कोशी

बैंकमात्रै नाफामा हुनु राम्रो होइनः मुख्यमन्त्री कार्की

इकागज |
चैत २९, २०७९ बुधबार १५:१३ बजे

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बैंकहरु मात्रै नाफामा हुनु मुलुकका अर्थतन्त्रका लागि राम्रो संकेत नभएको बताएका छन् । उनले बैंकसहित केही अन्तर्राष्ट्रियस्तरका उद्योगीहरु पनि नाफामै रहेको तर त्यसबाहेकका उद्योगी व्यवसायी, घरेलु तथा लघु उद्योगहरु भने घाटामा हुनुपर्ने अवस्था रहेको भन्दै चिन्ता व्यक्त गरेका हुन् ।

नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङको २४औं तथा महिला उद्यम समितिको २०औं बार्षिक साधारणसभालाई बुधबार सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले मुलुकको आर्थिक अवस्था झन् झन् कमजोर बन्दै गएको र रेमिटेन्सले मात्रै मुलुक चल्नुपर्ने अवस्था सबैका लागि दुःखद् रहेको बताए ।


‘आर्थिक अवस्था कमजोर बन्दै गएको छ, रेमिटेन्सको भरमा मुलुक चल्दैछ भन्नुपर्दा तपाँईहरुले दुःख मान्नु राम्रो संकेत होइन’ कार्कीले भने, ‘आयात बढेको तथ्यांकहरु देखिइरहेका छन्, अर्थतन्त्र समस्याको डिलमा पुगेको छ, यस्तो बेला मात्रै नाफामा छन्, केही अन्तर्राष्ट्रिय उद्योगीहरु मात्रै नाफामा देखिन्छन्, जुन कुरा हाम्रो लागि राम्रो होइन ।’

यस्तो अवस्थामा तीनै तहको सरकार मिलेर घरेलु र लघु उद्यमीलाई प्रोत्साहनका कार्यक्रममा प्राथमिकता दिनुपर्नेमा उनले जोड दिए । उनले संघीय सरकारले बनाउने नीतिमै साना तथा घरेलु, लघु, कुटिर उद्योग लगायतलाई सहुलियतपूर्ण सहयोग गर्ने कार्यक्रमहरु समेटिनुपर्ने बताए ।

मुख्यमन्त्री कार्कीले प्रदेशको आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम र बजेटमा साना उद्यमी र उनीहरुले उत्पादन गरेका सामग्रीको बजारको सुनिश्चितता गर्न बजारको खोजीका लागि अध्ययन अनुसन्धानमा सहयोग गर्ने आश्वासन दिए ।

महासंघका मोरङ अध्यक्ष चेतन निरौलाको अध्यक्षतामा आयोजित साधारणसभामा घरेलु तथा लघु उद्यमसम्बन्धि उत्कृष्ट व्यवसाय संचालन गर्ने चार जना लघु उद्यमिहरुलाई सम्मानित गरिएको थियो ।  पथरी शनिश्चरे–२ स्थित न्यू गोर्खाली पाउरोटी उद्योगका संचालक तुलसी ढकाल, एकसय जनालाई रोजगारी दिन सफल व्यवसायी चामुण्डा गार्मेन्टका संचालक नरेश खत्री, विराटनगरको बरगाछीमा ब्यूटीपार्लर संचालन गर्दै आएकी सायदा तबसुम, विराटनगर–१० स्थित पोखरेल कुटानी पिसानी मिलकी संचालक यमुना पोखरेल रहेका छन् । मुख्यमन्त्री कार्कीसहित कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारीमन्त्री भक्तिप्रसाद सिटौला लगायतले उनीहरुलाई सम्मानपत्र प्रदान गरेका हुन् ।


Author

थप समाचार
x