कोशी

विराटनगर महानगरपालिकासहित चार स्थानीय तहमा आज रातिदेखि निषेधाज्ञा

इकागज |
बैशाख १७, २०७८ शुक्रबार १८:२८ बजे

विराटनगर : विराटनगर महानगरपालिकालगाएत केही गाउँपालिकाहरूमा जिल्ला प्रशासन कार्यालय मोरङले शनिबार राति १२ बजेदेखि लागू हुनेगरी एक साताका लागि निषेधाज्ञा घोषणा गरेको छ । कोभिड १९ को दोश्रो लहरबाट संक्रमणको जोखिम बढेकोले नियन्त्रण गर्नका लागि निषेधाज्ञाको आदेश जारी गरेको हो । 

विराटनगर महानगरपालिका, बुढिगंगा गाउँपालिका, जहदा गाउँपालिका, कटहरी गाउँपालिकाका वडा नं १,२, ३, र ४ तथा भारत र सुनसरी जिल्लासंग जोडिएको सीमा क्षेत्रहरूमा निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले बताए । 


निषेधाज्ञाको अवधिमा औषधि, खाद्यवस्तु, इन्धनलगायत अत्यावश्यक वस्तु तथा सेवाहरू खरिद गर्न बाहेक घरबाट बाहिर ननिस्कन भनिएको छ । खाद्यवस्तु, खाना पकाउने इन्धन, तरकारी, डेरी सम्बन्धी पसल र निर्माण सामग्रीका पसलहरू बिहान १० बजेसम्म मात्र सञ्चालन गर्न पाइने जनाएको छ । दैनिकरूपमा नित्य गरिने पूजा प्रार्थना बाहेक सबै धार्मिक सांस्कृतिक कार्य, मेला, चाडपर्व, हाटबजार, लगायत सामुहिक गतिविधि नगर्न पनि जिल्ला प्रशासन कार्यालय मोरङले आदेश दिएको छ ।

छिमेकी मुलुक भारतसग हुने आवागमन पूर्णरूपमा बन्द गर्ने, रातिको समयमा ८ बजेदेखि बिहान ५ बजेसम्म हिडडुल गर्न नपाइने, उपभोग्य वस्तुको कृतिम अभाव सिर्जना गरे कानून बमोजिम कारबाही हुने, होटल रेष्टुरेन्टहरू होम प्याक तथा होम डेलिभरी प्रयोजनका लागि मात्र खुला रहने प्रशासनले जनाएको छ । यस्तै, आज राती १२ बजेबाट छिमेकी जिल्ला सुनसरीमा निषेधाज्ञा लागु हुँदैछ ।


 


Author

थप समाचार
x