कोशी

समाधिस्थलमा डोजर चलेपछि विवाद

इकागज |
बैशाख १७, २०७८ शुक्रबार १४:५२ बजे

झापा : मेचीनगर नगरपालिका–६ काँकडभिट्टास्थित समाधिस्थल भत्काएको विषयमा विवाद भएको छ ।  किरात समुदायले प्रयोग गर्दै आएको सो सामूहिक समाधिस्थल डोजर लगाएर भत्काइएपछि विवाद उब्जिएको हो ।

लिम्बु, राईलगायत किरात समुदायले पचास वर्षदेखि प्रचलनमा ल्याएको सो समाधिस्थल बुधबार नगरपालिकाले डोजर प्रयोग गरेर भत्काएकोमा उनीहरुले विरोध जनाएका हुन् । नेपाल आदिवासी जनजाति महासङ्घ मेचीनगर समन्वय परिषद्का अध्यक्ष ओमप्रकाश खापुङले यो घटनालाई किरात सम्प्रदायको धार्मिक तथा सांस्कृतिक आस्थामाथिको प्रहार भएको बताउँदै बिनाशर्त पुनःस्थापनाको माग गरे ।


मेची पुलको दक्षिणपट्टी पाँच कठ्ठा जग्गामा रहेको सो समाधिस्थलमा २०० भन्दा बढी चिहान छन् । पितृका नाममा राखिएका शिलास्तम्भहरु भताभुङ्ग बनाइएकोमा स्थानीय किरात समुदाय भावविह्वल बनेको उहाँले बताउनुभयो । धार्मिक संस्कार र पितृसँगको भावनात्मक नाता गाँसिएको पवित्र समाधिस्थल भत्काइएपछि आक्रोशित बनेका महिला र वृद्धवृद्धासहित किरात समुदायको ठूलो सङ्ख्या बिहीबार विरोध पत्र बुझाउन नगरपालिका पुगेको थिए ।

नगरप्रमुख विमल आचार्यलाई विरोध पत्र बुझाउँदै किरात राई यायोक्खा झापाका सचिव केवलराम राईले वर्षौदेखि किरात समुदायले बनाएको समाधिस्थल तथा उनीहरुको आस्थाको केन्द्र नगरपालिकाले भत्काएकाले तत्काल त्यसको पुनःनिर्माण गर्नुपर्ने बताए । धार्मिक आस्थामाथि प्रहार तथा जातीय विभेद् हुँदा स्थानीय सरकारले न्याय नदिएमा त्यसकाविरुद्ध चरणबद्ध आन्दोलन र कानूनी उपचारमा जाने उनले बताएका छन् ।


Author

थप समाचार
x