कोशी

जिउँदो शिशुलाई मृत घोषणा गर्ने चिकित्सकमाथि छानबिन सुरु

इकागज |
माघ ५, २०७९ बिहीबार २०:५७ बजे

विराटनगर- विराटनगरस्थित कोसी अस्पतालमा उपचारका लागि भर्ना गरिएका १८ दिने शिशुलाई जिउँदै मृत घोषणा गर्ने चिकित्सक आकाश यादवसहित तीन जनामाथि छानबिन सुरु भएको छ ।

अस्पतालको आकस्मिक कक्षमा कार्यरत रहेका डा.यादवसहित दुई अहेवमाथि छानबिन सुरु भएकाले काममा रोक लगाइएको अस्पताल प्रशासनले जनाएको छ ।


अस्पतालका वरिष्ठ बालरोग विषेशज्ञ डा.प्रविण झाको संयोजकत्वमा बनेको छानबिन समितिमा डा. सुर्यकान्त चौधरी र प्रशासनका अधिकृत रामप्रसाद नेपाल सदस्य रहेको जनाइएको छ । समितिलाई सात दिनभित्र प्रतिवेदन पेश गर्नका लागि समय दिइएको हो ।

बुधबार आकस्मिक कक्षमा कार्यरत रहेका डा.यादव, अहेव लक्ष्मी माझी र टिका भण्डारीलाई स्पष्टीकरण समेत सोधिएको अस्पताल प्रशासन स्रोतले बताएको छ । 
श्वासप्रश्वासमा समस्या भएको भन्दै बुधबार बिहान साढे ८ बजे अस्पतालमा उपचारका लागि ल्याएकी मोरङको जहदा गाउँपालिका–३ की १८ दिने शिशुलाई डा.यादवले मृत घोषित गरिदिएका थिए । 

मृत घोषणा गरिएकी शिशुले हात खुट्टा चलाएपछि चिकित्सकसँग आक्रोशित बनेका आफन्तहरूले डा.यादवमाथि हातपात समेत गरेका थिए । हातपातमा संलग्न रहेको आरोपमा पक्राउ परेका मनोज मुखिया र मन्नु मुखिया भने बिहीबार छुटेका छन् ।

घटनाका कारण बुधबार दिनभर कोसी अस्पताल तनावग्रस्त बनेको थियो । चिकित्सकको लापरबाहीपूर्ण व्यवहारका कारण अस्पताल नै बदनाम भएको भन्दै विशेष चिकित्सकहरूले समेत छानबिनका लागि दबाब दिएका थिए ।

उता अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.लक्ष्मीनारायण यादव भने घटनाको अध्ययन अनुसन्धानमा असहयोग पुग्ने गरी बुधबार बेलुका नै काठमाडौं गएको जनाइएकाे छ । उनले उक्त घटना ढाकछोप गर्न खोजेको अस्पतालभित्रकै चिकित्सकहरूले बताएका छन् ।


Author

थप समाचार
x