कोशी

१० खेलाडी कोशी प्रदेश सरकारबाट सम्मानित, ललित र दिपेशलाई जनही १ लाख ११ हजार १११

इकागज |
चैत २२, २०७९ बुधबार २१:४६ बजे

विराटनगर - कोशी प्रदेश सरकारले राष्ट्रिय क्रिकेट खेलाडी ललित राजवंशी र अन्डर–१९ का दिपेश कँडेललाई जनही १ लाख ११ हजार १११ रुपैयाँसहित सम्मान गरेको छ । त्यसैगरी अल्ट्रा धाविका खोटाङकी प्रिया राईलाई पनि नगद एक लाखसहित सम्मानपत्र प्रदान गरेको हो ।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राजवंशी, कँडेल र राईसहित कोशी प्रदेशका १० खेलाडीलाई बुधबार सम्मान गरेका हुन् ।


थाइल्याण्डमा सम्पन्न १८औं मुआथाइ च्याम्पियनशिपमा रजत पदक विजेता भोजपुरका सञ्जय राईलाई ३० हजार र कास्य पदक विजेता खोटाङकी डेनिका राईलाई २५ हजार रुपैयाँ प्रदान गरिएको छ ।

गत फागुन ११ देखि १३ गतेसम्म चितवनमा सम्पन्न भएको जुनियर एथलेटिक्स राष्ट्रिय खेलकुद प्रतियोगितामा ३ हजार मिटर दौडमा दोस्रो र १५ सय मिटरमा तेस्रो हुन सफल संखुवासभाका निमा जिसी, ८ सय मिटर दौडमा तेस्रो भएका मोरङका अंशु मण्डल, लङजम्पमा तेस्रो हुने मोरङकै रञ्जु चौधरी र हाइजम्पमा तेस्रो हुने पुजा चौधरीलाई पनि नगदसहित सम्मानित भएका छन् ।

निमालाई १५ हजार तथा अंशु, रञ्जु र पुजालाई जनही ५ हजार रुपैयाँ र सम्मानपत्र प्रदान गरिएको हो । खेलाडीहरुले कोशी प्रदेशको गौरव कायम गर्न सफल भएको भन्दै कोशी प्रदेश खेलकुद बोर्डको निर्णय अनुसार उनीहरुलाई नगदसहित सम्मान गरिएको जनाइएको छ ।

मुख्यमन्त्री कार्कीले प्रदेश सरकारले राजनीतिक दाउपेचबाट माथि उठेर खेल क्षेत्रलाई अघि बढाएको बताए । उनले खेलकुदमा सरकारले राजनीति नघुसाउने वचन दिंदै बोर्डका पदाधिकारीहरुलाई पनि राजनीतिबाट माथि उठेर काम गरेर देखाउन आग्रह गरेका हुन् ।

‘गर्नुपर्ने राजनीतिक गर्ने जिम्मा हाम्रो हो, तपाँई खेलकुद क्षेत्रका पदाधिकारीहरुले कम्तिमा खेलमा राजनीति घुसाउनु हुनेछैन, त्यो काम तपाँईहरुको होइन, पार्टीका झगडा पनि बोर्डमा नभित्र्याउनु होला’ मुख्यमन्त्री कार्कीले भने, ‘बोर्डलाई अघि बढाउन चाहिने आवश्यक कर्मचारीहरुको व्यवस्थापन गर्न हामी सहयोग गर्छौं, खेलकुद क्षेत्रलाई प्रदेशकै बलियो क्षेत्रका रुपमा विकास गर्न लाग्नुहोस् ।’

उनले आगामी तीन बर्षमा विराटनगर–१९ को क्रिकेट रंगशालालाई अन्तर्राष्ट्रियस्तरको रंगशाला बनाउन प्रदेश सरकारले बजेट व्यवस्थापनका लागि पहल गर्ने प्रतिवद्धता जनाए । उनले खेलाडीहरुलाई उपचारका लागि सहयोग कोष स्थापना गर्न प्रदेश सरकार सकारात्मक रहेको बताए । 

‘अब खेलबाटै जीवनमा परिवर्तन आउँछ भन्ने कुरामा खेलाडीहरुले पनि विश्वास गर्नुपर्छ’ मुख्यमन्त्री कार्कीले भने, ‘खेलाडीहरुले देशका लागि इमान्दारिता र लगनशिलताका साथ खेल्नुपर्छ, आवश्यक सहयोग गर्न प्रदेश सरकार तयार छ ।’

प्रदेश खेलकुद बोर्डका अध्यक्ष एवं सामाजिक विकासमन्त्री बुद्धिकुमार राजभण्डारीले प्रदेशको नामलाई उचो बनाउन सफल भएका खेलाडीहरुलाई प्रोत्साहनका लागि प्रदेश सरकारले नगदसहित सम्मान गरेको जानकारी दिए । 

खेलाडी सम्मानका अवसरमा प्रदेश खेलकुद बोर्डकी उपाध्यक्ष जीना कार्की र सदस्य सचिव हंशराज वाग्ले लगायतले कोशी प्रदेशको खेलकुद क्षेत्रलाई अघि बढाउन वर्तमान सरकारले उल्लेखनीय सहयोग गरिरहेको बताए ।

मुआथाइ च्याम्पियनशिपमा रजत पदक विजेता सञ्जयले खेलाडीहरुलाई दिइएको सम्मानले आगामी खेल जीवनका लागि प्रोत्साहन मिलेको बताए ।


Author

थप समाचार
x