कोशी

नगर प्रहरीलाई विद्युतीय साइकल

इकागज |
फागुन ११, २०७९ बिहीबार १६:५४ बजे

विराटनगर- विराटनगर महानगरपालिकाले नगर प्रहरीमार्फत हुने सार्वजनिक कामलाई थप प्रभावकारी बनाउन भन्दै १० वटा विद्युतीय साइकल उपलब्ध गराएको छ ।

महानगरलाई सफा सुन्दर, व्यवस्थित र विकसित बनाउने अभियानमा सघाउ पुर्‍याउन भन्दै नगर प्रहरीलाई साइकल वितरण गरिएको जनाइएको छ । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला र उपमेयर शिल्पा निराला कार्कीले महानगर प्रहरी प्रमुख राजन पौडेललाई विद्युतीय साइकलको साँचो हस्तान्तरण गरेका हुन् । मेयर कोइरालाले महानगर प्रहरीलाई थप स्रोतसाधनयुक्त बनाउने योजनाअनुसार इलेक्ट्रिक साइकल वितरण गरिएको बताए ।


विभिन्न वडाका अध्यक्षसमेतको उपस्थितिमा नगर प्रहरीलाई विद्युतीय साइकल वितरण गरिएको हो । वितरण गरिएको विद्युतीय साइकल एकपटक फुल चार्ज गर्दा ४० किलोमिटर कुद्ने बताइएको छ ।

विराटनगर महानगरपालिकामा हाल ४३ जना नगर प्रहरी कार्यरत छन् । उनीहरू आवश्यकता अनुसार दैनिक ड्युटीमा खटिँदै आएको नगर प्रहरी प्रमुख राजन पौडेलले बताए ।

'महानगरबाट हामीलाई १० थान विद्युतीय साइकल प्राप्त भएको छ, एक पटक चार्ज गर्दा ४० किलोमिटरसम्म कुद्ने भनिएको छ तर हामीले पूरै कुदाएका छैनौं, दिनभरी चलाएर बेलुका चार्ज गर्ने गरेका छौं,’ उनले भने, ‘अहिले नगर प्रहरीमा ४३ जना रहेका छौं, आवश्यकता अनुसार परिचालन हुँदै आएका छौं, एकै खालको ड्युटी पर्दैन ।’

हाल नगर प्रहरीले महानगरपालिका भित्रको ट्राफिक व्यवस्थापन र फुटपाथ संरक्षणमा सक्रिय भएर लागेको पौडेलले जानकारी दिए । त्यसैगरी महानगरपालिकाको राजश्व शाखाले सुरु गरेको राजश्व संकलन अभियानदेखि घरनक्सा र वातावरण शाखाबाट हुने काममा समेत सघाउने गरेको उनले बताए । त्यस बाहेक फिल्ड स्तरका हुने महानगरपालिकाका अधिकांश गतिविधिमा नगर प्रहरीले सुरक्षा लगायतका जिम्मेवारी पूरा गर्दै आएको नगर प्रहरी प्रमुख पौडेलले जिकिर गरे ।


Author

थप समाचार
x