कोशी

प्रदेश १ का मुख्यमन्त्री कार्कीद्वारा आउँदो शुक्रबार विश्वासको मत लिने

इकागज |
पुस २७, २०७९ बुधबार १३:१३ बजे

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आउँदो शुक्रबार विश्वासको मत लिने तयारी गरेका छन् । मुख्यमन्त्री नियुक्त भएको सातौं दिनमै कार्कीले विश्वासको मत लिन लागेका हुन् ।

उनले विश्वासको मत लिनका लागि प्रदेश सभामा जानकारी पत्र प्राप्त भएर मङ्गलबार नै सचिवालयमा दर्ता भइसकेको प्रदेश सभाका सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए । चार दलीय सत्ता समीकरणको समर्थनमा मुख्यमन्त्री बनेका कार्कीले सोमबारमात्रै सपथ ग्रहण गरेका थिए ।


नेकपा एमाले संसदीय दलका नेता समेत रहेका कार्की एमालेका ४०, माओवादी केन्द्रका १३, राप्रपाका ६ र जसपाका एक गरी ६० जना प्रदेश सभा सदस्यीयको समर्थनमा मुख्यमन्त्री बनेका हुन् । संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश नं. १ को प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश नं. १ को प्रदेश सभाको सदस्यका रुपमा कार्की मुख्यमन्त्री नियुक्त भएका थिए ।

उपधारा (२) बमोजिम नियुक्त भएका मुख्यमन्त्रीले धारा १६८ कै उपधारा (४) बमोजिम त्यसरी नियुक्त भएको तीस दिनभित्र प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्नु पर्ने व्यवस्था रहेको छ ।


Author

थप समाचार
x