प्रदेश १ को नाम कोशी प्रदेश, दुई तिहाई बहुमतले पारित
विराटनगर- प्रदेश १ नाम कोशी प्रदेश दुई तिहाई बहुमतले पारित भएको छ । प्रदेश १ को नाम कोशी प्रदेश कायम गरियोस् भनि प्रस्तावक रामबहादुर रानाले राखेको प्रस्तावको पक्षमा ८२ र विपक्षमा ४ मत परेको हो । ६ जना अनुपस्थित भएका हुन् ।
९३ सदस्यीय प्रदेश १ को प्रदेश सभामा मत विभाजनका क्रममा सभामुखसहित ८७ जना सभा सदस्यको उपस्थिति रहेको थियो । दुई तिहाईका लागि ६२ मत आवश्यक रहेकोमा प्रस्तावको पक्षमा सत्तासिन दलहरू नेकपा एमाले, माओवादी केन्द्र र राप्रपा तथा विपक्षमा नेकपा एसका चार सदस्यले मतदान गरेका हुन् ।
प्रदेश नामकरणको प्रस्ताव पेश हुनुअघि नेकपा एकीकृत समाजवादी दलका नेता राजेन्द्रकुमार राईले राखेको कोशी प्रदेश माथिको संशोधन प्रस्ताव 'किराँत-लिम्वुवान-कोशी' प्रदेशको प्रस्ताव बहुमतले अस्वीकृत भएको थियो ।
को को भए अनुपस्थित ?
प्रदेश १ को प्रदेश सभामा कायम रहेको ९३ सदस्यीय सभामा ८८ जना सदस्यले प्रदेश नामकरणको प्रक्रियामा सहभागी भएका थिए ।
बैठकमा नेकपा एमालेका ४० जना नै उपस्थित रहेका थिए । प्रस्तावको पक्षमा रहेको नेकपा माओवादीका राजन किराँती अनुपस्थित रहे । त्यसैगरी नेपाली काङ्ग्रेसका भिम पराजुली, खगेश्वरी पौडेल र खगेन हाङ्गाम र राप्रपाकी सबिना बजगाई अनुपस्थित रहेका हुन् ।
जनाउ घण्टी रोकिएपछि सभा प्रवेश गर्न खोजेकी जसपाकी मन्त्री मिर्मला लिम्बू भने सभा हलमै प्रवेश गर्न पाइनन् । ढिला प्रवेश गर्न खोजेकी उनलाई मुलगेटमा मर्यादा पालकहरूले रोकेका थिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया