खोज्दैछ वीरगञ्ज महानगरपालिका
कहाँ हरायो माइराम पोखरी ?
वीरगञ्ज - वीरगञ्ज महानगरपालिकाले सार्वजनिक जग्गा मिचेर बनाइएका भौतिक संरचनामाथि डोजर चलाएको छ । वीरगञ्जको यो काम पहिलोपटक होइन, यसलाई निरन्तरता मात्र दिएको हो। १५ कात्तिकमा पहिलोपटक वीरगञ्ज महानगरले माइराम पोखरीको जग्गा मिचेर बनाइएका संरचनाका मालिकहरूलाई खाली गर्न सुझाव दियो। साथै, संरचनाको निस्सा पेश गर्न सम्बन्धित व्यक्तिलाई पत्र काट्यो।
२०२२ सालको नापीमा पोखरी चार बिघा १८ कठ्ठा क्षेत्रफलमा फैलिएको देखिएको छ। उक्त क्षेत्रको जग्गा अतिक्रमण गरेर अवैध संरचना बनाउन थालेपछि ‘माइराम पोखरी’ १८ कट्ठामा मात्रै सीमित बनेको छ। पोखरीबाट बचेको जग्गामा अहिले ‘चिल्ड्रेन पार्क’ बनाइएको छ।
कुनै बेला चार बिघाभन्दा ठूलो माइराम पोखरीमा पानी थियो। जलकुम्भी फुल्थे। तर अचानक बीच सहरबाट त्यत्रो ठूलो पोखरी गायब भयो । कहाँ गयो माइराम पोखरी ? त्यही खोज्दैछ वीरगञ्ज महानगरपालिका ।
वीरगञ्ज महानगर त्यहीँ बिन्दुमा रोकिएन, नगर प्रहरी र नक्सा शाखाका कर्मचारीसहितको टोलीले घरमै पुगेर निस्सा पेश गर्न जानकारी दियो। तर, अवैध संरचनामाथि रजगज गर्दै आएकाहरूले महानगरको पत्र, सुझावलाई वेवास्ता गरेपछि पुनः संरचनामाथि डोजर चलाएको हो।
वीरगञ्ज महानगरपालिका सरसफाइ व्यवस्थापन महाशाखाका प्रमुख राजकृष्ण ताम्राकारले भने, ‘पोखरीको जमिन अतिक्रमण गरेर संरचना बनेका थिए। हामीले निस्सा पेश गर्न आग्रह गर्यौँ। एकदमै कमले मात्रै निस्सा बुझाए। निस्सा नबुझाएकाहरूको संरचना भत्काएका हौँ। अब यसलाई निरन्तरता दिन्छौँ।’
उनका अनुसार, चिल्ड्रेन पार्कको पूर्वतर्फ अवैध रुपमा बनाइएका ७ संरचना भत्काइएको छ। एडभान्स अस्पताल, शान्ति पोलिक्लिनिकसहित अन्य अवैध संरचनामाथि डोजर लागेको हो। पोखरीको जमिन अतिक्रमण गरेर विभिन्न संरचना भत्काइने वीरगञ्ज महानगरपालिकाले जनाएको छ। श्रोत: आइएनएस-स्वतन्त्र समाचार
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया