कोशी

प्रदेश १ का मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै

इकागज |
पुस २९, २०७९ शुक्रबार ९:३७ बजे

विराटनगर - प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्रीको सपथ ग्रहण गरेको छैटौं दिनमै मुख्यमन्त्री कार्कीले आज दिउँसो १ बजे बोलाइएको प्रदेश सभा बैठकमा विश्वासको मत लिन लागेका हुन् ।

संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश नं. १ को प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश नं. १ को प्रदेश सभाको सदस्यका रुपमा कार्की मुख्यमन्त्री नियुक्त भएका थिए ।


उपधारा (२) बमोजिम नियुक्त भएका मुख्यमन्त्रीले १६८ को उपधारा (४) बमोजिम ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने व्यवस्था अनुसार प्रदेशसभा नियमावली २०७४ को नियम १२८ को उपनियम (४) बोजिम प्रदेशसभा बैठकमा विश्वासको मतका लागि प्रस्ताव पेश गर्ने तथा निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची प्रदेश सभा सचिवालयले तय गरेको छ ।

मुख्यमन्त्री कार्कीले विश्वासको मत लिनका लागि मंगलबार प्रदेश सभा सचिवालयमा पत्र दर्ता गराएका थिए । प्रदेश १ मा हाल नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपा र जसपाको सत्ता साझेदारी रहेको छ ।

मुख्यमन्त्री कार्की एमालेका ४०, माओवादी केन्द्रका १३, राप्रपाका ६ र जनता समाजवादी पार्टीका एकजना गरी ६० प्रदेश सांसदको समर्थनमा मुख्यमन्त्री बनेका थिए ।


Author

थप समाचार
x