कोशी

भाँचिएको आठ वटा नटबल्टु फेरिएपछि अरुण नदीको पुल संचालन

इकागज |
फागुन २३, २०७९ मंगलबार १७:३५ बजे

विराटनगर- भाँचिएको नटबल्टु फेरिएपछि अरुण नदीमाथिको पुल संचालनमा आएको छ ।

पुलको मध्य भागमा स्टिल ग्रिन्डर र भर्टिकल पोष्ट जोड्ने बेसप्लेटको आठ वटा नटबल्टु भाँचिएको पत्ता लागेपछि तीन दिनसम्म दोहोरो आवागमन रोकिनुका साथै १० टन माथिका सवारी साधन नै रोकिएका थिए । पुलबाट आवागमन रोकिँदा भोजपुर प्रवेश गर्ने र बाहिरिने सवारी साधनहरू रोकिनु परेको थियो ।


भाँचिएका नटबल्टु फेरिएपछि मंगलबारदेखि सम्पूर्ण यातायातका साधन संचालनमा आएको सडक डिभिजन कार्यालय तुम्लिङटारका प्रमुख राजेन्द्र साहले बताए ।

चितवनबाट आएको इन्जिनियरसहितको प्राविधिक टोलीले भाँच्चिएको नटबल्टु फेरेको हो । टोलीले पुलको अन्य भागमा समेत सुक्ष्म रूपमा निरीक्षण गरिरहेको साहले जानकारी दिए ।

पहाडी भेगमा अत्यधिक लोड बोक्नुपर्ने सवारी साधनलाई पुलको क्षमता अनुसार मात्रै चलाउनका लागि ट्राफिक प्रहरीसँग समन्वय गरिने भोजपुरका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले बताए । साथै नटबल्टु भाँचिनुका कारण समेत छानबिन गर्नका लागि प्राविधिकहरूसँग परामर्श गरिएको प्रजिअ घिमिरेले जानकारी दिए ।

सिंगल स्पान स्टिल ट्रस प्रविधिको एक सय २० मिटर लामो अरुण नदी पुलले धनकुटा र भोजपुरलाई जोडेको छ । यो पुल तरेर मात्रै पहाडी जिल्ला भोजपुर प्रवेश हुने गर्दछ ।


Author

थप समाचार
x