कोशी

कोशी प्रदेश सभाको चालु अधिवेशन अन्त्य

इकागज |
चैत २९, २०७९ बुधबार १८:३१ बजे

विराटनगर । कोशी प्रदेशको प्रदेश सभाको जारी चालु अधिवेशन अन्त्य भएको छ । प्रदेश सरकारको बुधबार बसेको मन्त्रिपरिषद् बैठकको सिफारिस अनुसार कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले बुधबार राति १२ बजेदेखि लागू हुने गरी चालु अधिवेशन अन्त्य भएको घोषणा गरेका हुन् ।

संविधानको धारा १८३ को उपधारा (२) बमोजिम कोशी प्रदेश सरकारको मन्त्रिपरिषद्को मिति २०७९/१२/२९ गतेको सिफारिसमा संवत् २०७९ साल चैत २९ गते बुधबार रातको १२ बजेदेखि प्रदेश सभाको चालु प्रथम अधिवेशन अन्त्य गर्नुभएको छ’ प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव माधव घिमिरेद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।


कोशी प्रदेशको दोस्रो प्रदेश सभाको पहिलो अधिवेशन २०७९ पुस १७ गते आइतबार आह्वान भएको थियो । २०७९ फागुन १७ गते बसेको पहिलो अधिवेशनको १३औं बैठकले तत्कालीन प्रदेश १ लाई कोशी प्रदेश नामाकरण गरेको थियो । नामाकरणपछि कोशी प्रदेशका सभामुख बाबुराम गौतमले प्रदेश सभाको बैठक अनिश्चितकालका लागि स्थगित गरेका थिए । बैठक स्थगित भएकै अवस्थामा सरकारले चालु अधिवेशन अन्त्य गरेको हो ।


Author

थप समाचार
x