्यो

बाबुराम भण्डारी |
पुस २०, २०७९ बुधबार २०:२९ बजे

फाइल फोटो

विराटनगर - प्रदेश १ को प्रदेश सभाको सभामुख चयनको प्रक्रियाका लागि सर्वदलीय बैठक बस्ने तयारी अघि बढेको छ । प्रदेशसभाको पहिलो बैठक आइतबार बसेसँगै नयाँ सभामुख चयनको प्रक्रिया अघि बढेको हो । 

संविधानको धारा १८२ को उपधारा (१) अनुसार प्रदेश सभाका सभामुख र उपसभामुखको चयन प्रदेश सभाको पहिलो बैठक बसेको १५ दिनभित्र गर्ने व्यवस्था अनुसार माघ २ गतेभित्र सभामुख र उपसभामुखको चयन गरिसक्नुपर्ने भएको छ ।


९३ सदस्यीय प्रदेश १ को प्रदेशसभाको सबैभन्दा ठूलो दल नेकपा एमाले र तेस्रो दल नेकपा माओवादी केन्द्रले सभामुखमा दाबी गरिरहेका छन् । प्रदेश १ मा सरकार गठनको प्रक्रिया अघि बढ्दै गर्दा नयाँ गठबन्धन गर्न पुगेका एमाले, माओवादी, राप्रपा र जसपाबीच शक्ति बाँडफाँट हुँदैछ । सरकारको नेतृत्व एमालेले गर्ने करिब सहमति भइसकेको एमाले नेताहरुले दाबी गर्दै आएका छन् । एमालेले मुख्यमन्त्रीसहित सरकार बनाउँदा सभामुख पाउनुपर्ने अडान माओवादीले राखेको छ ।

एमालेले भने प्रदेश सभाको सबैभन्दा ठूलो दल र सरकारको समेत नेतृत्व गर्ने भएकोले प्रदेश १ को नामाकरणको बिषयलाई केन्द्रित गरेर सभामुख पनि एमालेकै हुनुपर्ने अडानमा रहेको छ । एमालेले पार्टीका पोलिटब्युरो सदस्य तथा ताप्लेजुङ प्रदेशसभा निर्वाचन क्षेत्र (१) बाट निर्वाचित तिलकुमार मेन्याङ्बोलाई सभामुखका रुपमा अघि सार्दा माओवादीबाट संखुवासभाबाट निर्वाचित राजेन्द्र कार्कीलाई  सभामुख बनाउने गरी नेतृत्व तहबाट 'लविङ' भइरहेको जनाइएको छ ।

सभामुख र उपसभामुख चयन गर्दा दुई मध्ये एक जना महिला हुनुपर्ने व्यवस्था धारा १८२ को (२) मा उल्लेख छ । नयाँ सत्ता गठबन्धनभित्रको दोस्रो दल माओवादी केन्द्रलाई उपसभामुख दिने गरी एमाले नेताहरूले सहमतिको प्रयास जारी राखेको बताएका छन् । उपसभामुख पदमा भने गठबन्धनको तेस्रो दल राप्रपाले समेत दाबी प्रस्तुत गरेको जनाइएको छ ।

उपसभामुखमा चित्त बुझाउनु पर्ने अवस्थामा भने मोरङकी समानुपातिक प्रदेशसभा सदस्य गीता तिम्सिनालाई अघि सार्ने माओवादीले तयारी गरेको प्रदेश कमिटीका एक सदस्यले बताए ।

प्रदेश १ मा नयाँ सरकार गठनको प्रक्रिया अघि बढेका कारण दलहरू भने अहिले सरकार निर्माणमा बढि केन्द्रित भएका छन् । तर प्रदेशसभा सचिवालयले भने प्रदेश सभाको पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख र उपसभामुख चयन गरिसक्नु पर्ने व्यवस्थाका कारण त्यसका लागि सर्वदलीय बैठकमार्फत सहमति जुटाउने तयारी गरेको जनाएको छ ।

प्रदेश सभा निमायमावली (पहिलो संशोधन) २०७५ लाई आइतबार बसेको पहिलो बैठकले दोस्रो कार्यकालका लागि अंगीकार गरिसकेका कारण सचिवालयलाई सभामुख र उपसभामुख चयनको बाटो खुलेको हो ।

प्रदेशसभाका सचिव गोपालप्रसाद पराजुलीले सभामुख र उपसभामुखको निर्वाचनका लागि कानुन अनुसार प्रक्रिया सुरु भएको बताएका छन् । उनले सभामुख र उपसभामुखको निर्वाचन एकैपटक नहुने भएकोले प्रदेशसभाको पहिलो बैठक बसेको १५ दिनभित्रै प्रक्रिया अघि बढाउन प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलहरुबीच सर्वदलीय बैठक बोलाउने तयारी गरिएको जानकारी दिए । 

प्रदेशसभाको कार्यव्यवस्था परामर्श समितिको गठन सभामुख चयन पश्चातमात्रै हुने भएकोले सचिवालयले सभामुख र उपसभामुख चयनको प्रक्रियामै केन्द्रित गरेको सचिव पराजुलीले बताए । 
प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरुबीच सर्वदलीय बैठकबाट सहमति गरेर चयन प्रक्रिया अघि बढाउने सचिवालयको भनाई छ । 

पुस २५ गते बस्ने प्रदेशसभाको बैठकमा सभामुख र उपसभामुख चयनको प्रस्ताव टेबुल गरेर पुस २९ भित्र चयन प्रक्रिया टुंग्याउने सचिवालयले तयारी गरेको जनाइएको छ ।

सभामुख चयन नभएका कारण प्रदेश १ को प्रदेश सभाको अध्यक्षता ज्येष्ठ सदस्य गयानन्द मण्डल गनगाईले गरेका छन् ।


Author

बाबुराम भण्डारी

भण्डारी इकागजका कोशी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x