कोशी

नक्कली परीक्षार्थी पक्राउ परेका मोरङका सात विद्यालयमा शुक्रबार थप १७९ जना अनुपस्थित

बाबुराम भण्डारी |
चैत २४, २०७९ शुक्रबार १६:४२ बजे

तस्बिर : नक्कली परीक्षार्थीहरूले परीक्षा केन्द्रमा जान प्रयोग गरेका रिजर्भ बसहरू ।

विराटनगर- बिहीबार एसईई परीक्षामा सम्मिलित दुई सय नक्कली परीक्षार्थी पक्राउ परेका मोरङका तीन विद्यालयमा शुक्रबारको परीक्षामा थप ६७ सहित कूल १७९ विद्यार्थी अनुपस्थित भएका छन् ।

मोरङमा सात वटा विद्यालयमा खुल्ला शिक्षा कार्यक्रम संचालित छन् । बिहीबार तीन वटा विद्यालयको अनुगमनमा दुई सय नक्कली परीक्षार्थी पक्राउ परेपछि शुक्रबार बाँकी चार वटा विद्यालयमा समेत अनुगमन गरिएको हो ।


अनुगमनका क्रममा पक्राउ पर्ने डरले शुक्रबारको स्वास्थ्य तथा जनसंख्या विषयको परीक्षामा खुल्ला तर्फकै १७९ विद्यार्थी परीक्षामा अनुपस्थित भएका हुन् । बिहीबार १२७ जना नक्कली परीक्षार्थी पक्राउ परेको केराबारी गाउँपालिका–७ स्थित सार्वजनिक मावि परीक्षा केन्द्रमा शुक्रबार थप २५ जना परीक्षार्थी अनुपस्थित भएका छन् ।
५३ जना विद्यार्थी पक्राउ परेको मोरङको ग्रामथान गाउँपालिका–२ सरस्वती मावि झोराहाटमा थप ८ जना र २० जना परीक्षार्थी पक्राउ परेको सुन्दरहरैंचा नगरपालिकाको जनता मावि पचाममा थप ३४ जना अनुपस्थित भएको जनाइएको छ ।

बिहीबारको अनुगमनमा धनपालथानस्थित सर्वोदय मावि परीक्षा केन्द्रमा मात्रै ७४ जना परीक्षार्थी अनुपस्थित भएको शिक्षा विकास तथा समन्वय इकाइ मोरङका प्रमुख टंकप्रसाद गौतमले जानकारी दिए । त्यसैगरी धनपालथानकै सरस्वति मावि परीक्षा केन्द्रमा ३४ र बेलबारी नगरपालिकाको भगवति मावि परीक्षा केन्द्रमा ४ जना गरी कूल १७९ परीक्षार्थी अनुपस्थित भएका छन् । समन्वय इकाइ प्रमुख गौतमका अनुसार अनुपस्थित सबै परीक्षार्थी खुल्लातर्फका हुन् ।

उनले शनिबार र आइतबारका बाँकी विषयका परीक्षाहरूमा पनि उनीहरू अनुपस्थित भए अनुपस्थित हुने सबै परीक्षार्थीको परीक्षा रद्द गर्नेबारे छलफल भइसकेको जानकारी दिए ।

विज्ञान सामाजिक विषयको परीक्षा दिन केराबारी गाउँपालिका–७ स्थित सार्वजनिक मावि परीक्षा केन्द्रमा परीक्षार्थीहरूले सार्वजनिक बस रिजर्भ गरेर आउने गरेका थिए । उनीहरू मध्ये बिहीबार एकै दिन १२७ जना पक्राउ परे ।

उक्त परीक्षा केन्द्रमा २९८ विद्यार्थी परीक्षामा सहभागी थिए । सार्वजनिक मावि परीक्षा केन्द्रमा केराबारी–८ स्थित मच्छिन्द्र माविमा संचालित खुल्ला शिक्षा कार्यक्रम अन्तरगत रजिष्ट्रेसन फारम भरेका झापा, पाँचथर र तेह्रथुम लगायत जिल्लाका १८८ जना परीक्षार्थीहरू परीक्षामा सहभागी थिए ।

परीक्षामा सहभागी भएका फर्जी विद्यार्थीहरू मध्ये केहीले आफ्नो काकाकाकी, दाजु र छिमेकीको परीक्षा दिन आएको बताएका छन् । केहीले आफू त्रिभुवन विश्वविद्यालयमा अध्ययनरत विज्ञान विषयको विद्यार्थी भएको बताए । अर्काको परीक्षा दिने क्रममा पक्राउ परेका केहीले आफूले मास्टर्स पास गरिसकेकाे पनि बताए ।

नक्कली परीक्षार्थीहरू केहीले आर्थिक प्रलोभनमा परेको प्रारम्भिक बयान दिएको प्रहरी स्रोतले जनाएको छ । केही परीक्षार्थीहरू ट्यूसन सेन्टर र कोचिङ कक्षाका संचालकहरू पनि रहेको जनाइएको छ ।

१५ मिनेट पहिल्यै प्रश्नपत्र आउट

केराबारीको सार्वजनिक मावि परीक्षा केन्द्रमा बुधबार विज्ञान विषयको प्रश्नपत्र परीक्षा सुरु हुनु १५ मिनेट पहिल्यै बाहिरिएको खुलेको छ । स्रोतका अनुसार परीक्षा केन्द्रमा खटिएका शिक्षकहरूकै योजनामा मच्छिन्द्र माविका एक शिक्षकले विद्यार्थीबाट प्रश्न पत्र लिएर फोटोकपी गरेर वितरण गरेको जनाइएको छ । विद्यालय नजिकै फोटोकपी मेसिन राखेर प्रश्नपत्रको फोटोकपी भएको थियो । प्रश्नपत्र आउट भएको विषयमा समेत अनुसन्धान सुरु भइसकेको सुरक्षा स्रोतले जनाएको छ ।


Author

बाबुराम भण्डारी

भण्डारी इकागजका कोशी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x